ऊर्जा मिल्ने पाथीभरा यात्रा

आँखैअगाडि देखिने कुम्भकर्ण हिमाल र शक्तिपीठले बिर्साउँछ थकान

शनिबार, ६ मंसिर, २०८२
डिजिटल संस्करण
  • पाथीभराबाट अलि ढाटा रहेको कञ्चनजंघा, काङबाचेन, मकालु, लोत्से र नोत्से हेर्न पाइन्छ

चट्टाने पहाड । आँखैअगाडि ठोक्किएजस्तो कुम्भकर्ण हिमाल । ठिंग उभिएका थुप्रै हराभरा डाँडाहरू । तीनै डाँडाको बिचमा पर्ने पाथीभरा डाँडाको टुप्पोमा छ, पाथीभरा देवीको मन्दिर । 

ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि करिब १९.४ किमिको दूरीमा रहेको यो डाँडा आफैँमा भरिपूर्ण छ । यहाँबाट थुप्रै प्राकृतिक मनमोहक दृश्य नियाल्न पाइन्छ । शीतल हावा खाँदै जति उकालो चढ्यो त्यति मनमा ऊर्जा थपिन्छ । त्यसैले त भनिन्छ, पाथीभरा यात्रा एउटा मन्दिर दर्शन गर्ने यात्रा मात्र होइन, हराभरा प्राकृतिक दृश्यावलोकन गर्ने रमणीय यात्रा पनि हो । ठाडै उकालो यात्रा गर्दा निकै थकान महसुस हुन्छ । तर, जब मन्दिर पुगिन्छ, तब सारा थकान मेटिन्छ । 

पाथीभराबाट देखिएको कुम्भकर्ण हिमाल र अन्य हिमशृंखला । 

हाल यो ठाउँको दर्शन गर्न दैनिक पाँचदेखि सात हजारसम्म यात्रु आउँछन् । उकालोको यात्रा कठिन भएकाले धेरैजसो हिँड्न सक्ने भक्तजनहरू यहाँ पुग्छन् । तर, कतिपय वृद्धवृद्धालाई बोकेरै भए पनि दर्शन गर्न मन्दिरमा पुर्‍याउने गरिन्छ । नेपालमा रहेका थुप्रै कोटमध्ये पाथीभरालाई महत्वपूर्ण शक्तिपीठको रूपमा लिइन्छ । 

तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको यो मन्दिर पुग्न हरेक दिन भक्तजन यात्रा गरिरहेका हुन्छन् । यो मन्दिरसँग माना र पाथीको इतिहाससमेत जोडिएको छ । मन्दिरमा राखिएको माना र पाथीमा भक्तजनले अन्न भर्ने गर्छन् । कतिपयले मानापाथी पनि चढाउँछन् । यसो गर्दा भोकमरी नलाग्ने र अन्न उत्पादन बढ्ने विश्वास पनि गरिन्छ । 

पाथीभरालाई ताप्लेजुङमा लिम्बू, गुरुङ, तामाङ समुदायले पनि निकै महत्वपूर्ण तीर्थस्थल मान्छन् । ताप्लेजुङस्थित फुङलिङका डिगबहादुर लिम्बूका अनुसार यहाँका रैथाने लिम्बू समुदाय पाथीभरालाई ‘मुक्कुमलुङ’ भन्ने गर्छन् । लिम्बू समुदाय पाथीभरालाई शक्ति र बलको स्रोत मान्छन् ।

