बागमती प्रदेश सरकारले एक सचिवको पदस्थापना गरेको छ भने दुईजना सचिव (११औँ तह)को सरुवा गरेको छ। प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारबाट सरुवा भई आएका एक सचिवको पदस्थापन गरेको हो भने प्रदेश सरकारका ११औँ तहका २ कर्मचारीको सरुवा गरेको हो।
संघीय सरकारबाट सरुवा भई आएका सहसचिव रामबाबु पुरीलाई प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय हेटौँडामा नारायणकुमार श्रेष्ठ र तालिम केन्द्र, भण्डारामा सुधीर श्रेष्ठलाई सरुवा गरिएको छ।
बैठकले शिक्षा विकास निर्देशनालयको महानिर्देशक पदमा उपसचिव गोपाल कँडेललाई कायममुकायम प्रमुखको जिम्मेवारी तोकेको छ। बैठकले मुख्यमन्त्री कार्यालयको सिफारिसमा उपसचिव इन्जिनियर घनश्याम कार्कीलाई ११औँ तह (सचिव)मा नियुक्त गर्ने निर्णयसमेत गरेको छ।
यसैगरी, बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट प्रस्तावित प्रदेश आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्डलाई स्वीकृत गरेको छ भने सशस्त्र प्रहरी र नेपाल प्रहरीको आवसीय भवन निर्माण तथा संरचना सुधारका लागि विनियोजित रकमको प्रभावकारी खर्चका लागि सम्बन्धित निकायलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ।