प्रविधिको विकाससँगै पुस्तकको युग समाप्त हुँदै छ भन्ने बहस चल्न थालेको केही समय भइसकेको छ । लेखकहरूमाझ ‘लेखेरै बाँच्न त सकिन्न’ भन्ने बहस सदाबहार नै चल्छ । लेखकहरूले प्रकाशित गरेका पुस्तकहरू कतिले पढे, कतिले पढेनन् भन्ने पनि अन्दाज गर्न मुस्किल नै छ । तर, पनि लेखकहरूले लेख्न छाडेका छैनन् । पुस्तकहरू बजारमा प्रकाशित भइनैरहेका छन् । लेखक बढ्नुको मतलब पाठक पनि बढ्नु हो । यसलाई सकरात्मक रूपमा लिनुपर्ने विज्ञहरू बताउँछन् ।
अघिल्ला वर्षहरूमा पुरुष लेखककै पुस्तकहरू बढी प्रकाशित हुन्थे । यस वर्ष पनि पुरुष लेखककै पुस्तक प्रकाशित धेरै छन् । तर, अघिल्ला वर्षभन्दा यस वर्ष पुस्तक प्रकाशित गर्ने महिला लेखकहरूको संख्या उल्लेख्य बढेको देखिन्छ । यो वर्ष बित्न चार महिना बाँकी हुँदै महिला लेखकका पुस्तक पाठकमाझ बाक्लै प्रकाशित भइरहेका छन् । पुस्तक लेखनमा महिलाको उपस्थिति बढ्नु पक्कै पनि सुखद खबर हो । यो वर्ष महिनैपिच्छेजसो आफ्ना कृतिका साथ महिला लेखक देखिएका छन् । स्थापित महिला लेखकहरू पनि पुस्तक प्रकाशित गरिरहेका छन् भने नयाँ लेखकहरू पनि देखिएका छन् । यो वर्षको आठ महिना बित्दा करिब एक दर्जन महिला लेखकले कृतिबजार ल्याइसकेका छन् । वर्षको सुरुवात अर्थात् वैशाखमै साहित्यकार, मुक्तककार गृष्मा पौड्यालद्वारा लिखित मुक्तकसंग्रह ‘संघर्ष १०१’ सार्वजनिक भयो । सोही महिना अलका मल्लको कविता, गजल र गीतको सँगालो ‘मनका तरंग’ सार्वजनिक भयो । साउनमा दीपा दाहालको कथासंग्रह ‘विजयिनी’ सार्वजनिक भयो । सोही महिना लेखक उमा सुवेदीले उपन्यास ‘परिधि’ सार्वजनिक गरिन् । साउनमै इन्दु थारुको कथा संग्रह‘बुढनी’ प्रकाशित भयो । अर्को महिना भदौमा सुमन स्मारिकाको ‘साहेब’ गजलसंग्रह सार्वजनिक भयो । साहित्यकार सीमा आभासको पहिलो उपन्यास ‘महायुग’ असोजमा सार्वजनिक भयो । असोजमै धरानकी कवि डा. अस्मिता विष्टको पहिलो कविता–किताब ‘ब्ल्याकहोलमा गीतहरू’ पनि असोजमै बजारमा आयो । । असोजमै अनिता पन्थीको उपन्यास ‘अनायोजित’ प्रकाशित भयो । कवि निरञ्जना चन्द ‘निरु’को कवितासंग्रह ‘वनफूलको विद्रोह’ यही महिना सार्वजनिक भएको छ । लक्ष्मी रेग्मी खनालको ‘अन्त्य’ पनि पाठकमाझ आएको छ ।
सुवेदीको पछिल्लो कृति ‘परिधि’ समाजभित्रकै घटनाक्रम, कथा र पात्रहरूको मनोदशा समेटिएको उपन्यास हो । ‘यो उपन्यासका घटनाक्रम फरक ढंगले घटेका छन् । यसभित्रका कथा र तिनको प्रस्तुति नितान्त फरक छ । पात्रहरू हाम्रै छेउछाउका लाग्छन् । तर, तिनको भोगाइ र सोचाइले तिनलाई पनि अरू आमपात्रभन्दा बिल्कुलै फरक बनाउँछ । यसले मानिसभित्रको मन, मस्तिष्क र चेतनाको कुरा बताउन खोजेको छ,’ सुवेदीले भनिन् ।
- यो महिला जागरणका लागि अग्रसर हुने युग हो । जागरणका लागि हामीले आफ्ना कुरा र अनुभूति जति सक्दो बढी संख्यामा भन्नुपर्छ । यतिवेला हामीलाई संख्या र गुणस्तर दुवै चाहिएको छ । यी दुवैको सन्तुलन मिलाउन हामीले सक्दो मिहिनेत पनि गर्नैपर्छ ।
