- एमाले र जेन–जीबिच सिमरामा भएको झडप र विमानस्थल नै बन्द गर्नुपर्ने स्थितिले चुनावकेन्द्रित तनाव बढ्ने संकेत, यस्तोमा सरकार, सबै राजनीतिक दल र जेन–जीले उच्च संयमता अपनाउनुपर्ने विश्लेषकको सुझाव
प्रतिनिधिसभा निर्वाचन मिति नजिकिँदै जाँदा जेन–जी र एमालेबिचको वाक्युद्ध भौतिक झडपकै चरणमा प्रवेश गरेको छ । विश्लेषकहरूको सुझाव छ– निर्वाचनको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउने प्रयास गरिरहेको सरकार, निर्वाचनमार्फत आफ्ना एजेन्डा स्थापित गराउन चाहेको जेन–जी र २३–२४ भदौको आन्दोलनलाई वैधानिकता दिन अस्वीकार गर्दै निर्वाचनमा जान आनकानी गरिरहेको एमालेले संयमता देखाउनुपर्छ ।
सिमरामा घटनापछि सरकार र जेन–जीले संयमताको अपिल गरेका छन् भने एमालेले आफ्ना नेताका अभिव्यक्ति उतेजनापूर्ण नरहेको बरु त्यसलाई निर्वाचनको खबरदारी गर्ने हेतुका रूपमा बुझ्नुपर्ने दावी गरेको छ । तर, एमाले नेताका अभिव्यक्ति र कार्यकर्ताका गतिविधिले देशमा थप संकट निम्तिने चेतावनी जेन–जीहरूको छ ।
चुनावी वातवरणका लागि दलहरूसँग प्रधानमन्त्री कार्कीले सामूहिक छलफल गरेकै दिन सिमरामा भएको झडप र हिंसाले सरकारलाई झस्काएको छ । बुधवार राती सामाजिक संजालमार्फत प्रधानमन्त्री कार्कीले अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न सवैसँग अपिल गरेकी छिन् ।
‘बाराको सिमरामा आज देखिएको तनाव र हिंसा अत्यन्तै दु:खद छ । म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन । युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ । अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता हो । तर, यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट होइन’, प्रधानमन्त्री कार्कीले लेखेकी छिन्, ‘मैले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति तथा सुव्यवस्था कायम गर्न, सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउन उच्च संयम र पूर्ण तयारीका साथ काम गर्न निर्देशन दिएकी छु । लोकतान्त्रिक प्रणालीको माध्यमबाट मात्रै युवाहरूको वास्तविक अपेक्षा पूरा गर्न सकिन्छ । त्यसैले म सबै पक्षलाई अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न हार्दिक अपिल गर्दछु ।’
नेपाल जेन–जी फ्रन्टले एमाले नेताका अभिव्यक्ति र कार्यकर्ताका गतिविधिले देशमा थप संकट निम्तिने चेतावनी दिएको छ । बुधबार सिमरामा जेन–जी युवामाथि एमाले कार्यकर्ताले आक्रमण गरेपछि फ्रन्टकी संयोजक रक्षा बमले विज्ञप्तिमार्फत उनले संयमता अपनाउन जेन–जी युवाहरूलाई पनि अपिल गरेकी छिन् ।
‘देशको भलो नचाहने तत्वहरू हामीसँग मुठभेड गर्न, हामीलाई अत्याउन, हौस्याउन र हामीलाई आवेगमा ल्याउन चाहन्छन् । तर, हामीले त्यसो गर्नुहुँदैन । हामी जो र जस्तो प्रवृत्तिसँग लड्दै छौँ, हामी त्यस्तै बन्नुहुँदैन । अहिलेको समयमा संयमता र धैर्य नै हाम्रो शक्ति हो,’ उनले भनेकी छिन्, ‘साथीहरू हामीले बुझ्नैपर्छ, विद्रोहपछि विवेक महत्वपूर्ण छ । यो रणनीतिक समय हो । हामी उनीहरूको रणनीतिको सिकार बन्नुहुँदैन ।’
