त्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रदान

मंगलबार, २ मंसिर, २०८२
डिजिटल संस्करण

सल्यानको त्रिवेणी गाउँपालिकाले नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रदान गर्न थालेको छ । तीन वर्षमा सम्पन्न गर्ने सम्झौता भए पनि पाँच वर्षपछि भवन सम्पन्न भएपछि नवनिर्मित प्रशासकीय भवनबाट सेवा सञ्चालन गरेको हो। नवनिर्मित भवनको उद्घाटन गर्दै त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले जनतालाई सरल र सहज सेवा प्रवाहमा थप सहजता हुने बताए।

गणतन्त्रको सुन्दरता संघीयता भएकाले नजिकको सरकार मानिने स्थानीय तहले त्यसको सुगन्ध फैलाउनुपर्नेमा जोड दिए। जनतालाई सुरक्षा, राजनीतिक अधिकार, सुशासन र आर्थिक विकाससँगै शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवाको सहजता दिलाउन स्थानीय सरकारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सहज हुने बताए । स्थानीय तहले अभ्यास गर्दै, सिक्दै जनताको घरघरमा गएर प्रभावकारी सेवा दिइरहेको उल्लेख गरे। 

प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर केसीले गाउँपालिकाले अब आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको बताए। गाउँपालिकाको भवन निर्माण कार्य सम्पन्न भएपछि अब सेवाग्राहीहरूले गाउँपालिकाका कामहरू एउटै छानामुनि सेवा पाउने भएका छन् भने वार्षिक करिब १७ लाख रुपैयाँ कोठा भाडा पनि बचत भएका बताए। 

प्राकृतिक/ हमाल जे.भी.ले भ्याटसहित पाँच करोड ३४ लाखमा ०७७ असार ३० गते सम्झौता गरेको थियो । भवनको शिलान्यास ०७७ माघ ३० गते गरिएको थियो। सम्झौता भएको मितिले ३० महिनामा निर्माण कार्य सम्पन्न हुनुपर्नेमा ०८२ मंसिरमा सम्पन्न भएको हो ।
 

सुझावित समाचार