‘डिजिटल लाइफ’बारे वयस्कसँग किशोरकिशोरीका अपेक्षा

शुक्रबार, ६ मंसिर, २०८२
डिजिटल संस्करण
  • आमवयस्कको अपेक्षाविपरीत युवाहरू आफ्नो अनलाइन जीवनबारे वयस्कले वास्ता गरिदिएहुन्थ्यो भन्ने चाहन्छन्

विश्वभरका किशोरकिशोरीले आफ्नो दैनिक जीवनको एक भागका रूपमा सामाजिक सञ्जाल र मेसेजिङ एप प्रयोग गर्छन् । यी युवा मानसिक स्वास्थ्यमा सामाजिक सञ्जालको नकारात्मक प्रभावबारे बढ्दो चिन्ता र स्क्रिन समय सीमित र डिजिटल उपकरणमा पहुँच कम गर्नेबारे चलिरहेको बहससँग गासिएका छन् ।

यद्यपि, यी बहसमा प्राय: हराएको पक्ष किशोरकिशोरी आफैँले डिजिटल लाइफबारे के सोच्छन् भन्ने हो । अनलाइन गतिविधिले उनीहरूको मानसिक स्वास्थ्यलाई कसरी असर गर्छ ? यस मुद्दामा वयस्कसँग कशोरकिशोरीका कस्ता अपेक्षा हुन्छन् ? युवाको चिन्ता पत्ता लगाउन उनीहरूको मानसिक स्वास्थ्यलाई कसरी असर गरिरहेको हुन सक्छ भनेर बुझ्नु महत्वपूर्ण छ ।

हालैको अनुसन्धानमा हामीले युनिसेफ र विश्वभरका साझेदारसँग मिलेर दशदेखि १९ वर्ष उमेरका ४९० भन्दा बढी युवाको मानसिक स्वास्थ्य र डिजिटल सञ्चार प्रयोगबारे अन्तर्वार्ता लियौँ । बेल्जियम, चिली, इजिप्ट, इन्डोनेसिया, जमैका, जोर्डन, चीन, मलावी, स्विट्जरल्यान्ड, स्विडेन र संयुक्त राज्य अमेरिकाजस्ता देशमा तिनका विविधतालाई मनन गर्दा यो एक अभूतपूर्व अध्ययन थियो ।

हामीले युवामा सूक्ष्म विचार रहेको पायौँ । उनीहरूले डिजिटल सञ्चारको सकारात्मक र नकारात्मक दुवै पक्ष प्रतिबिम्बित गरे । उनीहरूले व्यक्त गरेका विचार लगभग समान थिए । सबै देशका युवाले बारम्बार उल्लेख गरे कि वयस्कहरू पर्याप्त रूपमा बालबालिका र किशोरकिशोरीले अनलाइनमा के गर्छन् भनेर खासै चासो राख्दैनन् । उनीहरूले यो पनि औँल्याए कि वयस्कहरूले पनि बिरलै आफ्नो डिजिटल गतिविधिमा चिन्तन गर्छन् । सायद आमवयस्कको अपेक्षाविपरीत युवाहरू आफ्नो अनलाइन जीवनबारे वयस्कले वास्ता गरिदिएहुन्थ्यो भन्ने चाहन्छन् । चिलीका एक जवान युवकले भने, ‘मेरो एउटा साथी छ, जसलाई मैले एउटा खेलमार्फत भेटेको थिएँ । उसले हप्तामा ६ दिन मसँग कुरा गर्छ । उसले आफूलाई समस्यामा भएकोे मलाई बारम्बार भन्छ । तर, आफ्ना आमाबाबुलाई भन्न सक्दैन ।’

धेरै सहभागीले डिजिटल सञ्चारले सामाजिक र भावनात्मक समर्थन र सम्बन्ध प्रदान गर्न सक्छ भन्नेमा जोड दिए । डिजिटल अन्तरक्रियाले निरन्तर सामाजिक तुलना, साइबर बुलिङ र समय बर्बाद गर्नुका साथै तनाव र चिन्ता बढाउन सक्ने युवाले बताए । उनीहरू अनलाइन अनुभव गरेका कुरासँग कसरी व्यवहार गर्ने भन्नेबारे वयस्कबाट थप मार्गदर्शन लिन चाहन्थे ।