सिमरा चोकमा शान्तिपूर्वक कार्यक्रम गर्न जुटेका जेन–जी युवामाथि नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरी अवरोध सिर्जना गरेको भन्दै फ्रन्टले घटनाप्रति आपत्ति जनाएको छ । ‘ओली नेतृत्वको सरकारले दमन र अत्यधिक बल प्रयोग गरी २२ जना युवा विद्यार्थीको हत्या गरेको सर्वविदितै छ । त्यस आपराधिक र नरसंहारकारी गतिविधिको दुई महिना बित्दै गर्दा जेन–जीको शान्तिपूर्ण कार्यक्रममा पुन: नेकपा एमालेसम्बद्ध व्यक्तिहरूले नै आक्रमण गरी शान्ति सुव्यवस्था बिगार्ने किसिमका गतिविधि हुनु खेदजनक छ ।’
फ्रन्टले चुनावमा भेट गर्न पुराना दलका नेताहरूलाई आग्रह गरेको छ । ‘जेन–जीहरू पनि तपाईंहरूकै भाइबहिनी/छोराछोरी हुन् । हामी सुशासन चाहन्छौँ । पारदर्शिता र जवाफदेहिता खोजिरहेका छौँ । भ्रष्टाचाररहित राज्य संरचना बनेको हेर्न चाहन्छौँ । यो संक्रमणकालबाट निस्कनका लागि चुनाव चाहन्छौँ । आउनुहोस, शान्तिपूर्वक अगाडि बढौँ र चुनावमा भेटौँ,’ विज्ञप्तिमा छ ।
उनले आखिर एमाले कहिले सुध्रन्छ भनेर प्रश्न गरेकी छिन् । ‘एमालेका मुद्दाहरूसँग हाम्रो असहमति रहे पनि उनीहरूको लोकतान्त्रिक र संवैधानिक अधिकारको हामी वकालत गर्छौँ । तर, एमालेका शीर्षस्थ नेताहरूले जसरी पछिल्ला दिनहरूमा जेन–जी आन्दोलनलाई नै अवमूल्यन गर्दै नागरिक सरकारलाई गिज्याउने, चुनाव हुँदैन भन्ने, नागरिक सरकारका आयोगहरूलाई हेप्ने, चुनौती दिने र जेन–जी युवाहरूलाई धम्क्याउँदै, आजकै जस्तो हातपात गर्ने जुन कार्य गरेका छन्, यसले देशमा थप संकट निम्तिने वातावरण बनाउन सक्छ । र, यस्ता कार्य कसैको पनि हितमा हुँदैनन्,’ उनले भनेकी छिन् ।
बमले आफूहरूले एमालेले देशको भविष्यलाई प्रतिनिधित्व गरिरहेका युवाहरूको मनोभावना कहिले बुझ्छ भनेर पर्खिरहेको पनि बताएकी छिन् । ‘प्रत्येक दिन ध्वंसात्मक अभिव्यक्ति दिँदै आएको एमालेले आज जेन–जी युवाहरूको शान्तिपूर्ण आन्दोलन बिथोल्ने काम गर्यो र अहिले आफ्नो रंग बदल्दै अभिव्यक्ति स्वतन्त्रता र देशभित्र निर्वाध हिँड्डुल गर्न पाउने स्वतन्त्रताको कुरा गरिरहेको छ । एमालेले भदौ २३ अगाडिको समय सम्झियोस्,’ बमको विज्ञप्तिमा छ, ‘त्यसवेला हाम्रो स्वतन्त्रतामाथि गोली दागेका तत्कालीन प्रधानमन्त्री केपी ओली आज कुन स्वतन्त्रताको वकालत गर्न खोज्दै छन् ? आखिर एमाले कहिले सुध्रन्छ र यो देशको भविष्यलाई प्रतिनिधित्व गरिरहेका युवाहरूको मनोभावना बुझ्छ ? हामी पर्खिरहेका छौँ ।’
