- कात्तिक मसान्तसम्ममा चार खर्ब ६८ अर्ब कुल खर्च गरेको सरकारले राजस्व भने तीन खर्ब २९ अर्ब मात्रै संकलन गर्न सक्यो
चालू आर्थिक वर्षको पहिलो चौमासिक (साउनदेखि कात्तिक)को पुँजीगत खर्च पाँच वर्षयताकै सबैभन्दा न्यून देखिएको छ । सरकारले कात्तिक मसान्तसम्ममा २५ अर्ब ३१ करोड रुपैयाँ पुँजीगत खर्च गरेको छ, जुन पुँजीगततर्फ विनियोजित वार्षिक बजेटको ६.२१ प्रतिशत मात्रै हो ।
सरकारले पुँजीगत खर्च बढाउन नसक्दा समग्र अर्थतन्त्रमै प्रभाव परेको भन्दै हरेक सरकारले त्यसमा व्यापक सुधार ल्याउने घोषणा गर्दै आएका छन् । तर, त्यसमा सामान्य सुधार मात्रै देखिँदै आएको छ । पछिल्ला पाँच वर्षको पहिलो चौमासमा सरकारले औसत ७.६७ प्रतिशत पुँजीगत खर्च गर्न सकेको देखिन्छ । चालू आवको पहिलो चौमासको पुँजीगत खर्च भने पाँच वर्षको औसतभन्दा १.४६ प्रतिशत विन्दुले न्यून रहेको देखिन्छ ।
सरकारले आर्थिक वर्ष ०७८/७९ को पहिलो चौमासमा ५.५ प्रतिशत पुँजीगत खर्च गरेको थियो । त्यसयताका वर्षहरूमा ९.९३ प्रतिशतसम्म पुँजीगत खर्च भएको सरकारी तथ्यांक छ । गत आर्थिक वर्ष ०८१/८२ को पहिलो चौमासमा सरकराले ९.८ प्रतिशत पुँजीगत खर्च गरेको थियो । चालू आवको पहिलो चौमासमा भएको पुँजीगत खर्च भने निराशाजनक देखिन्छ । चालू आवको पहिलो चैमासमा सरकारले गरेको पुँजीगत खर्च अघिल्लो आवको सोही अवधिको तुलनामा ३.५९ प्रतिशत विन्दुले न्यून हो ।
चालू खर्च डेढ प्रतिशतले बढ्यो
चालू आवको पहिलो चौमासिकमा पुँजीगत खर्च निराशाजनक देखिए पनि साधारण खर्च भने बढेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ । चालू आवको कात्तिक मसान्तसम्ममा सरकारले तीन खर्ब २१ अर्ब रुपैयाँ चालू खर्च गरेको छ । जुन चालूतर्फ विनियोजित वार्षिक बजेटको २७.१८ प्रतिशत हो । यो खर्च गत आवको सोही अवधिको तुलनामा १.५३ प्रतिशतले न्यून हो । गत आवको पहिलो चौमासिकमा सरकारले चालूतर्फ विनियोजित वार्षिक बजेटको २५.६५ प्रतिशत खर्च गरेको थियो ।
सरकारले पहिलो चौमासिकसम्ममा कुल चार खर्ब ६८ अर्ब ८८ करोड रुपैयाँ खर्च गरेको छ । यो विनियोजित कुल बजेटको २३.८७ प्रतिशत हो । यस अवधिमा सरकारले वित्तीय व्यवस्थातर्फ एक खर्ब २२ अर्ब ५८ करोड रुपैयाँ खर्च गरेको छ । यो वित्तीय व्यवस्थातर्फ विनियोजित वार्षिक बजेटको ३२.६७ प्रतिशत हो ।
राजस्व संकलनको लक्ष्य पुगेन
खर्चमा कमजोर देखिएको सरकारले राजस्व संकलनसमेत लक्ष्यअनुसार गर्न सकेको देखिँदैन । चालू आवको पहिलो चौमासमा सरकारले तीन खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ, जुन लक्ष्यको ७७.४९ प्रतिशत हो । कात्तिकसम्म सरकारले चार खर्ब २५ अर्ब २३ करोड राजस्व उठाउने लक्ष्य राखेको थियो ।
सरकारले चालू आवमा कुल १४ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । पहिलो चौमासिकसम्म वार्षिक लक्ष्यको २२.२६ प्रतिशत हो । यो गत आवको सोही अवधिको तुलनामा भने ०.१५ प्रतिशत विन्दुले बढी हो ।