भेडीगोठसँग जोडिएको अनौठो किंवदन्ती 
पाथीभरा मन्दिर प्रसिद्ध तीर्थस्थल पनि हो । यो मन्दिरलाई हिन्दु एवं बौद्धहरूले बढी मान्ने गर्दछन् । पाथीभरासँग थुप्रै किंवदन्ती, जनश्रुति जोडिएका छन् । जनश्रुतिअनुसार परापूर्वकालमा यस क्षेत्रका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा बनाएका थिए । त्यस समयमा गोठका भेडाहरू हराए । हेर्दाहेर्दै भेडाहरू अलप भएपछि मानिसहरूले अनौठो माने । एक दिन एकजना गोठालेले सपना देखे । गोठालालाई देवीले आफ्नो आकृतिसहित उत्पत्तिस्थलबारे सपनामा जानकारी गराइन् । सपनामा देवीले भेडाको बलिसहित पूजा गर्नु भनेपछि अलप भएका भेडा फिर्ता आउने विश्वाससहित गोठालाहरूले देवीले भनेको ठाउँमा भेडा बलिसहित पूजा गरे । त्यसपछि ती हराएका सयौँ भेडा जस्ताको तस्तै पहिलाकै ठाउँमा देखिए । गोठालाले आश्चर्य मान्दै देवीको नियमित पूजा गर्न थाले । जानकारहरूका अनुसार पाथीभरालाई आस्था र अलौकिक शक्ति भएकी देवीका रूपमा लिने गरिन्छ । यहाँको कुनै पूजाविधि छैन, भक्तजनले आफूलाई जसरी मन लाग्छ त्यसरी नै पूजा गर्ने गर्छन् । पछिल्लो समय यहाँ भाकल गरेकाहरू बढी पुग्ने गरेका छन् । पाथीभरा देवीलाई सौभाग्य तथा सुन्दर देवीका रूपमा पनि लिने गरिन्छ । सोहीकारण भक्तजनहरूले देवीलाई सौन्दर्यका सामग्री पनि चढाउँछन् । स्थानीयका अनुसार फागुनदेखि कात्तिक महिनासम्म पाथीभरा यात्रा निकै रमणीय र सहज हुन्छ । यहाँ पुग्न सदरमुकाम फुङलिङदेखि सुकेटार, तल्लो फेदी, माथिल्लो फेदी हुँदै यात्रा गर्नुपर्छ । 

पाथीभरा मन्दिर जाने बाटोमा पर्ने माथिल्लो फेदीबाट देखिएको दृश्य ।

यहाँ भक्तजनले पाथी भरेको ५५ सय रुपैयाँ पैसा लाग्छ । ‘पाथीभरा देवीको बहिनीका रूपमा मानालाई लिने गरिन्छ । पैसा थोरै हुनेले माना भर्ने चलन छ, मानापाथी भर्दा माना र पाथीजस्तै चिताएको कुरा भरिपूर्ण होस् भन्ने हो । माना बोकेर जाँदा पैसा भरेको ३५० लाग्छ, मानासहित पैसा भर्दा ८५० लाग्छ । 

पाथीभरा पुग्न तल्लो फेदीदेखि यात्रा गर्नुपर्छ । पाथीभरा क्षेत्रमा गोब्रेसल्लो, धुपी, गुराँसजस्ता रुख बढी छन् । गुँरास फुल्ने सिजनमा यस क्षेत्र हराभरा देखिन्छ । जंगलको बिचमा बनेका सिँढी चढ्दै गर्दा जब पाथीभरा देवीको मन्दिरनजिकै पुगिन्छ सारा दु:ख बिर्सिन्छ । त्यहाँबाट कुम्भकर्ण हिमाल र अन्य थुप्रै हिमशृंखला नियाल्न पाइन्छ । पाथीभराबाट अलि ढाटा रहेको कञ्चनजंघा (८५८६ मि.), काङबाचेन (७९०३ मि.), मकालु (८४६३ मि.), लोत्से (८५१६ मि.), नोत्से (७८५५ मि.) हेर्न पाइन्छ । तर, अलि नजिकबाट देखिने कुम्भकर्ण हिमाल नै हो । मानिसको मुखाकृतको यो हिमालले पाथीभराको टुप्पोलाई थप हराभर देखाएको छ । 