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले उठाएका मुद्दालाई निर्वाचनको खबरदारी गर्ने हेतुका रूपमा बुझ्नुपर्ने बताए । उनले सिमरा घटना गम्भीर भएको र यसलाई ‘टेस्ट केस’का रूपमा हेर्नुपर्ने बताए । ‘एमालेले कहिले पनि गैरजिम्मेवार अभिव्यक्ति दिँदैन । बाराको घटना सामान्य होइन, नेताहरू जानै पाएनन् । दलहरूलाई शान्तिपूर्ण कार्यक्रम गर्नबाट रोक्न सकिन्छ कि भन्ने टेस्ट हो । यदि यो सफल भयो भने चुनाव त धेरै टाढा हो, नियमित बैठक र गतिविधि गर्न नसक्ने अवस्था हुन्छ । यसमा सरकारले कसरी डिल गर्छ, निर्वाचनप्रतिको उसको निष्ठा देखिनेछ,’ उनले भने ।
सरकार गठन र प्रतिनिधिसभा विघटनको संवैधानिकतामा गम्भीर प्रश्न उठाउँदै एमालेले चुनावबाट दूरी बनाएको छ । ‘हाम्रा कुरालाई निर्वाचनको खबरदारी गर्ने हेतुका रूपमा बुझ्नुपर्छ । जेन–जीको माग पूरा गराउने सन्दर्भमा सरकारले अनावश्यक कुरामा हात नहालोस्, प्यान्डोराबक्स खुल्छ,’ ज्ञवालीले भने ।
एमाले–जेन–जी टकरावले सुरक्षा जोखिम बढ्दै
सरकारले निर्वाचनको तयारीलाई तीव्रता दिइरहँदा बुधबार बारामा भएको झडपको घटनाले सुरक्षा वातावरण बिथोलिने चिन्ता बढेको छ । एमाले र जेन–जी युवाबिच भएको झडपपछि सिमरामा प्रशासनले कर्फ्यु लगाउनुपरेको थियो ।
सो घटनापछि बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी दिनमा यस्ता घटना दोहोरिए निर्वाचनको वातावरण बिग्रन सक्ने भन्दै राजनीतिक रूपमा हल गर्न पहल गर्ने निर्णय भएको छ । पछिल्लो समय एमाले र जेन–जी युवाहरूबिच टकरावको अवस्था छ । दुवै पक्ष संयमित नभए देश राजनीतिक हिंसाको बाटोमा जान सक्ने सुरक्षाविद्को चिन्ता छ ।
जेन–जी अगुवाहरूले २३ भदौको आन्दोलनमा युवाहरूमाथि गोली हानेको घटनामा तत्कालीन समयमा प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी ओलीमाथि कारबाही हुनुपर्ने दबाब बढाइरहेका छन् । एमालेले भने जेन–जी विद्रोहलाई अस्वीकार गरी उनीहरूमाथि लाञ्छना लगाउँदै आएको छ । जसकारण एमाले–जेन–जी दूरी बढ्दै गएको छ । यसले गम्भीर संकेत गरेकाले राजनीतिक रूपमै यसको समाधान निकाल्न जरुरी रहेको केन्द्रीय सुरक्षा समिति बैठकको निष्कर्ष छ ।
‘जेन–जी विद्रोहलाई अस्वीकार गरी एमाले नेताहरूले भड्काउ अभिव्यक्ति दिएकाले सो पार्टीका नेताहरूप्रति जेन–जीको आक्रोश बढेको छ,’ एक उच्च सुरक्षा अधिकारी भन्छन्, ‘एमाले चुनावमा जान तयार नभएमा यस्ता घटना झन् बढ्न सक्छन्, त्यसकारण एमालेलाई सरकारले विश्वासमा लिन जरुरी छ ।’
जेन–जी आन्दोलनपछि प्रधानमन्त्रीबाट पदच्युत भएका एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई अस्वीकार गर्ने भन्दै संसद् पुनस्र्थापनाको एजेन्डा लिएका छन् । मंगलबार बसेको एमालेको सचिवालय बैठकले संसद् पुनस्र्थापनको मागसहित अदालत जाने निर्णय गर्दै चुनावमा भाग नलिने संकेत गरेको छ ।
