चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो त्रैमासमा जीवन बिमा कम्पनीहरूले एक अर्ब ९७ करोड २४ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । हाल नेपालमा सञ्चालित १४ जीवन बिमाले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीहरूको खुद नाफा २.५१ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासमा जीवन बिमा कम्पनीहरूले एक अर्ब ९२ करोड ४१ लाख २१ हजार रुपैयाँ नाफा कमाएका थिए ।
जेन–जी आन्दोलनका कारण निर्जीवन बिमा कम्पनीहरू घाटामै गएका छन् । तर, त्यसको असर जीवन बिमा कम्पनीहरूमा भने देखिएको छैन । बिमा कम्पनीहरूको यो नाफा बिमांकीय मूल्यांकनअघिको हो । आर्थिक वर्ष सकिएपछि बिमांकीय मूल्यांकनका क्रममा बिमांकीले बिमा कोषबाट निश्चित रकम नाफा–नोक्सान खातामा सारिदिन सक्छन्, जसले गर्दा कम्पनीको नाफा थप बढ्न सहयोग गर्न सक्छ ।
मुख्यत: ब्याजदर कम हुँदा जीवन बिमा कम्पनीहरूको नाफा बढ्न नसकेको बताइएको छ । जीवन बिमा कम्पनीहरूले आफ्नो लगानीयोग्य पुँजीमा अधिकांश रकम बैंकको मुद्दती निक्षेपमा राख्छन् । त्यो अवस्थामा बैंकबाट आउने ब्याज आम्दानी नै बिमा कम्पनीको मुख्य आम्दानीको स्रोत हो । तर, पछिल्लो समय बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएपछि नाफा प्रभावित भएको छ । जीवन बिमक संघका अध्यक्ष पोषकराज पौडेलले ब्याजदर कम हुँदा नाफा बढाउन नसकिएको बताए ।
समीक्षा अवधिमा रिलायबल नेपाल लाइफले सबैभन्दा धेरै २५ करोड ८५ लाख नाफा कमाएको छ । दोस्रो नम्बरमा रहेको सन नेपाल लाइफले २३ करोड ९२ लाख र तेस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सले २१ करोड ५५ लाख नाफा कमाएको छ ।
यस्तै, आइएमई लाइफले १५ करोड ८३ लाख, एसियन लाइफले १५ करोड २५ लाख, सानिमा रिलायन्स लाइफले १४ करोड ९६ लाख, नेसनल लाइफले १४ करोड आठ लाख, सिटिजन लाइफले १३ करोड १५ लाख र सूर्यज्योति लाइफले १२ करोड ८० लाख नाफा कमाएका छन् । हिमालयन लाइफले १२ करोड ७७ लाख, एलआइसी नेपालले १० करोड ८३ लाख, मेट लाइफले नौ करोड ७२ लाख, प्रभु महालक्ष्मी लाइफले ६ करोड ३७ लाख र राष्ट्रिय जीवन बिमा कम्पनीले १२ लाख १२ हजार रुपैयाँ नाफा कमाएको छ ।
त्यसैगरी, लघु जीवन बिमा कम्पनीको नाफामा भने ९८ प्रतिशतको वृद्धि देखिएको छ । गत आवको पहिलो त्रैमासमा तीन लघु बिमा कम्पनीले ७५ लाख ११ हजार रुपैयाँ नाफा कमाएका थिए । चालू आवको पहिलो त्रैमासमा भने एक करोड ४८ लाख ४५ हजार रुपैयाँ नाफा कमाएका छन् ।
लिबर्टी माइक्रो लाइफले २१ लाख ६६ हजार रुपैयाँ, गार्डियन माइक्रो लाइफले ७० लाख ८४ हजार रुपैयाँ र क्रेस्ट माइक्रो लाइफले ५५ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।