भारतबाट तेस्रो देश जान नेपालीलाई ‘एनओसी’ नचाहिने

मंगलबार, २ मंसिर, २०८२
डिजिटल संस्करण

भारतबाट तेस्रो देश जान अब नेपाली नागरिकलाई नो अब्जेक्सन लेटर(एनओसी) नचाहिने भएको छ । सरकारले यससम्बन्धी नीतिगत निर्णयको प्रक्रिया अघि बढाएको छ। 

हाल खाडीलगायतका देश जानका लागि नयाँ दिल्लीस्थित नेपाली दूतावासमा शुल्क तिरेर एनओसी लिनुपर्ने प्रावधान छ। सरकारले भिजिट भिसासम्बन्धी प्रावधानलाई खुकुलो बनाएसँगै भारतबाट अन्य देश जानलाई पनि सहज बनाउन लागेको हो। 

गत १४ कात्तिकदेखि लागू भएको भिजिट भिसासम्बन्धी कार्यविधिमा पर्यटक भिसामा कुनै पनि देश जान पासपोर्ट, भिसा र टिकट मात्र चाहिने गरी खुकुलो प्रावधान राखिएको थियो। भिजिट भिसामा मानव तस्करी हुन सक्ने भन्दै भारतबाट जानेको हकमा नेपाली दूतावासबाट अनिवार्य रूपमा एनओसी चाहिने प्रावधान थियो। 

अब भिजिट भिसा खुकुलो भएसँगै भारतबाट तेस्रो देश जान पनि एनओसी नचाहिने प्रावधान लागू गर्न लागिएको हो। यसका लागि नयाँ दिल्लीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालय हुँदै गृह मन्त्रालयसँग राय मागेको थियो। गृह मन्त्रालयले दुई दिनअघि भारतबाट तेस्रो देश जाँदा नेपालीलाई एनओसी आवश्यक नहुने प्रावधान लागू गर्न राय दिएको छ। सोही रायका आधारमा नेपाली दूतावासले एनओसी चाहिने प्रावधान खारेज गर्न लागेको स्रोत बताउँछ। 

‘भारतबाट भिजिट भिसामा जाँदा एनओसीको प्रावधानसम्बन्धी नेपाली दूतावासबाट राय माग भएको थियो,’ अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले नयाँ पत्रिकासँग भने, ‘हामीले एनओसी नचाहिने भनेर राय दिएका छौँ, सायद रायको आधारमा नेपाली दूतावासले यस सम्बन्धमा निर्णय गर्नेछ।’ 

भारतबाट ठुलो संख्यामा नेपालीहरू तेस्रो देश जान्छन्। खुला सीमा र निकटताका आधारमा नेपालीहरूले भारतीय दूतावास प्रयोग गरी अन्य देश जाने गरेका छन्। एनओसी चाहिने प्रावधानले झन्झट बेहोर्दै आएका थिए। 

तर, एनओसी नचाहिने प्रावधानले फरार सूचीमा रहेका नेपालीहरू पनि भारत हुँदै तेस्रो देश भाग्न सक्ने भएकाले त्यसतर्फ ध्यान दिएर मात्र एनओसी नचाहिने प्रावधान कार्यान्वयन गर्नुपर्ने कतिपय सुरक्षा अधिकारीको भनाइ छ। 
 

सुझावित समाचार