एमाले युवा नेता महेश बस्नेतले पनि सरकार र जेन–जी आन्दोलनविरुद्ध चर्काे अभिव्यक्ति दिँदै आएका छन् । बस्नेतलाई लक्षित गरी बुधबार बारामा जेन–जीको एक समूहले अवरोध गर्ने तयारी गरेको थियो । एमाले कार्यकर्ताले कुटपिट गरेपछि उनीहरू आक्रोशित हुँदै विमानस्थलमा पुगेर तोडफोड गरेपछि विमानस्थल नै बन्द गर्नुपरेको थियो । यो घटनाप्रति विभिन्न दलका नेता मात्र होइन, प्रधानमन्त्री सुशीला कार्की स्वयंले पनि दु:ख व्यक्त गरेकी छिन् ।
दुवै पक्ष संयम नभए यस्तै घटना बढ्दै गएर देश आन्तरिक द्वन्द्वमा जान सक्ने नेपाल प्रहरीका पूर्वएआइजी उत्तम सुवेदी बताउँछन् । ‘कुनै राजनीतिक दलले आफ्नो कार्यक्रम गर्न नपाउनु भनेको दु:खद अवस्था हो,’ उनी भन्छन्, ‘अहिलेको संक्रमणकालको अवस्थामा सबै पक्ष संयमित हुनुपर्छ, नत्र देश आन्तरिक द्वन्द्वमा जान सक्छ ।’
अन्य दलको तुलनामा एमालेप्रति जेन–जी युवा बढी आक्रोशित देखिन्छन् । ठुलो संख्यामा युवा मारिएको जेन–जी आन्दोलनमा सरकारको नेतृत्वमा एमाले अध्यक्ष ओली नै भएकाले पनि एमालेप्रति जेन–जीको आक्रोश धेरै रहेको हुन सक्ने सुवेदीको बुझाइ छ । आन्दोलनपछि ओलीले दिएको अभिव्यक्तिले समेत वातावरण भड्काइरहेको उनको टिप्पणी छ । उनले भने, ‘जेन–जी आन्दोलनपछि उहाँ (केपी ओली)को अभिव्यक्तिले पनि वातावरण भड्काउन बल पुगेको छ, त्यसकारण यस्तो अवस्थामा नेताहरूको अभिव्यक्ति पनि संयमित हुन जरुरी छ ।’ नेपाली कांग्रेसलगायत अन्य दलका धेरै नेता जेन–जी विद्रोहको म्यान्डेटअनुसार नै अघि बढ्नुपर्ने बताइरहेका छन् । तर, एमाले भने संसद् पुनस्र्थापन गर्नुपर्ने पक्षमा उभिएकाले पनि जेन–जी युवा रुष्ट बनेका छन् ।
तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरुद्ध प्रहरीमा सहिद परिवारले जाहेरीसमेत दिएका छन् । तर, प्रहरीले त्यसलाई तामेलीमा राखेको छ । जसकारण जेन–जी अगुवाहरू वर्तमान सरकारसँग पनि असन्तुष्ट हुँदै गएका छन् । एकातर्फ जेन–जी नै सरकारबाट टाढिएको र अर्काेतर्फ सरकारले ठुला दलहरूको विश्वास आर्जन गरिनसकेकाले पनि शान्तिसुरक्षा चुनौतीपूर्ण बन्दै गएको हो । शान्तिसुरक्षालाई सामान्य बनाउन पनि अहिलेको अवस्थामा सबै एकजुट भएर चुनावमा जानुपर्ने जरुरी रहेको पूर्वएआइजी सुवेदी बताउँछन् ।
गृह मन्त्रालयले बारा घटनापछि बुधबार विज्ञप्ति जारी गर्दै निर्धारित मितिमै निर्वाचनका लागि आपसी संवाद, समन्वय र सहयोग अपरिहार्य रहेकाले सहयोग गरिदिन आग्रह गरेको छ । ‘सबै पक्षहरूले आ–आफ्नो कार्यक्रम सञ्चालन गर्दा स्थानीय प्रशासनसँग समन्वय गर्नु–गराउनु वाञ्छनीय हुन्छ,’ गृहको विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्वक भेला हुने र अभिव्यक्ति राख्ने संवैधानिक हकको प्रचलनका लागि सबै पक्षको संयमता, समझदारी, संवाद, समन्वय र सहमति आवश्यक रहेकाले यसतर्फ गम्भीर रहन सबै पक्षसँग मन्त्रालय हार्दिक अपिल गर्दछ ।’
