एआई इयरबड साधन कि साध्य ?

शनिबार, ६ मंसिर, २०८२
डिजिटल संस्करण

एआईको विकासले दिनप्रतिदिन नयाँ–नयाँ चमत्कार यथार्थमा बदलिँदै छ । त्यस्तै एक चमत्कार हो, बोलेको भाषालाई तत्समय अनुवाद गर्ने प्रविधि । मानौँ तपाईं जापानमा हुनुहुन्छ, तर जापानी भाषा आउँदैन । तपाईंले कुरा गर्न लाग्नु भएको मित्रलाई पनि नेपाली आउँदैन । यस्तोमा सहयोगी हुनेछ, एआई बड्स । तपाईं र तपाईंका जापानी मित्रले यो उपकरण कानमा लगाएपछि तपाईंले नेपालीमा भन्नुभएको कुरा बड्सले जापानीमा बदलिदिन्छ भने उनले जापानीमा भनेको कुरा तपाईंले कानमा लगाउनु भएको बड्सले नेपालीमा बदलिन्छ । कुनै समय विज्ञान कथाजस्तो लाग्ने प्रविधि अब अन्तर–सांस्कृतिक सञ्चारको द्रुत समाधानको रूपमा बजारमा आउँदै छ ।

यस्ता एआई सञ्चालित उपकरण धेरै मानिसका लागि उपयोगी हुनेछ । विशेष गरी, पर्यटक तथा अन्तर्राष्ट्रिय व्यापार–व्यवसाय गर्नेहरूका लागि एआई बड्स वरदान साबित हुनेछ । अहिले एआई बड्स प्रयोगात्मक चरणमै छ र यस क्रममा यसले केही भाषाहरूलाई एकअर्कोमा सटिकताका साथ अनुवाद गरेर देखाइसकेको छ । के यसको प्रयोग बढ्न थालेपछि भविष्यमा मानिसमा अर्को भाषा सिक्नैपर्दैन ? यसको सामाजिक असर कस्तो हुनेछ ? 

नयाँ प्रविधिले भाषाको सिकाइमा ठुलो परिवर्तनको सम्भावना देखाएको योपटक नयाँ होइन । केही वर्षयता डुओलिंगोेजस्ता स्टार्टअपहरूले भाषालाई गेमजस्तो बनाएर नयाँ भाषा सिक्न पहिलेभन्दा सजिलो बनाउने वाचा गर्दै आएका छन् । यी एपहरूले निश्चित रूपमा पहिलेभन्दा धेरै मानिसलाई भाषाको सिकाइ सहज बनाइदिएको कसैले नकार्न सक्दैन । तथापि, अनुसन्धानले यी प्लाटफर्म र एपहरूले भाषा सिक्ने स्वाभाविक सामाजिक प्रक्रियालाई पूर्ण रूपमा प्रतिस्थापन गर्न असफल भएको देखाउँछ ।

भाषा सिकाउने एपहरूको ठुलो लोकप्रियताले नयाँ भाषा सिक्न चाहने मानिसको संख्या पहिले सोचिएभन्दा विशाल रहेको देखाउँछ । जस्तो, सन् २०२४ को अन्त्यमा डुओलिंगोेमा मात्र विश्वभर ११ करोड ३१ लाख मासिक सक्रिय प्रयोगकर्ता थिए, जुन अघिल्लो वर्षको तुलनामा ३६ प्रतिशत बढी हो । यो अमेरिकी विद्यालयहरूमा अंग्रेजीबाहेक अन्य भाषाहरूको कक्षा लिने विद्यार्थीहरूको संख्याभन्दा लगभग १० गुणा बढी हो ।

