गण्डकी प्रदेशको स्वास्थ्य सेवा, स्वास्थ्य संस्थाको भौतिक संरचना, उपकरणलगायतको विषयमा जानकारी लिएर नेपालस्थित अमेरिकी राजदूत डिन थम्पसन काठमाडाैं फर्किएका छन् ।
प्रदेशको स्वास्थ्य मन्त्रालय, मन्त्रालयका कर्मचारीहरू, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, धौलागिरि प्रादेशिक अस्पताललगायत अन्य अस्पताल र प्रदान गरेका सेवाहरू, फ्रन्टलाइन स्वास्थ्यकर्मीहरू, अस्पतालमा उपचारका लागि आएका बिरामीहरूसँग भेट गरी स्वास्थ्य क्षेत्रमा आत्मनिर्भरताका लागि भइरहेको प्रगति र प्राथमिकताबारेमा छलफल गरेर राजदूत काठमाडाैं फर्किएका हुन् ।
तीन दिन गण्डकीको विभिन्न जिल्लामा बिताएका राजदूत थम्पसनले प्रदेशका विभिन्न स्थानका विद्यालयमा अंग्रेजी सिकाउने, कृषि उत्पादन बढाउन सहयोग गर्ने, पोसिलो खानेकुरा उपभोगका लागि प्रोत्साहन गर्नेलगायत काममा खटिएका पिस कोर स्वयंसेवकहरूसँग समेत भेट गरी उनीहरूले गरिरहेको काम र अब गर्नुपर्ने कामका बारेमा जानकारी लिएका थिए ।
भ्रमणका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नवजात शिशु र बालबालिकाको हेरचाहको लागि दूतावासले गरेको सहयोग र साझेदारीको बारेमा राजदूत थम्पसनले जानकारी लिएको अस्पतालका बालरोग विभाग प्रमुख प्राडा रामचन्द्र बास्तोलाले जानकारी दिएका थिए ।
दुई देशको सहकार्यले स्वास्थ्य सेवा, जीवन सुरक्षा, शिक्षा, कृषि र पोषण क्षेत्रमा भै रहेका कामसँगै अब आफूहरूको तर्फबाट के कस्तो सहयोग गर्दा स्वास्थ्य सुरक्षालाई अझ मजबुत, समुदायको दिगोपनसँगै आत्मनिर्भरता कसरी बनाउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको बास्तोलाले बताए ।
राजदूत थम्पसनले नवजात शिशु र बालबालिकाको उपचारमा अस्पतालहरूलाई थप सुदृढ बनाउन, स्वास्थ्य सेवामा नवीनता र पहुँच बढाउन, दीर्घकालीन आत्मनिर्भरताका लागि स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन नेपालका स्वास्थ्य क्षेत्रलाई समर्थन गर्न अमेरिका सधैँ प्रतिबद्ध रहेको छलफलका क्रममा बताएका थिए ।
धौलागिरि प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीका अनुसार भ्रमणका क्रममा राजदुतले अस्पतालका विभिन्न विभाग र सेवाको वारेमा जानकारी लिँदै अस्पतालमा सञ्चालित मातृ तथा नवजात स्वास्थ्य सेवाको गुणस्तर, भैरहेको सुधारसँगै राजदूतावासले थप के गर्न सक्छ र के सहयोग आवश्यक छ भन्ने विषयमा छलफलसँगै जानकारी लिएका थिए ।