नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– २ स्थित दाउन्ने बजार र दुम्कीबास बजारआसपासको राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी सञ्चालन भइरहेका संरचना, व्यापारिक क्रियाकलाप तथा घरटहरा १५ दिनभित्र हटाउन सबडिभिजन वन कार्यालय दुम्कीबासले सूचना जारी गरेको छ।
सबडिभिजन वन कार्यालय दुम्कीबासले जारी गरेको सूचनामा बुटवल–नारायणगढ सडकखण्डको छेउछाउ निर्माण गरिएको संरचना, व्यापार गर्ने प्रयोजनका घरटहरा तथा पसल, होटेल आदि वन क्षेत्रभित्र परेको उल्लेख गरिएको छ। सो क्षेत्र वनभूमि भएकाले त्यहाँ गरिएको अतिक्रमण तत्काल हटाउनुपर्ने भन्दै १५ दिनको सूचना सार्वजनिक गरिएको वन कार्यालयले जनाएको छ।
सूचनामा भनिएको छ, ‘उक्त सूचनाको म्यादभित्र स्वैच्छिक रूपमा घरटहरा तथा व्यापारिक संरचना हटाउन नसकेमा वन ऐन, २०७६ बमोजिम आवश्यक बल प्रयोग गरी हटाइनेछ।’ अतिक्रमण गर्ने व्यक्ति, घरधनी तथा व्यवसायीलाई कानुनी कारबाही हुने चेतावनीसमेत सूचनामा उल्लेख छ।
यसैबिच, डिभिजन वन कार्यालय दुम्कीबासले सो सूचना टाँस गर्नका लागि विनयी त्रिवेणी गाउँपालिका– २ को वडा कार्यालय तथा गाउँपालिकाको प्रशासनिक कार्यालयमा पत्र पठाएको छ। वन अधिकृत मनोज बरालले पत्रमार्फत सम्बन्धित कार्यालयहरूलाई ‘सूचना टाँस गरी आवश्यक जानकारी गराउन’ अनुरोध गरेका छन्।
वन कार्यालयका अनुसार दाउन्ने, दुम्कीबास बजारआसपास पछिल्ला वर्षहरूमा विभिन्न कारण देखाउँदै वनक्षेत्र अतिक्रमण गरी बिस्तारै घरटहरा, पसल तथा होटेल वृद्धि हुँदै आएको थियो। निरीक्षण तथा नक्सांकनका आधारमा त्यहाँ रहेको संरचना वन क्षेत्रभित्र पर्ने पुष्टि भएपछि कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ। वन क्षेत्र खाली गराउने प्रक्रियामा स्थानीय प्रशासन, प्रहरी तथा आवश्यक पर्ने अन्य संयन्त्रसँग समन्वय गरिएको कार्यालयले जनाएको छ।