नयाँ भाषा सिक्नुको अर्थ
नयाँ भाषा सिक्ने हरेकको मूल उद्देश्य सो भाषा बोलेको बुझ्ने र आफूले पनि फर्काउनुहुन्छ । दोस्रो विश्वयुद्धदेखि, सरकारी विभाग र शिक्षा कार्यक्रमले किताबकेन्द्रित व्याकरण–अनुवाद विधिले अन्तरक्रियामा उल्लेख्य फाइदा नगर्ने पाए । बिस्तारै व्यक्ति–व्यक्तिबिच प्रत्यक्ष कुराकानी गर्न सक्ने क्षमता भाषा कक्षाहरूको मुख्य लक्ष्य बन्यो । अहिले आएर महिनौ लगाएर विकास गर्न सकिने यो क्षमता कानमा एउटा उपकरण राखेकै भरमा हासिल हुने देखिँदै छ । यसले पारस्परिक अन्तरक्रियामा क्रान्तिकारी परिवर्तन ल्याउने वाचा त गरेको छ । तर, भाषाको हकमा प्रविधि साधन मात्र हुन सक्छ, आफैँमा साध्य होइन ।

फरक भाषा बोल्ने सहरको भ्रमण गर्दा हरेकले त्यहाँको होटेल बुक गर्दा, बिल तिर्ने वेला, घुम्ने स्थानमा लिनुपर्ने टिकट किन्दा वा सहरवरिपरि आफ्नो बाटो पहिल्याउँदा भाषाको समस्या भोग्नुपर्ने हुन्छ । यस क्रममा एकअर्काका भाषा नबुझ्ने मानिस छन् भने तिनले टुटेफुटेको केही शब्द, इसारा वा यी मिश्रणमार्फत आफ्नो उद्देश्य पूर्ति गर्ने प्रयास गर्छन् । यस्तो अवस्थामा, सेवा लिन खोज्ने र दिन खोज्ने दुवै पक्ष एकअर्कालाई धैर्यतापूर्वक सुन्ने र बुझ्ने कोसिस गर्छन् । दुवैको मूल भाषा नभए पनि अंग्रेजीजस्तो कुनै साझा भाषा छ भने त्यसलाई पनि प्रयोगमा ल्याउने कोसिस गर्छन् । 

यस क्रममा हास्यरस, अनुहारको हाउभाउ, औपचारिकताको स्तर, स्वरको उतारचढाव, समय र शारीरिक भाषाले तपाईंले स्रोतालाई के भन्नुहुन्छ मात्र होइन, तर तपाईं कस्तो मानिस हो भन्ने कुराको पनि परिचय दिइरहेको हुन्छ । अर्थात् भाषा सिक्ने प्रक्रियामा एकअर्काप्रतिको सम्मान, विश्वास र अरू कसैको आँखाबाट संसारलाई हेर्ने इच्छासमेत प्रसारित भएको हुन्छ । 

वास्तवमा भाषा सिकाइ मानव काममध्ये सबैभन्दा बढी समय, एकाग्रताको माग गर्ने विषय हो । यस प्रक्रियामा जुन संज्ञानात्मक लचिलोपन, सहानुभूति, पहिचान र समुदायको विकास हुन्छ, त्यसलाई प्रविधिले गर्ने अनुवादले प्रतिस्थापन गर्न सक्दैन । अहिले जलवायु परिवर्तनका कारण बढ्दो बसाइँसराइ, रिमोट वर्क (कार्यालयभन्दा टाढा गरी काम गर्ने) र अवकाशपछि विदेशमा बस्ने प्रवृत्ति बढ्दै गएको समयमा नयाँ भाषा सिक्नुपर्ने आवश्यकता घट्नुको सट्टा बढ्नेछ । एआईजडित बड्सले कहिलेकाहीँ हुने सञ्चारलाई सहज बनाउला, तर दिनहुँ अन्तरक्रियाका लागि प्रविधिबिचमा आइरहँदा मानिसलाई असहज लाग्न सक्छ । एक ठाउँमा बस्दै जाँदा प्राय: पारिवारिक र अन्य सम्बन्ध जोडिने भएको प्रत्यक्ष अन्तरक्रिया नभइहुँदैन ।

