एनपिएल २ सम्म आइपुग्दा नेपाली क्रिकेट कहाँ पुग्यो ?
समग्रमा हेर्दा नेपाली क्रिकेटको विकास भइरहेकै छ । तर, यसलाई ‘फर्म्याटवाइज’ हेर्नुपर्छ । टी–२० मा हामीले राम्रै गरिरहेका छौँ । यसअघि नै विश्वकप खेलिसक्यौँ र अब पनि खेल्दै छौँ । ‘गेम’हरू पनि भइरहेका छन् । एनपिएलको दोस्रो सिजनसम्म आइपुग्दा यसले एकातिर देशमा समग्र क्रिकेटको ‘क्रेज’ बढाएको छ भने अर्कातिर ‘रेभेन्यु जेनरेट’मा पनि सघाएको छ । यसलाई अत्यन्त सकारात्मक मान्न सकिन्छ । तर, वान डे र टेस्ट फर्म्याटलाई हेर्ने हो भने हामीले अझै धेरै गर्न बाँकी नै छ । समग्रमा हेर्दा हामी अहिलेसम्म ३०–४० प्रतिशतको अवस्थामा छौँ भन्दा हुन्छ ।
प्याराफिट र फ्लड लाइटपछि क्रिकेट पूर्वाधारमा केही सुधार भएको हो ?
त्रिवि मैदानलाई हेर्दा यसमा धेरै सुधार भएको छ । प्याराफिट निर्माण र फ्लड लाइट जडानपछि धेरै राम्रो भएको छ । तर, एउटा मैदानमा मात्र सुधार भएर केही हुँदैन । समग्र क्रिकेट विकासका लागि अन्यत्र पनि सानाठुला स्टेडियम आवश्यक हुन्छन् । यसतर्फचाहिँ गर्न धेरै नै बाँकी छ । खेलाडीहरूले अभ्यास गर्ने मैदानको समेत अभाव छ । त्यसैले, त्रिवि मैदानलाई हेरेर हाम्रो क्रिकेट पूर्वाधारमा धेरै सुधार भयो भनेर बस्न सकिने अवस्था छैन ।
नेपाली क्रिकेटका आगामी दिन कस्ता होलान् ?
टी–२० फर्म्याटमा हामी ठिकै छौँ । आगामी दिनमा पनि राम्रै गरौँला । यसको क्रेज पनि बढी नै छ । गेमहरू पनि भइरहेकै छन् । दर्शकका लागि पनि यो रमाइलो फर्म्याट बनेको छ । वान डे फर्म्याटमा हामी अझै स्ट्रगल गर्दै छौँ । यो फर्म्याटमा हामीले धेरै नै गर्न बाँकी छ । टेस्ट त हामीबाट अझै धेरै टाढा छ । एउटा मात्र ‘डायमेन्सन’बाट हेरेर हुँदैन, समग्र क्रिकेटको ‘सस्टेनेबल’ विकासतर्फ ध्यान दिनुपर्छ ।