दाहालको ‘विजयिनी’ कथासंग्रहमा ११ वटा कथा समावेश छन् । उनका धेरै कथा महिलाका मुद्दामै केन्द्रित छन् । ‘मेरो कथासंग्रहमा धेरैजसो सामाजिक विषयवस्तुमा लेखिएका कथाहरू छन्,’ दाहालले भनिन्,‘समाजमा महिला पात्रहरूको भूमिका र उनीहरूले गर्ने कामलाई अवमूल्यन गरिन्छ । अथवा महिलालाई सहायक व्यक्ति, सहायक पात्र, सहायक भूमिका, सहायक मानवको रूपमा लिने गरेका छौँ । यी कथाहरूमा चाहिँ महिलालाई प्रधान पात्र बनाएर राखेको छु ।’
निरुको कवितासंग्रहमा ६१ वटा कविता समावेश छन् । कवितासंग्रहमा शालीन विद्रोहका कविताहरू छन् । ती सबै कविताको फरक–फरक भाव भएको उनले बताइन् । ‘विकृति, विसंगति, राजनीतिक नौटंकी, कमजोर मानवता, सीमान्तकृत वर्ष, महिला हिंसालगातयका विषयमा कविता समावेश गरेको छु,’ उनले भनिन्, ‘घरमा फूलले संरक्षण, सम्मान, माया र सुरक्षा पाएको हुन्छ, तर वनको फूल आफैँमा सुन्दर हुन्छ, तर उनीहरूले माया, सम्मान र संरक्षण पाएका हुँदैनन् । सीमान्तकृत, दलित वर्गले वनका सुन्दर फूलजस्तै भएर रमाएर बसेका छन् । तर, उनीहरूले राज्यबाट सही दृष्टिकोण पाएकी पाएनन् भनेर प्रश्न गर्ने उद्देश्यले कविता लेख्ने प्रयास गरेको छु ।’
यसकारण महिलाले लेख्नुपर्छ
नेपाली साहित्यलाई एकांकी चिन्तनबाट मुक्त गर्न महिलाहरूले जतिसक्दो धेरै लेख्नुपर्ने सुवेदीको बुझाइ छ । ‘यो महिला जागरणका लागि अग्रसर हुने युग हो । जागरणका लागि हामीले आफ्ना कुरा र अनुभूति जति सक्दो बढी संख्यामा भन्नुपर्छ । यतिवेला हामीलाई संख्या र गुणस्तर दुवै चाहिएको छ । यी दुवैको सन्तुलन मिलाउन हामीले सक्दो मिहिनेत पनि गर्नैपर्छ,’ सुवेदीले भनिन्, ‘आजसम्म नेपाली साहित्यमा देखिएको समाज मूलत: पुरुषको आँखाबाट हेरिएको समाज हो । अब महिलाले आफूले देखेको समाजका कुरा आफैँले भन्ने वेला आएको छ । त्यसपछि मात्र नेपाली साहित्य एकांकी चिन्तनबाट मुक्त हुन्छ र नेपाली साहित्यको समृद्ध स्वरूप देखापर्छ ।’
लेखक दाहाल आफ्ना कथा भन्नका लागि कथा लेख्न थालेको बताउँछिन् । ‘सुरुमा नजानेर र पछि जानेर लेख्न थालियो । मेरो कथा कसैले लेखिँदैनरहेछ भन्ने महसुस भयो । जुन कुरा नेपाली साहित्यमा पढौँ भनेर खोजेको छु, त्यो कुरा ठ्याक्कै प्राप्त गर्न सकिएन । अरूले लेखिदेओस् भन्ने अपेक्षा गर्नुभन्दा आफैँ प्रयास किन नगर्ने भनेरै लेखेको हो,’ उनी भन्छिन्,‘हाम्रो मुद्दा, हाम्रो समस्या आममानिसमा गहिरो गरी पुर्याउन पनि लेख्नैपर्छ ।’ महिलाको वास्तविक कुरा बाहिर ल्याउन पनि महिलाले नै लेख्नुपर्ने निरुको अनुभव छ । ‘महिलाले अगाडि बढ्न केही न कही धार समाउनुपर्यो । महिलालै नै लेख्न थालेपछि महिलाका वास्तविक कुरा बाहिर आउँछ त्यसैले पनि महिलाले लेख्न जरुरी छ,’ निरुले भनिन् ।