भक्तजन बोकेर जीविकोपार्जनमा स्थानीय युवा 
पाथीभराको दर्शन गर्न पुगेका कतिपय भक्तजनहरू उकालो चढ्न सक्दैनन् । तर, त्यस्ता व्यक्तिहरूका लागि पनि यहाँ विकल्प छ । स्थानीय युवाहरूले उकालो चढ्न नसक्ने भक्तजनहरूलाई बोकेरै मन्दिरसम्म पुर्‍याउँछन् । यसो गर्दा उनीहरूको रोजीरोटीमा पनि सहज हुने गरेको छ । फुङलिङस्थित काफ्लेडाँडाका अघिकांश युवाहरूले भक्तजन र उनीहरूका सामान बोक्छन् । स्वाँस्वाँ गर्दै कतिपय व्यक्ति उकालो चढ्न सक्दैनन् । कतिपय व्यक्ति हिँड्दाहिँड्दै ढल्छन् । केटाकेटी बोकेर गएका बिचबाटोमै गल्छन् । बुढाबुढीहरू उकालोमा पाइला चाल्न नसकेर गल्छन् । तर, उनीहरूलाई मन्दिर पुर्‍याउन स्थानीय युवाहरू बिहानैदेखि भरियाको रूपमा खटिएका हुन्छन् । 

पाथीभरा मन्दिर क्षेत्रमा सौन्दर्यका लागि गोलाकार बनाएर राखिएका घन्टी ।  

‘हामीलाई उकालोमा हिँड्न खासै थकान हुँदैन, दिनदिनै हिँड्दा बानी हुन्छ, भक्तजनहरूलाई बोकेर हामीले मन्दिरसम्म पनि पुर्‍याउँछौँ,’ पाथीभरा मन्दिर जाने बाटोमा भेटिएका सुरज तामाङले भने,‘उहाँहरूले आफूलाई लागेको पैसा दिनुहुन्छ, दैनिक चार–पाँचजना भक्तजनलाई मन्दिर पुर्‍याउँछु ।’ सुरजजस्तै अन्य थुप्रै युवाहरूले यसरी भरिया पेसा अँगालेका छन् । उनीहरूले दैनिक ६–७ हजार यही कामबाट कमाउँछन् । ‘उकालोमा भारी बोकेर र मान्छे बोकेर हिँड्न त सजिलो छैन, तर काम गर्न परिहाल्यो, कित विदेश जानुपर्‍यो, गाउँघरमा अरू काम छैन,’ भरियाको रूपमा काम गर्ने अर्का स्थानीय राजकुमार लामाले भने,‘कहिलेकाहीँ त भक्तजनहरू धेरै आउनुहुन्छ, बोकेर लैजान पनि भ्याइँदैन, जेहोस् काम गर्न सक्ने हो भने पैसा राम्रै कमाइन्छ ।’ उनका अनुसार कतिपय भक्तजनले थोरै र कतिपयले धेरै पैसा दिने गर्छन् । धार्मिकस्थलमा जानेहरूसँग बार्गेनिङभन्दा पनि जति दिन्छन् त्यति नै ज्याला दिने गर्छन् । 

पाथीभरा मन्दिरमा सेवककर्ताका रूपमा काम गर्ने विष्णु तामाङले पछिल्लो समय पाथीभरामा चोरी हुने गरेको बताइन् । ‘पहिले पाथीभरा मन्दिरका इमानदार भक्तजन आउनुहुन्थ्यो, तर अहिले चोरी गर्ने पनि आउने गर्छन् । पाथीभरामा आफ्नो इच्छाले दर्शन गर्ने हो, जे भनिएको छ सोहीअनुसार दर्शन गर्नुपर्छ,’ उनले भनिन्,‘पाथीभरामा आफूलाई जस्तो श्रद्धाभावले पूजा गरे पनि हुन्छ, यहाँ मागेको पूरा हुन्छ, तर पछिल्लो समय मानापाथीहरू चोरी हुन्छ, कतिपयले शंख, डमरु र घण्टी चोरी गर्नुहुन्छ, थोरै चढाएर धेरै लिएर जानुहुन्छ, भक्तजनमा विकृति हुनु राम्रो होइन ।’ उनका अनुसार दसैँ तिहार र चैत्र नवरात्रिको वेला सबैभन्दा धेरै भक्तजनको संख्या बढ्ने गर्छ । 

See More On

सुझावित समाचार