एमाले–जेन–जी टकरावले सुरक्षा जोखिम बढ्दै

बिहिबार, ५ मंसिर, २०८२
डिजिटल संस्करण
एमाले–जेन–जी टकरावले सुरक्षा जोखिम बढ्दै

फाइल तस्बिर/नयाँ पत्रिका

सरकारले निर्वाचनको तयारीलाई तीव्रता दिइरहँदा बुधबार बारामा भएको झडपको घटनाले सुरक्षा वातावरण बिथोलिने चिन्ता बढेको छ । एमाले र जेन–जी युवाबिच भएको झडपपछि सिमरामा प्रशासनले कर्फ्यु लगाउनुपरेको थियो । 

सो घटनापछि बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी दिनमा यस्ता घटना दोहोरिए निर्वाचनको वातावरण बिग्रन सक्ने भन्दै राजनीतिक रूपमा हल गर्न पहल गर्ने निर्णय भएको छ । पछिल्लो समय एमाले र जेन–जी युवाहरूबिच टकरावको अवस्था छ । दुवै पक्ष संयमित नभए देश राजनीतिक हिंसाको बाटोमा जान सक्ने सुरक्षाविद्को चिन्ता छ । 

जेन–जी अगुवाहरूले २३ भदौको आन्दोलनमा युवाहरूमाथि गोली हानेको घटनामा तत्कालीन समयमा प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी ओलीमाथि कारबाही हुनुपर्ने दबाब बढाइरहेका छन् । एमालेले भने जेन–जी विद्रोहलाई अस्वीकार गरी उनीहरूमाथि लाञ्छना लगाउँदै आएको छ । जसकारण एमाले–जेन–जी दूरी बढ्दै गएको छ । यसले गम्भीर संकेत गरेकाले राजनीतिक रूपमै यसको समाधान निकाल्न जरुरी रहेको केन्द्रीय सुरक्षा समिति बैठकको निष्कर्ष छ । 

‘जेन–जी विद्रोहलाई अस्वीकार गरी एमाले नेताहरूले भड्काउ अभिव्यक्ति दिएकाले सो पार्टीका नेताहरूप्रति जेन–जीको आक्रोश बढेको छ,’ एक उच्च सुरक्षा अधिकारी भन्छन्, ‘एमाले चुनावमा जान तयार नभएमा यस्ता घटना झन् बढ्न सक्छन्, त्यसकारण एमालेलाई सरकारले विश्वासमा लिन जरुरी छ ।’ 

जेन–जी आन्दोलनपछि प्रधानमन्त्रीबाट पदच्युत भएका एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई अस्वीकार गर्ने भन्दै संसद् पुनस्र्थापनाको एजेन्डा लिएका छन् । मंगलबार बसेको एमालेको सचिवालय बैठकले संसद् पुनस्र्थापनको मागसहित अदालत जाने निर्णय गर्दै चुनावमा भाग नलिने संकेत गरेको छ । 

एमाले युवा नेता महेश बस्नेतले पनि सरकार र जेन–जी आन्दोलनविरुद्ध चर्काे अभिव्यक्ति दिँदै आएका छन् । बस्नेतलाई लक्षित गरी बुधबार बारामा जेन–जीको एक समूहले अवरोध गर्ने तयारी गरेको थियो । एमाले कार्यकर्ताले कुटपिट गरेपछि उनीहरू आक्रोशित हुँदै विमानस्थलमा पुगेर तोडफोड गरेपछि विमानस्थल नै बन्द गर्नुपरेको थियो । यो घटनाप्रति विभिन्न दलका नेता मात्र होइन, प्रधानमन्त्री सुशीला कार्की स्वयंले पनि दु:ख व्यक्त गरेकी छिन् । 

दुवै पक्ष संयम नभए यस्तै घटना बढ्दै गएर देश आन्तरिक द्वन्द्वमा जान सक्ने नेपाल प्रहरीका पूर्वएआइजी उत्तम सुवेदी बताउँछन् । ‘कुनै राजनीतिक दलले आफ्नो कार्यक्रम गर्न नपाउनु भनेको दु:खद अवस्था हो,’ उनी भन्छन्, ‘अहिलेको संक्रमणकालको अवस्थामा सबै पक्ष संयमित हुनुपर्छ, नत्र देश आन्तरिक द्वन्द्वमा जान सक्छ ।’

