सरकारले आर्थिक वर्ष ०८१/८२ मा सर्वाधिक कर तिर्ने उत्कृष्ट १४ करदातालाई सम्मान गरेको छ । व्यक्तिगततर्फ सर्वाधिक कर तिर्नेमा राजबहादुर शाह, निकायतर्फ दूरसञ्चार प्राधिकरण र कम्पनीमा भाटभटेनीदेखि आइएमईसम्म रहेका छन् । आन्तरिक राजस्व विभागले ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नाराका साथ आयोजना गरेको ‘राष्ट्रिय कर दिवस, २०८२’ का अवसरमा विभिन्न विधाअन्तर्गत राजस्वमा सर्वाधिक योगदान दिने उत्कृष्ट करदातालाई सम्मान गरेको हो । अर्थमन्त्री रामेश्वर खनालले सोमबार आयोजित एक कार्यक्रमबिच उत्कृष्ट करदातालाई सम्मानपत्र प्रदान गरे । कर प्रशासनको सेवा नागरिकको घरसम्म पुर्याउन आधुनिक प्रणालीको उपयोग बढाउने र करदाताको लागत घटाई कम मूल्यमा व्यापार–व्यवसाय गर्न सक्ने वातावरण सिर्जना गरिने अर्थमन्त्री खनालको भनाइ थियो ।
गत आवमा सर्वाधिक कर तिर्ने निकायका रूपमा भने नेपाल दूरसञ्चार प्राधिकरण सम्मानित भएको छ । त्यस्तै, एकलौटी फर्ममध्ये थर्ड आई इन्टरनेसनल, वस्तु निर्यातको कारोबार गर्नेमध्ये डाबर नेपाल प्रालि र सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्नेमा भेरिक्स नेपाल प्रालि रहेका छन् । साथै, कृषि एवं पशुपक्षीजन्य उद्योगमध्ये पोषक ब्रिडर फार्म प्रालि, बैंक, वित्तीय संस्था र बिमाको कारोबार गर्नेमध्ये सबैभन्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्वास्थ्य तथा शैक्षिक संस्थामध्ये नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल र पर्यटन व्यवसाय गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने सोल्टी होटेलसमेत सम्मानित भएका छन् ।
सम्मानित हुनेमध्ये वस्तु व्यापारको कारोबार गर्नेमध्ये आव ०८०/८१ को आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला गर्नेमा भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालि र वार्षिक कारोबार रकम ५० करोडभन्दा बढी एक अर्बसम्म कारोबार गर्नेमध्ये सिडिएस एन्ड क्लियरिङ लिमिटेड रहेका छन् । त्यस्तै, ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि, रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ आइएमई लिमिटेड र साउन ०७६ देखि असार ०८२ सम्मको कर तिर्ने नेपाल दूरसञ्चार कम्पनी लिमिटेडसमेत सम्मानित भएका हुन् ।
सो अवसरमा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) र कर चुक्ता प्रमाणपत्र आफैँले लिन सकिने प्रणालीको सुरु गरिएको छ । अर्थमन्त्री खनालले उक्त प्रणालीको उद्घाटन गरे । ४० लाखसम्मको आय भएका र एकल रोजगारदाता भएका प्राकृतिक व्यक्तिका लागि क्युआर कोडसहितको अनलाइन कर चुक्ता प्रमाणपत्र र प्यान नम्बर आफैँले लिन सकिने प्रणालीको सुरुवात गरिएको हो ।
निजी क्षेत्रसँग सहकार्य गर्छौँ : अर्थमन्त्री
उक्त अवसरमा अर्थमन्त्री खनालले जेन–जी आन्दोलनपछि खरानीबाट उठेर उच्च मनोबल कायम गर्दै, लगानी र रोजगारी सिर्जना गर्दै राजस्वमा योगदान दिइरहेको निजी क्षेत्रसँग आर्थिक क्षेत्रको दायरा विस्तारमा समन्वय कायम गर्ने बताए । नेपाललाई अन्तर्राष्ट्रिय रूपमा लगानीको आकर्षक गन्तव्य बनाउन पूर्वानुमानयोग्य नीति र नीतिगत स्थिरता कायम गर्न अर्थ मन्त्रालयको संरचनागत पक्षमा सुधार गरिएको बताए ।
कार्यक्रमका अर्थ सचिव तथा राजस्व सचिव डा. घनश्याम उपाध्याय र राजस्व सचिव भूपाल बरालले राजस्वको दायरा विस्तार, बेरुजु फस्र्योट, बक्यौता न्यूनीकरण, लक्ष्यबमोजिम राजस्व संकलन र पेपरलेस तथा फेसलेस विधिमार्फत राजस्व सेवा वितरण गर्न निर्देशन दिए । आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले कर प्रशासनमा सदाचारिता कायम गरी करदाता सेवालाई थप सरल र सहज बनाउने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा ११ खर्बभन्दा बढी रकम त्यत्तिकै थुप्रिएको भन्दै लगानीको वातावरण तयार गर्न आग्रह गरे । ‘एकातिर अहिले बैंकमा प्रशस्त रकम भएको अवस्था छ भने कतिपय आयोजनामा लगानी नभएर बेबारिसे छन् । जसले गर्दा आयोजनाको लागत बढेको अवस्था छ । यो अवस्थामा अर्थतन्त्र चलायमान बनाउन लगानी बढाउन आवश्यक छ,’ उनले भने । जेन–जी आन्दोलनमा घुसपैठ गरी निजी क्षेत्रमाथि आक्रमण गर्नेलाई कारबाही गर्नसमेत उनले आग्रह गरे । निजी क्षेत्रको सम्पत्तिको सुरक्षण गर्न नसक्ने हो भने मुलुकमा थप लगानी हुन नसक्ने उनको भनाइ छ ।
सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदाता
- व्यक्तिगत आयमा : राजबहादुर शाह
- एकलौटी फर्म : थर्ड आई इन्टरनेसनल
- वस्तु निर्यात : डाबर नेपाल प्रालि
- सूचना प्रविधि निर्यात : भेरिक्स नेपाल प्रालि
- कृषि एवं पशुपक्षीजन्य उद्योग : पोषकब्रिडर फार्म प्रालि
- बैंक, वित्तीय संस्था र बिमा : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
- स्वास्थ्य तथा शैक्षिक संस्था : नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल
- पर्यटन व्यवसाय : सोल्टी होटेल लिमिटेड
- वस्तु व्यापारको कारोबार : भाटभटेनी सुपर मार्केट
- वार्षिक १०० करोडसम्म कारोबार गर्ने : सिडिएस एन्ड क्लियरिङ लि.
- ऊर्जामूलक उद्योग : भोटेकोशी पावर कम्पनी प्रालि
- रेमिट्यान्स तथा मनी ट्रान्सफर : आइएमई लिमिटेड
- ०७६ देखि ०८२ सम्मको कर : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
- निकायतर्फ : नेपाल दूरसञ्चार प्राधिकरण