आफ्नो अनलाइन अन्तरक्रियाको गुणस्तर साँच्चै महत्वपूर्ण रहेको युवा बताउँछन् । सकारात्मक र सहयोगी सञ्चारले नकारात्मक भावनाका लागि समाधानको काम गर्छ । यद्यपि, नकारात्मक अन्तरक्रिया वा अरूको सामग्रीको निष्क्रिय उपभोगले डिप्रेसनका लक्षणजस्ता कमजोर मानसिक स्वास्थ्य समस्या सिर्जना गर्ने वा बढाउने गर्छ ।

सेलिब्रेटी र प्रभावशाली व्यक्तिसँग निरन्तर तुलना (उनीहरूको शारीरिक उपस्थिति र आर्थिक सफलता) ले युवाको जीवनमा अवास्तविक अपेक्षा ल्याउँछ र हानिकारक ‘जेन्डर स्टिरियोटाइप’लाई बढावा दिन्छ । विशेषगरी, युवतीहरू यसबाट प्रभावित देखिन्थे । साथै उनीहरूको आत्ममूल्य सामाजिक सञ्जालका पोस्टहरूमा प्राप्त लाइक वा अन्तरक्रियाको संख्यासँग जोडिएको महसुस गर्नु थियो ।

धेरै युवाले हामीलाई यो पनि भने कि अनलाइन सामग्री आवश्यक रूपमा वास्तविक हुँदैन भन्ने उनीहरूलाई थाहा थियो । तैपनि, त्यस्ता सामाजिक तुलनाले अझै पनि उनीहरूको मानसिक स्वास्थ्यलाई नकारात्मक रूपमा असर गर्छ । स्विडेनका एक किशोर केटाले भने– मलाई लाग्छ, सामाजिक सञ्जालको धेरै ठुलो प्रभाव छ । तपाईं आफूलाई अरू मानिससँग तुलना गर्नुहुन्छ । तपाईं तिनीहरू अर्कै मानिस हुन् भनेर मूल्यांकन गर्नुहुन्छ । तर, तिनीहरू पनि हामीजस्तै हुन् र हाम्राजस्तै समस्या हुन्छन् । सामाजिक सञ्जालमा तपाईं केवल एक पूर्ण मानवको अनुहार देख्नुहुन्छ र यसले तपाईंलाई नराम्रो महसुस गराउँछ ।’

अर्को प्रमुख नकारात्मक पक्ष सामाजिक सञ्जाल वा च्याट समूहमा धम्की दिनु थियो । डिजिटल उपकरणले युवाको निजी जीवनमा धम्की फैलाउँछ । ‘सामाजिक सञ्जालको साथ हामी कहिल्यै अरूको विचारबाट सुरक्षित हुँदैनौँ,’ एक किशोरले भने । केटा र केटी दुवैलाई आफ्ना तस्बिरको दुरुपयोग हुने वा लज्जास्पद वा धम्कीपूर्ण तरिकाले प्रसारित हुने डर थियो । धेरै देशका युवाले युवतीहरू अनलाइन यौन दुव्र्यवहारको बढी जोखिममा रहेको महसुस गरे ।

तर, डिजिटल सञ्चारले उनीहरूलाई आफ्नो सामाजिक सम्बन्ध विकास र बलियो बनाउन मद्दत गर्छ भन्नेमा विश्वव्यापी रूपमा युवा सहमत छन् । हाम्रा अन्तर्वार्ता कोभिड–१९ महामारीको समयमा भएका थिए, जतिवेला यो सम्बन्ध विशेष रूपमा महत्वपूर्ण थियो । सामाजिक सञ्जालले उनीहरूलाई टाढा–टाढाबाट नयाँ साथी बनाउन मद्दत गर्यो । उनीहरूले समान रुचि सेयर गरे वा समान चुनौतीको सामना गरे । यसले मानसिक स्वास्थ्य चुनौतीलाई उत्प्रेरित गर्न पनि सहयोग गर्यो । युवाले हामीलाई यो पनि बताए कि सामाजिक सञ्जाल र अनलाइन गेमिङले उनीहरूलाई समस्या र तनावबाट विचलित गर्छ, जसले गर्दा उनीहरूलाई मानसिक पीडा सामना गर्न मद्दत गर्छ । 

(जिगेल स्वतन्त्र पोस्टडक ग्लोबल एन्ड सेक्सुअल हेल्थ रिसर्च ग्रुपमा सम्बद्ध छन् भने स्जोल्यान्ड ग्लोबल हेल्थ एपिडेमियोलोजीमा पिएचडी स्कलर हुन्)
द कन्भर्सेसनबाट

 

सुझावित समाचार