अन्य दलको तुलनामा एमालेप्रति जेन–जी युवा बढी आक्रोशित देखिन्छन् । ठुलो संख्यामा युवा मारिएको जेन–जी आन्दोलनमा सरकारको नेतृत्वमा एमाले अध्यक्ष ओली नै भएकाले पनि एमालेप्रति जेन–जीको आक्रोश धेरै रहेको हुन सक्ने सुवेदीको बुझाइ छ । आन्दोलनपछि ओलीले दिएको अभिव्यक्तिले समेत वातावरण भड्काइरहेको उनको टिप्पणी छ । उनले भने, ‘जेन–जी आन्दोलनपछि उहाँ (केपी ओली)को अभिव्यक्तिले पनि वातावरण भड्काउन बल पुगेको छ, त्यसकारण यस्तो अवस्थामा नेताहरूको अभिव्यक्ति पनि संयमित हुन जरुरी छ ।’ नेपाली कांग्रेसलगायत अन्य दलका धेरै नेता जेन–जी विद्रोहको म्यान्डेटअनुसार नै अघि बढ्नुपर्ने बताइरहेका छन् । तर, एमाले भने संसद् पुनस्र्थापन गर्नुपर्ने पक्षमा उभिएकाले पनि जेन–जी युवा रुष्ट बनेका छन् । 

तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरुद्ध प्रहरीमा सहिद परिवारले जाहेरीसमेत दिएका छन् । तर, प्रहरीले त्यसलाई तामेलीमा राखेको छ । जसकारण जेन–जी अगुवाहरू वर्तमान सरकारसँग पनि असन्तुष्ट हुँदै गएका छन् । एकातर्फ जेन–जी नै सरकारबाट टाढिएको र अर्काेतर्फ सरकारले ठुला दलहरूको विश्वास आर्जन गरिनसकेकाले पनि शान्तिसुरक्षा चुनौतीपूर्ण बन्दै गएको हो । शान्तिसुरक्षालाई सामान्य बनाउन पनि अहिलेको अवस्थामा सबै एकजुट भएर चुनावमा जानुपर्ने जरुरी रहेको पूर्वएआइजी सुवेदी बताउँछन् । 

गृह मन्त्रालयले बारा घटनापछि बुधबार विज्ञप्ति जारी गर्दै निर्धारित मितिमै निर्वाचनका लागि आपसी संवाद, समन्वय र सहयोग अपरिहार्य रहेकाले सहयोग गरिदिन आग्रह गरेको छ । ‘सबै पक्षहरूले आ–आफ्नो कार्यक्रम सञ्चालन गर्दा स्थानीय प्रशासनसँग समन्वय गर्नु–गराउनु वाञ्छनीय हुन्छ,’ गृहको विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्वक भेला हुने र अभिव्यक्ति राख्ने संवैधानिक हकको प्रचलनका लागि सबै पक्षको संयमता, समझदारी, संवाद, समन्वय र सहमति आवश्यक रहेकाले यसतर्फ गम्भीर रहन सबै पक्षसँग मन्त्रालय हार्दिक अपिल गर्दछ ।’ 

उता केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत सुरक्षा योजना, २०८२ अनुसार प्रदेशस्तरमा प्रदेश प्रमुख सचिवको संयोजकत्वमा प्रदेशस्थित सबै सुरक्षा निकायका प्रमुखहरू र आन्तरिक मामिला हेर्ने मन्त्रालयका सचिव सदस्य साथै सम्बन्धित जिल्लाको सिडिओ आमन्त्रित रहने गरी प्रदेश कमान्ड पोस्ट तथा निर्वाचन सेल गठन गर्ने निर्णय गरेको छ । साथै, शान्तिसुरक्षाका लागि सुरक्षा निकायले थप समन्वय बढाउने निर्णय भएको गृह मन्त्रालयका सहायक प्रवक्ता रवीन्द्र आचार्यले बताए । एमालेले आगामी दिनमा प्रदर्शन तथा भोलेन्टियर्स फोर्स घोषणाको तयारी गरेको छ । ती कार्यक्रमको सुरक्षाबारे पनि केन्द्रीय सुरक्षा समितिमा छलफल भएको छ । 
 
 

See More On

सुझावित समाचार