लीलावतीले १५ वर्षपछि फेरि संसार देखिन्

सोमबार, २ मंसिर, २०८२
डिजिटल संस्करण

फुङलिङ नगरपालिका– २ तीनबरेकी ९७ वर्षीया लीलावती पौडेलले १५ वर्षपछि पुनः संसार देखेकी छिन् । १५ वर्षअघि दुवै आँखाको ज्योति गुमाएर दिनरात एकनास ठानिरहेकी लीलावतीको अनुहारमा खुसी ल्याउने माध्यम बनेका छन् डा. सन्दुक रुइत र उनको टिम, तिलगंगा आँखा अस्पताल र नेत्रज्योति संघ ताप्लेजुङ । 

आँखा देख्ने भएपछि लीलावतीले भक्कानिँदै भनिन्, ‘बुहारीको इसाराविना चल्नै सक्दिनथेँ । अब फेरि संसार देख्न सक्ने भएकी छुँ ।’ आँखाको ज्योति फर्किएपछि आमा निकै खुसी भएको कान्छी बुहारी कमलाले बताइन् । 

फुङलिङ– ६ का पूर्णबहादुर भट्टराई पनि दुवै आँखा बन्द भएर बसेका धेरै वर्ष भएको थिए । शिविरमा अप्रेसनपछि आँखाको पट्टी खुल्नेबित्तिकै खुसीले गदगद् हुँदै डा. रुइतलाई ‘आँखाका भगवान्’ भन्दै धन्यवाद व्यक्त गरे । 

डाक्टर सन्दुक रुइत तथा उनका छोरा डा. सागर रुइतलगायत तिलगंगा आँखा अस्पतालको टोली, नेपाल नेत्रज्योति संघ ताप्लेजुङले २९ कात्तिकदेखि ताप्लेजुङमा निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । डा. रुइतको गृहजिल्लासमेत रहेको ताप्लेजुङमा सञ्चालित आँखा शिविरमा १३ सयभन्दा बढीको आँखा परीक्षण गरिएको छ । 

फुङलिङस्थित बालमन्दिर आधारभूत विद्यालयको मैदानमा एकैपटक शल्यक्रिया गरिएका बिरामीको पट्टी खोलिएको थियो । डा. सन्दुक रुइत तथा उनका छोरा डा. सागर रुइतको टोलीप्रति सबैले ताली र जयजयकारसहित कृतज्ञता व्यक्त गरेका थिए ।

डा. रुइत ताप्लेजुङकै फक्ताङलुङ– ७ ओलाङचुङगोलामा जन्मिएका हुन् । नेपाल नेत्रज्योति संघका अनुसार आइतबार मात्रै करिब १०७ जनाको, सोमबार ७९ शल्यक्रिया गरिएको छ । नेत्रज्योति संघ ताप्लेजुङका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार आइतबार र सोमबार एक हजार ३५५ जनाले शिविरबाट लाभ उठाएका छन् ।

सुझावित समाचार