एप्पलको पछिल्लो इयरबड्सलगायत अन्य उपकरणहरूले बोल्दाबौल्दैको भाषा अनुवाद गर्न सक्ने बताइएको छ । यी नवीनतम एआई प्रविधि निश्चित रूपमा शक्तिशाली उपकरण हुन्, जसले व्यक्तिगत दोभाषेजस्तै काम गर्नेछ । तर, दोभाषेमा भरपर्दा आइपर्ने समस्या यसका पनि हुनेछन्, विशेषत: कुनै–कुनै अवस्थामा अर्थको अनर्थ लाग्ने, प्रत्यक्ष संवादमा हुने आत्मीयता नहुने र यसका कारण पारस्परिक विश्वासको कमी हुनेछ । अर्थात्, प्राविधिक दोभाषेले छोटो अवधिका संवादलाई सजिलो त बनाउँछ, तर यसले नयाँ भाषाको सिकाइले दिने दीर्घकालीन फाइदा र सामाजिक एकीकरण वृद्धिलाई कमजोर बनाउँछ । 

कुनै पनि नयाँ भाषाको सिकाइ समय लाग्ने, अनिवार्य रूपमा घर्षणयुक्त काम हो । तर, यसले धेरै पक्षमा लाभ पनि दिइरहेको हुन्छ । अन्तरव्यक्तिगत रूपमा, फरक भाषाको ज्ञान र प्रयोगले त्यस भाषाको सांस्कृतिक ज्ञान मात्र बढाउँदैन, संज्ञानात्मक सहानुभूतिलाई समेत बढावा दिन्छ । यसका साथै, धेरै भाषा जान्ने व्यक्तिहरूमा बुढौलीमा बिर्सिने रोग(डिमेन्सिया)को सम्भावना कम हुने, बहुदृष्टिकोण र व्याख्याहरूको स्वीकृति बढ्ने, र फरक संस्कृतिप्रतिको पूर्वाग्रह घट्ने अध्ययनले देखाएको छ । खासमा आजको एआई युगमा महत्वपूर्ण बन्दै गएका धेरै विशेषता– लचिलोपन, आजीवन सिकाइ, विश्लेषणात्मक तथा रचनात्मक सोच, सक्रिय सुनाइ – सबै भाषा सिकाइबाट हासिल हुन्छ ।

त्यसो भए, एआईले पर्यटकलाई नयाँ सहर घुम्न आवश्यक पर्ने केही वाक्यांश, अनौपचारिक लवज सिकाइदिने र सहर घुम्न पनि यसैले सहयोग गर्दैमा नयाँ भाषा सिक्नुको अर्थ हराउँछ त ? हराउँदैन । किनकि भाषा क्षणिक भेटघाटका आवश्यकता पूरा गर्ने औजार मात्र होइन । खासमा यसले त मानवमा केही स्थायी क्षमता विकास गराउन सक्छ । जुन हुन्, जिज्ञासा, सहानुभूति, अरूप्रतिको गहिरो बुझाइ, पहिचानको पुन: आकार र स्थायी संज्ञानात्मक वृद्धि । बरु, भाषा सिकाइका केही पक्षमा जेनेरेटिभ एआईलाई जोडेर सिकाई अझ प्रभावकारी बनाउन सकिन्छ । जस्तो, शिक्षकले धेरै समय दिनुपर्ने सामान्य त्रुटि सुधार्ने, शब्द अर्थ रटाउनेजस्ता प्राविधिक पक्ष एआईको जिम्मा दिएर कक्षाकोठामा शिक्षकले भाषाको सांस्कृतिक रूपमा समृद्ध र सूक्ष्म संवादमा जोड दिन सकिन्छ । यसले अन्तरसांस्कृतिक, जीवन्त सञ्चार, र सम्बन्ध निर्माणमा आधारित शिक्षण दृष्टिकोण फस्टाउने अवसर प्रदान गर्छ । सिकारुहरूले एआई इयरबड्सका उपलब्धि अँगाल्दै नयाँ भाषा सिकाइको दिगो लाभ लिन सक्छन् । 

(गुलेन मिडलबरी कलेजका भाषा अध्ययनका प्राध्यापक हुन् भने सविन सोही कलेजका भाषाशास्त्रका प्राध्यापक हुन् । द कन्भरसेसनबाट श्रवण उप्रेतीको अनुवाद)

सुझावित समाचार