नेपाल प्राकृतिक विविधताले सम्पन्न देश हो । हिमाल, पहाड र तराईका आफ्नै खालका प्राकृति सम्पदा छन् । प्राकृतिक सम्पदासँगै सांस्कृतिक सम्पदा अनगिन्ती छन् । मानव संस्कृतिमा मूर्त–अमूर्त सम्पदाहरू एक–अर्कामा पूरक छन् । काठमाडौं उपत्यका मूर्त–अमूर्त सम्पदाले भरिपूर्ण छ । संस्कृति र सम्पदाले बेग्लै खालको महत्व बोकेका छन् । ‘कल्चर’ सधैँ ‘डाइनामिक’ हुन्छ । यो हाम्रो मौलिकता हो, पहिचान हो । त्यसभित्र लुकेका मूर्त र अर्मूत सम्पदा धेरै छन् । कल्चर मान्छेले बनाएको हो । विदेशी नेपालको संस्कृति हेर्न आउँछन् ।
सांस्कृतिक सम्पदा आफैँमा गम्भीर र संवेदनशील विषय हो । कुनै पनि संस्कृति सम्पदा समुदायसँग सम्बन्धित हुन्छ । यो समुदाय निश्चित भूगोल, भाषा, जाति, धर्म, संस्कृति वा अन्य कुनै निश्चित आधारमा निर्माण भएको हुन्छ । त्यसकारण संस्कृति, सम्पदालाई समुदायभन्दा अलग्गै राख्न सकिँदैन । संस्कृति, सांस्कृतिक सम्पदा र समुदायलाई बेग्लाबेग्लै रूपमा बुझ्न मिल्दैन । हाम्रो भाषामा पनि विविधता छ । भाषा हाम्रो सभ्यताको चिनो पनि हो । भाषा दुई–चार वर्षमा बन्ने कुरा होइन । यो बन्नलाई सयौँ वर्ष लाग्छ । भाषासँगै हाम्रा संस्कृति निर्माण हुँदै आए । यसरी नै हाम्रो जीवनशैली बनेको छ ।
काठमाडौं उपत्यकाका सम्पदा केबल सम्पदा मात्र नभई सभ्यताको चिनारी र परिचयको आधार पनि हो । हामीकहाँ लिच्छविकालदेखि नै प्रामाणिक रूपमा सांस्कृतिक सभ्यताको रहेको पाइन्छ । भाषा तथा लिपिको प्रयोग, धार्मिक र सांस्कृतिक पक्षहरूको जानकारी दिने धातु र काष्ठकलाका उत्कृष्ट प्रमाणका कारण लिच्छविकाललाई स्वर्ण युगको उपमाको रूपमा चिनिन्छ । नेपालमा प्राचीन मानव सभ्यता र संस्कृतिको परिचय दिने हाम्रा अनेकौँ कला, कौशल, वास्तुकला र सम्पदा छन् ।
उपत्यकाका रैथाने जात्रा
तुलानात्मक रूपमा काठमाडौं, भक्तपुर र ललितपुर उपत्यकामा संस्कृतिक विविधता छ । उपत्यकाभित्र मौलिक परम्परागत, संस्कृति–संस्कार र जीवनशैली धेरै छन् । हरेक महिना जात्रा चाडपर्व मनाउने चलन छ । यहाँ सिजनअनुसारका चाडपर्व माइन्छ । शुक्ल पूर्णिमाको भोलिपल्ट नेवार समुदायले स्थानीय बोलीचालीमा ‘साया:’ भनिने गाईजात्रा पर्व मनाउने चलन छ । यो पर्वसँग कान्तिपुरका राजा प्रताप मल्ललाई जोडिन्छ । राजकुमारको मृत्यु भएपछि रानीले विलाप गरेपछि अरूका पनि छोराछोरी मरेका छन् भनेर बुझाउन मृतकको नाममा गाईको भेष धारण गरी दरबार परिक्रमा गर्नुपर्ने उर्दी जारी भएको र त्यसपछि गाईजात्राको चलन बसेको किंवदन्ती उल्लेख छ । यो एउटा प्रतिनिधि जात्रा मात्रै भयो । यस्ता थुप्रै जात्रा पर्व छन् ।