उता केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत सुरक्षा योजना, २०८२ अनुसार प्रदेशस्तरमा प्रदेश प्रमुख सचिवको संयोजकत्वमा प्रदेशस्थित सबै सुरक्षा निकायका प्रमुखहरू र आन्तरिक मामिला हेर्ने मन्त्रालयका सचिव सदस्य साथै सम्बन्धित जिल्लाको सिडिओ आमन्त्रित रहने गरी प्रदेश कमान्ड पोस्ट तथा निर्वाचन सेल गठन गर्ने निर्णय गरेको छ । साथै, शान्तिसुरक्षाका लागि सुरक्षा निकायले थप समन्वय बढाउने निर्णय भएको गृह मन्त्रालयका सहायक प्रवक्ता रवीन्द्र आचार्यले बताए । एमालेले आगामी दिनमा प्रदर्शन तथा भोलेन्टियर्स फोर्स घोषणाको तयारी गरेको छ । ती कार्यक्रमको सुरक्षाबारे पनि केन्द्रीय सुरक्षा समितिमा छलफल भएको छ ।
चुनावले नै संवैधानिक व्यवस्थालाई जोगाउँछ : राजनीतिक विश्लेषक कृष्ण पोखरेल
आन्दोलनपछाडि आक्रोशको केन्द्रविन्दु केपी ओली नै हुन् । अहिले उनै जेन–जीलाई गाली गर्दै छन् र चुनावमा भाग लिन्नँ भनिरहेका छन् । उनमा कता–कता ध्वंसात्मक उन्माद आएको भान हुन्छ । जानी–बुझी नै जेन–जीसँग भिड्ने अवस्था सिर्जना गरेजस्तो लाग्छ । हिजो–अस्तिसम्म आन्दोलन गरेर ओलीले त्यसलाई निर्वाचनको शक्तिका रूपमा बदल्न खोजेजस्तो लाग्थ्यो । तर, बिस्तारै ट्र्याकमा आउन लागेको राजनीति कसरी भाँड्ने भनेर जबर्जस्ती पार्टीलाई त्यतै लैजान खोजेको देखियो । २३ भदौमा आफ्नै सरकारको पालामा जघन्य अपराध हुँदा पनि किञ्चित आत्मग्लानि, पश्चाताप हुनुपर्ने हो, त्यो देखिँदैन । ओलीमा उल्टो उग्रता देखिन्छ । चुनाव सरकारका लागि मात्र होइन, संविधानको स्टेक होल्डर भन्नेलाई झन् जरुरी छ । यसले संवैधानिक व्यवस्थालाई जोगाउँछ । लोकतन्त्रलाई जोगाउँछ । तरल अवस्थामा अराजकता निम्त्याउने नीतिले मुलुकलाई बर्बादीतिर लैजान्छ ।
प्रणाली मान्छौँ भने चुनावबाहेक अरू उपाय नै छैन : नीलकण्ठ उप्रेती, पूर्वप्रमुख निर्वाचन आयुक्त
हामीले प्रणाली मानेका छौँ भने निर्वाचन यसको उपाय हो । अरू उपाय नै छैन । सबै दल र आन्दोलनरत पक्ष निर्वाचनमै सहमत भएर अगाडि बढे द्वन्द्व अन्त्य गरेर चुनावमार्फत राज्य सञ्चालन हुन्छ । जेन–जी पनि चुनावमा सहभागी हुनुपर्यो । दलहरू पनि चुनावमा जानुपर्यो । दुवै जाने सम्भावना छैन भने यो सरकार र अवस्थाको के अर्थ भयो र ? वातावरण बनाउने जिम्मेवारी सरकार, जेन–जी र दलहरू सबैको हो । दलहरू र जेन–जी युवा जुध्ने कुरा रोक्ने सरकारकै जिम्मा हो ।
हामी जस्तो प्रवृत्तिसँग लड्दैछौँ, त्यस्तै बन्नुहुँदैन : रक्षा बम, संयोजक, जेन–जी फ्रन्ट
देशको भलो नचाहने तत्वहरू हामीसँग मुठभेड गर्न, हामीलाई अत्याउन, हौस्याउन र हामीलाई आवेगमा ल्याउन चाहन्छन् । तर, हामीले त्यसो गर्नुहुँदैन । हामी जो र जस्तो प्रवृत्तिसँग लड्दै छौँ, हामी त्यस्तै बन्नुहुँदैन । अहिलेको समयमा संयमता र धैर्य नै हाम्रो शक्ति हो । साथीहरू हामीले बुझ्नैपर्छ, विद्रोहपछि विवेक महत्वपूर्ण छ । यो रणनीतिक समय हो । हामी उनीहरूको रणनीतिको सिकार बन्नुहुँदैन ।