लिटमस केबल्स बन्यो सुदूरपश्चिम रोयल्सको ‘कनेक्टिभिटी’ पार्टनर

बिहिबार, ५ मंसिर, २०८२
डिजिटल संस्करण

तार तथा केबल उत्पादक कम्पनी लिटमट केबल्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सको ‘कनेक्टिभिटी’ पार्टनर बनेको छ । मंगलबार काठमाडौंमा लिटमस इन्डस्ट्रिजका एसोसिएट उपाध्यक्ष सञ्जीव झा र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले हस्ताक्षर गरे । सम्झौतापछि बोल्दै सिइओ खड्काले देशको अग्रणी ब्रान्ड लिटमससँग जोडिन पाउँदा खुसी व्यक्त गरे । उनले भने, ‘यसले सुदूरपश्चिमको टिमसँग राम्रो सम्बन्ध जोड्ने माध्यम बन्नेछ ।’

यसैगरी, उपाध्यक्ष झाले सुदूरपश्चिमसँगको सहकार्यले नेपालका प्रतिभाहरूलाई पहिचान गर्न र आगामी पुस्ताका खेलाडीलाई सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘हामी हाम्रा उत्पादनलाई मात्र होइन, राष्ट्रिय गौरवलाई बढावा दिने कुरामा पनि समर्थन गर्छौँ । त्यसैमध्ये यो सम्झौता पनि हो,’ उनले भने । 

सन् १९७७ मा स्थापित लिटमस इन्डस्ट्रिज लिमिटेड नेपालको विश्वसनीय तार, केबल तथा कन्डक्टर ब्रान्ड हो । सन् २०१४ देखि रमेश कर्पको नेतृत्वमा सञ्चालित यो कम्पनी आफ्नो क्षेत्रमा नेपालको पहिलो र एक मात्र सार्वजनिक सूचीकृत कम्पनी पनि हो ।

सुझावित समाचार