उपत्यकाको भित्री सहरको नेवार बस्तीको बाटोमा राक्षसको जस्तो आकृति बनाइने चलन छ । जुन तान्त्रिक विधिबाट पूजापाठ गरेर खोलामा फ्याँकिन्छ । यसलाई पनि जात्राका रूपमा लिन सकिन्छ । बाहिरबाट हेर्दा रमाइलोजस्तो लाग्न सक्ला छ । यो जात्रा रोगब्याधी हटाउन मनाउने चलन छ । हाम्रो यस्ता खालको अर्मूत सांस्कृतिक सम्पदा पनि छन् । यस्ता खालका सम्पदा लुकेर बसेका छन् । यसका लागि निश्चित ठाउँ निर्माण गरिएको हुन्छ ।
उपत्यकामा हरेक घरको आँगनमा मण्डला बनाउने चलन छ । त्यसलाई धातु वा ढुङ्गाबाट बनाइएको हुन्छ । नेवार समुदायमा बिहान मन्दिर पूजा गरेर फर्किंदा मण्डलालाई पनि पूजा गरेर भित्र छिर्ने चलन छ । यसले त्यो दिनचाहिँ राम्रो होस् भन्ने जनविश्वास छ । यो पनि एउटा अर्मूत सम्पदा हो ।
उपत्यकामा चाडपर्वअनुसार खाने कुराको परिकार खाइने चलन छ । काठमाडौं उपत्यकमा लोकप्रिय खाना हो, योमरी । योमरी जाडो मौसममा खाइने खाना हो । यसले शरीरको तापक्रम बढाउँछ भन्ने मान्यता छ । त्यसैले जाडो मौसममा यो खाना खाने चलन छ । यहाँ मौसमअनुसार फल्ने अन्नबाट बनाइने खानाका परिकार धेरै छन् । साउने संक्रान्तिमा पश्चिमतिर लुतो फाल्ने चलन छ । त्यहाँ लुतो फाल्ने आफ्नै परम्परा होला । तर, उपत्यकामा जनैपूर्णिमा क्वाँटी खाने चलन छ । क्वाँटीले इम्युनिटी बढाउँछ । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ । यो अमूर्त सम्पदा नै हो ।
टोखाको चाकु बनाउने तरिका, खोकनाको तेल पेल्ने प्रविधि, भक्तपुरका माटाका भाँडा, पाटनको मूर्ति कुँदाइ हाम्रा सांस्कृतिक सम्पदा हुन् । टोलटोलका गुठी र भजनमण्डली, मठमन्दिर र स्थानीय जीवनशैलीको अझ सशक्त प्रवद्र्धन गर्न सकिन्छ । अमूर्त सम्पदासँगै मूर्त सम्पदा पनि गाँसिएको हुन्छ । फरक–फरक जात्रा–पर्व मनाउने छुट्टाछुट्टै ठाउँ राखिएको हुन्छ । मन्दिर वा कुनै ठाउँमा राखिएको हुन्छ । मूर्त सम्पदाले अमूर्त सम्पदालाई जीवित राखेको हुन्छ । अमूर्त सम्पदाले मूर्त सम्पदालाई सयौँ वर्षसम्म जीवित राख्छ । जसले हाम्रो समाजको संस्कृति बचेको हुन्छ । यसमा हाम्रो भाषा हुन्छ, भाषाले हाम्रो पहिचान दिएको हुन्छ ।
