अँगालोभरिको माया...
ताप्लेजुङ फुङलिङ– ५, हाङदेवाकी विष्णुमाया लिम्बू दुवै आँखा नदेख्दा छामेर भित्र–बाहिर गर्थिन् । छोराले बुहारी भित्र्याएको एक वर्षसम्म पनि बुहारीको अनुहार कस्तो छ भन्ने थाहा थिएन उनलाई । सोमबार वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले विष्णुमायाका आँखा तेजिला बनाइदिए, उनले पहिलोपटक बुहारीको मुख हेर्न पाइन् ।
रुइतले अप्रेसनपछि आँखामा लगाएको पट्टी खोलिदिएपछि विष्णुमायाले खुसी बर्साइन्, ‘ए सप्पै पो देखियो त ! छोराले राम्री बुहारी पो ल्याएको रहेछ ।’ आइतबार आँखा परीक्षण गराउन आउँदा उनलाई बुहारी सम्झना लिम्बूले डोर्याउँदै ल्याएकी थिइन् । ठ्याम्मै नदेख्ने उनका आँखा एकै दिनमा तेजिला भएका छन्, टाढा–टाढासम्म देख्न सक्ने । आँखाको पट्टी खोलेपछि सोमबार उनी आफैँ हिँडेर घर फर्किइन् ।
ताप्लेजुङकै महवाखोलाकी ७९ वर्षीया आसमाया लिम्बू पनि सोमबार आँखाको पट्टी खोल्दा कम्ता खुसी थिइनन् । ‘देख्यो नि ! दुवै आँखा नदेख्दा त सास थुनिएजस्तो पो हुने रहेछ,’ डा. रुइतले पट्टी खोलिदिँदै कस्तो देखियो भनेर सोध्दा उनको जवाफ थियो, ‘सबै देखियो त ।’ आसमायाले देखे–नदेखेको थप प्रस्ट हुन डा. रुइतले आफ्नो औँला र नाक समाउन लगाए । नाकमायाले सजिलै समाइन् ।
पट्टी खोल्ने पालो आयो– फुङलिङ– ५ उकालीपानीका ६९ वर्षीय पूर्णबहादुर भट्टराईको । डा. रुइतले दुवै आँखामा लगाएको पट्टी खोलिदिएर भने, ‘ऊ त्याँ पर हेर्नोस् त के छ ? देखियो ? त्यहाँ माथि के लेखिएको छ ?’
पूर्णबहादुरका आँखाले प्रस्टै ठम्याए । ‘श्री बाल मन्दिर आधारभूत विद्यालय...।’ खरर पढ्दै उनले भने, ‘सबै देखियो ।’ पढ्दापढ्दै पूर्णबहादुर भावुक बन्दै गए । डा. रुइतलाई गर्लम्ङ अँगालो हाले, अनि श्रद्धापूर्वक भने, ‘आमाले जन्म दिइन्, तपाईंले पुनर्जन्म । अब त मज्जाले देखेँ ।’ सामान्य हिँडडुल गर्नसमेत कठिनाइ भोग्दै आएका उनी आँखाको ज्योति फर्किएपछि वरिपरिका दृश्य विचरण गर्दै घर फर्किए ।
‘मैले त प्रस्टै देखेँ’ भन्दै एकपछि अर्कोले खुसी साटिरहेको सुनेकी ८० वर्षीया पवित्रा लिम्बू आफ्नो आँखाको पट्टी खोल्ने पालो कति वेला आउला भनेर उत्सुक थिइन् । केहीबेरमै पालो आइहाल्यो । ताप्लेजुङकै विकट ओलाङचुङगोलामा जन्मिएका डा. रुइतले पट्टी निकालिदिएर लेकाली लवजमा सोध्दै गए, ‘अब आँखा खोल त । देख्यौ नि ? त्याँ टोपी लगाएको मान्छे देख्यौ ? याँ कतिवटा औँला छन् ?’ पवित्रा पनि खुसी पोख्न हतार थिइन् । फटाफट जवाफ फर्काइन्, ‘देख्यो नि, किन नदेख्नु ? टोपी कालो र फुस्रो छ, औला पाँचवटा छ, आँखा नदेख्दा अब मरिन्छ कि भन्ने लागेको थियो, संसार नै छैनजस्तो सोच हुन्थ्यो, छामछुम गर्दा–गर्दा भित्तामा ठोक्किन्थ्यो, अब त आफैँ हिँड्न पो सक्छु, घाम त कति उज्यालो रहेछ ।’
