कीर्तिपुरस्थित त्रिभुव विश्वविद्यालय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा म्याच फिक्सिङ गर्न सट्टेबाज भारतदेखि आएको खुलेको छ । म्याच फिक्सिङका लागि प्रस्ताव गर्ने क्रममा दुई सट्टेबाज पक्राउ परेपछि यस्तो तथ्य खुलेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले म्याचफिक्सिङका लागि काठमाडौं आएका २८ वर्षीय दिलप्रित सिंह र २४ वर्षीया रेविका सिंह ठकुरीलाई बुधवार लाजिम्पाटबाट पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दिलप्रित भारतको हरियाणा रानीमहाल पानीपतका हुन् भने ठकुरी बर्दियाको बारबर्दिया नगरपालिका–८ का मगरागडीकी हुन् । ठकुरी अहिले भारतको चण्डिगढ बस्दै आएकी छिन् । अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले पक्राउ परेका दुईजना म्याचफिक्सिङ गर्ने उद्देश्यले भारतदेखि आएको खुलेको बताए ।
उनले भने, ‘एनपिएलमा म्याचफिक्सिङ गर्ने उद्देश्यले दुई सट्टेबाज भारतदेखि आएको देखिन्छ । उनीहरूले म्याचफिक्सिङका लागि खेलाडीलाई प्रस्ताव गरेको थिए । तर, खेलाडीले अस्वीकार गरको देखियो । त्यसो हुँदा उनीहरूले म्याचफिक्सिङ गरि सकेको चाहीँ देखिएन ।’
प्रहरीका अनुसार उनीहरूले एनपिएलमा सहभागी टिमको एक खेलाडीलाई रन–आउट हुन प्रस्ताव गरेका थिए । त्यसबापत एक करोड रुपयाँको प्रस्ताव समेत गरेका थिए । तर, ती खेलाडीले प्रस्ताव अस्वीकार गरेका थिए । सोही सूचनापछि प्रहरी उनीहरुको निगरानीमा थियो । ट्रयाक गर्ने क्रममा उनीहरुको लोकेशन लाजिम्पाट देखिएपछि प्रहरीले पछ्याएको थियो । सोही क्रममा उनीहरू पक्राउ परेका हुन् । प्रहरीले खेलाडी र उ सहभागी टिमको नाम भने खुलाउन चाहेन ।
अनुसन्धान कार्यालयका प्रवक्ता एसपी आचार्यले भने, ‘यिनीहरुले खेलमा सहभागी टिमको एक खेलाडीलाई म्याचाफिक्सिङको प्रस्ताव गरेको देखिन्छ । तर, उनीहरूको प्रस्ताव उक्त खेलाडीले अस्वीकार गरे । टिम र खेलाडीको नाम भने अहिले नखोलौं ।’
प्रहरीका अनुसार पक्राउ पर्ने दुवैजना सट्टेबाज हुन् । उनीहरूले सामाजिक सञ्जाल ह्वाट्सएप र इन्स्टा प्रयोग गरी एनपिएलमा सट्टेबाजी लगाउँदै आएका थिए । प्रहरीका अनुसार उनीहरु ३० कात्तिकमा काठमाडौं आएका थिए । उनीहरुले खेलाडीलाई भेटरै म्याचफिक्सिङको प्रस्ताव गरेका थिए ।