दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार कुनै खेल हुनेछैनन् । लगातार दुई खेल खेलेका टिमलाई नेपाल क्रिकेट संघ (क्यान)ले विश्राम दिएको छ । एक दिनको खेलपछि सोमबार भने दुई खेल हुनेछन् । तर, खेल आउन एक दिन बाँकी रहँदै टिकट भने सोल्डआउट भएका छन् । टिकट बिक्रीको जिम्मेवारी पाएको खल्तीले सोमबार हुने खेलका टिकट सोल्डआउट भएको जानकारी गराएको छ । पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सबिच प्रतिस्पर्धा हुनेछ ।
यो खेल बिहान पौने १२ बजे हुनेछ । दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिच खेल हुनेछ । यो खेल अपराह्न चार बजे हुनेछ । क्यानले साधारणतर्फ करिब ९ हजार टिकट बिक्री गर्दै आएको छ । क्यानले साधारण तथा भिआइपीतर्फ कुल १३ हजार दर्शक क्षमता रहेको बताउँदै आएको छ । यद्यपि, अहिलेसम्म कति दर्शकले खेल हेरे त्यो बताइएको छैन ।
प्रतियोगितामा हाल सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स अपराजित छन् । सुदूरपश्चिमले पोखरालाई १८ रन तथा काठमाडौंलाई २९ रनले पराजित गरेको थियो । विराटनगरले भने पहिलो खेलमा काठमाडौंलाई ५ विकेट तथा पोखरालाई ५३ रनले हराएको हो । सुदूरपश्चिम समान चार अंक भए पनि काठमाडौंभन्दा नेट रनरेटले शीर्ष स्थानमा छ ।
समान दुई अंक रहेको काठमाडौं तेस्रो, लुम्बिनी चौथो, चितवन पाँचौँ तथा कर्णाली याक्स छैटौँ स्थानमा छन् । एक खेल खेलेको जनकपुर र दुई खेलमा दुवै खेल हारेको पोखरा पुछारमा छन् । पोखरा सुदूरपश्चिम र विराटनगरसँग पराजित भएको हो । यसअघि पनि प्रतियोगिताको उद्घाटन दिनकै खेल सोल्डआउट भएका थिए । त्यस्तै, शनिबारको दुवै खेलको टिकट सोल्डआउट भए । नेपाल सरकारले प्यारापिट निर्माण तथा फ्लडलाइट जडान गरेपछि त्रिवि मैदानमा पहिलोपटक खेल भएको हो ।