गत २४ भदौमा जेन–जी आन्दोलनका क्रममा कैलाली जिल्ला अदालतमा आगजनी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढीबाट उनीहरूलाई पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका– ३ का २४ वर्षीय आशिष भण्डारी, ३० वर्षीय अमन केसी र बैतडीको पुर्चाैडी घर भई हाल धनगढी– ३ बस्दै आएका २४ वर्षीय भरत बमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।
मंगलबार पक्राउ परेका उनीहरूलाई अदालतबाट १० दिन थुनामा राख्ने अनुमति लिएर आपराधिक उपद्रव शीर्षकमा मुद्दा अगाडि बढाइएको प्रहरीले जनाएको छ । आन्दोलनका क्रममा जिल्ला अदालतमा आगजनी हुँदा सयौँ मुद्दाका मिसिल र महत्त्वपूर्ण कागजात जलेर नष्ट हुनुका साथै भवनमा समेत क्षति पुगेको थियो ।
प्रहरीका अनुसार सिसिटिभी फुटेजका आधारमा आगजनीमा संलग्नको पहिचान गरेर पक्राउ गरिएको हो । आगजनीपछि जिल्ला अदालतले घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको थियो ।