मोतीविन्दुले बन्द भएका आँँखा तीन वर्षपछि खुलेपछि उनको शरीरमा जोसजाँगर थपियो । आइतबार आँखा परीक्षण गर्दा बुहारीलाई लिएर आएकी पवित्रा ठमठमी हिँडेर फर्किइन् ।
फुङलिङकै ७२ वर्षीया नेप्टीमाया शेर्पाले पनि दुई वर्षदेखि दुवै आँखा देख्न छाडेकी थिइन् । घरबाहिर कतै निस्किँदा डोर्याइदिने सहारा चाहिन्थ्यो उनलाई । तर, सोमबार जीवन उल्टियो, डोर्याउने र बाटो देखाउने कोही चाहिएन । बाहिरी दुनियाँ देखेपछि उनले खुसी साँटिन्, ‘ओहो ! डाक्टरले त आँखा नै दिँदा रहेछन् ।’ उनी पनि रमाउँदै घर फर्किन् ।
उमेरले ९६ पुगेकी फुङलिङकै लीलादेवी पौडेलका दुवै आँखाले देख्न छाडेको एक वर्ष भएको थियो । उमेर ढल्कँदै गएपछि उनलाई लागेको थियो, अब त जीवन अन्धकारमै बित्छ । तर, जीवनको लय बदलियो । ‘मेरा कान त टाठै थिए, तर आँखाको ज्योति गुमेपछि धेरै गुमाएजस्तो हुने रहेछ । अहिले त सपनाझैँ लागिरहेको छ । कति राम्रो उज्यालो देखियो, मान्छेहरू कति राम्रा हुन् !’
फुङलिङ बजारनजिकै रहेको बालमन्दिर आधारभूत विद्यालयपरिसरमा सोमबार बिहानैदेखि चहकिलो घाम लागिरहेको थियो । विद्यालयको चउरमा राखिएका मेचमा बसेका थिए, आँखाको अप्रेसन गरेर पट्टी बाँधिएका १०७ जना बिरामी । आइतबार उनीहरूको शल्यक्रिया भएपछि सोमबार बिहान पट्टी खोल्न बोलाइएको थियो । घमाइलो बिहानीसँगै वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत र डा. सागर रुइतले उनीहरूको आँखाको पट्टी खोलिदिएका थिए । उनीहरूको आँखाको ज्योति फर्किँदा, पारिपट्टि टल्किरहेका हिमालले हेर्न आह्वान गरिरहेझैँ लाग्थ्यो ।
दुई दिनमा १८५ को शल्यक्रिया, मंगलबार पनि निरन्तरता
डा. सन्दुक रुइत र डा. सागर रुइतको टिमले आइतबार १०७ जनाको शल्यक्रिया गरेको थियो । सोमबार ७८ जनाको शल्यक्रिया भएको छ । मंगलबार पनि केहीको शल्यक्रिया हुनेछ । अघिल्लो दिन शल्यक्रिया गरेर भोलिपल्ट पट्टी खोलिन्छ ।
