ट्रली बस सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न आग्रह

बिहिबार, ५ मंसिर, २०८२
डिजिटल संस्करण

काठमाडौं उपत्यकाको चक्रपथ र विस्तार भइरहेका मुख्य राजमार्गमा विद्युतीय ट्रली बस सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न सहरी विकासमन्त्री कुलमान घिसिङले एसियाली विकास बैंक (एडिबी)लाई आग्रह गरेका छन् । 

एडिबी नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुश्वालगायतको टोलीसँग दिगो सहरी विद्युतीय परियोजनाका विषयमा बुधबार जानकारी लिंँदै ऊर्जामन्त्रीको समेत जिम्मेवारी सम्हालेका घिसिङले ट्रली बस प्रणाली सञ्चालनमा आवश्यक सहयोग गर्न आग्रह गरेका हुन् । चीन सरकारको सहयोगमा ०३३ सालमा काठमाडौंको त्रिपुरेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्म सञ्चालनमा आएको ट्रली बस ०६६ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो । 

एडिबीको सहयोगमा काठमाडौं उपत्यका, पोखरा महानगरपालिका र लुम्बिनी–बुटवल–सिद्धार्थनगर करिडोरमा सार्वजनिक यातायात सुधारका लागि विद्युतीय सवारीसाधनको प्रयोगलाई जोड दिँदै दिगो सहरी विद्युतीय परियोजना सञ्चालन गर्न लागिएको छ । 

परियोजनामार्फत सार्वजनिक यातायातका लागि २५० वटा विद्युतीय सवारीसाधनलाई प्रयोगमा ल्याइनेछ । विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन, मर्मत–सम्भार तथा सञ्चालन पूर्वाधार, बसस्टपसम्म पुग्न साइकल जग्गा गैरमोटर सुविधालगायत निर्माण गरिनेछ । 

परियोजनाका अवधारणापत्र स्वीकृत भइसकेको छ । हाल परियोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ ।

सुझावित समाचार