पुर्खाले बनाएको मूर्त–अर्मूत सम्पदालाई आर्थिक दृष्टिकोण र आधुनिकतासँग जोडेर हेरियो । जसले गर्दा सम्पदालाई विस्तार गर्न बिर्संदै जान थालियो । आजभन्दा ५०–६० वर्षअघिसम्म सांस्कृतिक सम्पदालाई जगेर्ना गर्नुपर्छ भन्ने बुझाइ थिएन । तसर्थ, हामीले कतिपय सांस्कृतिक सम्पदा जोगाउन सकेनौँ । परम्परागत सीप र प्रविधि उपलब्ध भएकै अवस्थामा आधुनिकतातिर मोह जाग्दै गयो । हाम्रा मादल, धिमे, ढोलक, खैंजडी, बाँसुरी आदिको जस्तै धुन अन्य वाद्ययन्त्रबाट निकाल्न सकिएला । तर, पनि अरू बाजाबाट मौलिक बाजाको प्रतिनिधित्व हुन सक्दैन ।
पछिल्लो दशकयता सांस्कृतिक सम्पदा जोगाउनुपर्छ भन्ने जागरण आएको छ । यो आफैँमा राम्रो कुरा हो । तर, यसलाई हामीले पर्याप्त प्रवद्र्धन गर्न सकेका छैनौँ । पूजाआजा मात्र होइन, बाटो, हिति इनार, मठमन्दिरजस्ता पूर्वाधार मासिए । त्यसैलाई जोगाउनु विकास हो । यहाँ त उल्टो विकासले विनाश गरिरहेको देखिन्छ । काठमाडौं उपत्यकाका पुराना बस्तीलाई आधुनिकतामा परिणत हुन दिनुहुँदैन ।
मैले सानैदेखि देख्दै आएको रानीपोखरीमा वर्षको एक दिन मात्रै छिर्न पाइन्छ । कुनै समय खुला थियो होला । रानीपोखरीलाई व्यवस्थापन गर्न सक्यो भने पनि सधैँ खुला गर्न सकिँदैन । त्यो कमाई खाने भाँडो नहोस् भन्ने लाग्छ । अर्काे टुँडिखेल यहाँको ठुलो सम्पदा मानिन्छ । जुन वातवरणीय दृष्टिकोण र सामूहिक रूपमा बस्ने, जात्रा पर्व मनाइने ठाउँ हो । यो आममानिसको पहुँच होस् भनेर पुर्खाले छोडिदिएको जमिन हो । तर, त्यसलाई नेपाली सेनाले कब्जा गर्दै लग्यो, त्यसको क्षेत्रफल पनि घट्दै गयो । यो आममानिसको पहुँचमा हुनुपर्छ । अहिले टुँडिखेल जनताको भनेर जागरण फैलिएको छ । तर, अझै सशक्त रूपमा अघि बढ्न सकेको छैन । यसलाई खुला बनाउन महानगरपालिकाले अपनत्व लिएर अघि बढ्नुपर्छ ।
जगेर्नाका लागि चुनौतीहरू
हामी भौतिक सुविधा खोजिरहेका छौँ । यो मानवीय स्वभाव पनि हुन सक्ला । सुविधा खोज्ने क्रममा हामीले हाम्रो पहिचान गुमाउँदै त छैनौँ ? यो अहिलेको जटिल प्रश्न हो । पुरानोलाई हटाएर नयाँ बनाउने भन्ने सोचाइ छ । जुन गलत हो ।
आजभन्दा एक सय वर्षअघि पनि हाम्रा पुर्खाले यस्ता सांस्कृतिक सम्पदा निर्माण गरिदिए । त्यो उनीहरूले दिएको चिनो हो । पुर्खाले बनाइदिएको भौतिक सम्पदालाई हामीले जगेर्ना गर्नुपर्छ । पुर्खाले दिएको ज्ञान, सीप, परम्परा, संस्कृति बिर्संदै गयौँ । पुर्खाले सम्पदा जोगाए थिए । तर, हामीले त्यसलाई जोगाउन सकेनौँ । कलेज स्कुल पढ्दा आफ्नो संस्कृतिबारे चासो लिन्न थिएँ । तर, अहिलेका नयाँ पुस्ताले संस्कृति जोगाउन चासो राखेको देखिन्छ । यो खुसीको कुरा हो ।
प्रस्तुति : पवन बराइली