नवलपुरको मध्यविन्दु नगरपालिका– ८, गडार खोलामा बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आज बिहान सवा ४ बजेतिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको मध्यविन्दु– ८, गडार खोलानजिकै नारायणगढबाट बुटवल जाँदै गरेको बा.प्र०२–०२२ प ८९५५ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको सुप्र०२–००१ ख १३७१ नम्बरको बसले ठक्कर दिएको हो ।
दुर्घटनामा परी घाइते भएका स्कुटरचालक धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका– ५ निवासी २६ वर्षीय शिवजी अगस्तीको उपचारको क्रममा मध्यविन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल ल्याइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए ।
त्यसैगरी, सोही स्कुटीमा सवार उदयपुर गाईघाटनिवासी २१ वर्षीया निरु शाह घाइते भएकी छिन् । उनको दाहिने खुट्टामा चोट लागेको छ । उनको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।