काठमाडौंमाथि सुदूरपश्चिम २९ रनले विजयी

बुधबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण
काठमाडौंमाथि सुदूरपश्चिम २९ रनले विजयी

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

दोस्रो संस्करणको नेपाल प्रिमियर लिगअन्तर्गत बुधबार भएको खेलमा काठमाडौं गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्स २९ रनले विजयी भएको छ।

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १६.५ ओभरमा अल आउट हुँदा ११८ रन मात्र बनाउन सक्याे। टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा अलआउट हुँदै १४७ रनको योगफल बनाएको थियाे।

 विस्फोटक ब्याटिङ गरेका सुदूरपश्चिमका हर्मित सिंहले सर्वाधिक ५३ रन जोडेका थिए। २० बल सामना गरेका उनले दुई चौका र ६ छक्का मद्दतमा अर्धशतक पूरा गरे। यसैगरी, कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ तथा आरिफ शेखले २५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

काठमाडौंका कप्तान करण केसी एक्लैले चार विकेट लिँदा मिलिन्द कुमार, सन्नी पटेल र रासिद खानले समान २–२ विकेट लिएका थिए।

जवाफी ब्याटिङ गरेको काठमाडौंका लागि आकाश त्रिपाठीले सर्वाधिक ३४ रन जोड्दा जोन सिम्सन २४ रन बनाएर आउट भए। भिम सार्की १२, मिलिन्द कुमार ११ तथा सन्नी पटेलले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका स्कट कुगेलिन, हेमन्त धामी र हर्मित सिंहले समान दुई विकेट लिँदा इसान पाण्डे, नरेन साउद र अविनास बोहोराले एक–एक विकेट हात पारे।

सुझावित समाचार