आइतबार र सोमबार गरी आँखा उपचार केन्द्रमा एक हजार चार सयभन्दा बढीको दृष्टि परीक्षण गरिएको छ । त्यसमध्ये वर्गीकरण गरेर आवश्यकको शल्यक्रिया गरिएको हो । शल्यक्रिया गर्नुपर्ने बिरामी थपिँदै गएपछि मंगलबार पनि निरन्तरता दिइने तिलगंगा आँखा अस्पतालका बाह्य कार्यक्रम अधिकृत महेश पराजुलीले बताए ।
बिरामीसँग रमाउँदै शल्यक्रिया गर्दै
आँखाको पट्टी खोल्दा सोमबार बिरामीको अनुहार जति उज्यालो थियो, त्यत्तिकै चमक थियो डा. रुइतको अनुहारमा पनि । उनी बिरामीसँग आत्मीयता साट्दै, भलाकुसारी गर्दै रमाइरहेका देखिन्थे ।
तिलगंगा आँखा अस्पतालको टिमले गत वर्ष पनि ताप्लेजुङमा आँखा शिविर र शल्यक्रिया गरेको थियो । त्यतिवेला १५४ जनाको मोतीविन्दुुको शल्यक्रिया गरिएको थियो । तर, यस वर्ष गत वर्षभन्दा धेरैको शल्यक्रिया गरिएको छ । यस वर्ष बिरामीको उल्लेखीय भिड रहेको आँखा उपचार केन्द्रका प्रमुख काजीमान गुरुङले जानकारी दिए । उनका अनुसार तिलगंगा आँखा अस्पतालबाट पुगेको उपचार टिम, सामुदायिक आँखा उपचार केन्द्र र नेत्रज्योति संघ ताप्लेजुङ शाखाको टिमले शनिबार बिहानदेखि परीक्षण थालेको थियो । तीनदिने आँखा परीक्षण तथा शल्यक्रियामा स्थानीयको उल्लेखीय उपस्थिति देखिएको उनले बताए ।
‘डा. रुइतको हातबाट शल्यक्रिया गराउन पाइने भएपछि बिरामीहरू धेरै आउनुभएको छ, कतिपय त मोतीविन्दुको समस्या दबाएर गाउँमै बस्नुभएको थियो, गाउँमै आयोजना भएको शिविरबाट उहाँहरूलाई ठुलो राहत मिलेको छ,’ गुरुङले भने ।
डा. सन्दुक रुइत भन्छन्–सबैले शल्यक्रियाको पैसा तिर्न सक्दैनन्, त्यसैले गाउँगाउँ पुगेर नि:शुल्क सेवा दिएका हौँ
हामीले जहाँ–जहाँ बिरामी छन्, त्यहीँ पुगेर सेवा दिन खोजिरहेका छौँ, मलाई पनि गाउँ–गाउँ र बिरामी भएको ठाउँमा पुग्न राम्रो लाग्छ । सबैले शल्यक्रियाका लागि पैसा तिर्न सक्दैनन्, यसका लागि रुइत फाउन्डेसनले पनि काम गरिरहेको छ । नेपालमा मोतीविन्दुबाट हुने अन्धोपना कम हुँदै गएको छ, नेपालमा मोतीविन्दुको शल्यक्रिया सहज भएको छ, उपचार सुलभ र सहज पनि छ ।
मोतीविन्दु हुन नदिन आँखाको ख्याल गर्नुपर्छ । मानिसको उमेर ढल्कँदै, कपाल फुल्दै जाँदा बिस्तारै कुहिरो लाग्दै जान्छ, एउटा चन्द्रमा तीन–चारवटाजस्तै देखिन्छ, आँखाअगाडि तुषारो परेजस्तै हुन्छ । उपचार समयमा नभए ६–७ वर्षमा मानिस अन्धो हुन्छ, यो उमेरले हुने रोग हो, त्यसकारण ठ्याक्कै निवारण भने सम्भव छैन । उमेरबाहेक मधुमेह, खानपान र प्रदूषणले मोतीविन्दु पनि हुन्छ । त्यस्तै पछिल्लो समय अत्यधिक मोबाइल तथा ग्याजेटले केटाकेटीको आँखामा असर गरेको छ ।