मुग्लिन–पोखरा राजमार्ग सुधार : विजयपुर क्षेत्र १० दिनसम्म दैनिक चार घण्टासम्म अवरुद्ध हुने

सोमबार, २ मंसिर, २०८२
डिजिटल संस्करण

स्तरोन्नतीको काम हुदै गरेको मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजनाअन्तर्गतको पश्चिम खण्डमा १० दिनसम्म दैनिक चार घण्टा पूर्ण/आंशिक बन्द हुने भएको छ ।

आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरका अनुसार पोखरा–२६ विजयपुरस्थित खेलामा निर्माणहुँदै गरेको दुई लेनको पुलमा गर्डरहरू राख्ने कामका लागि मंगलबारदेखि १० दिनसम्म दैनिक चार घण्टा पूर्ण/आंशिक बन्द हुने भएको हो । सडक खण्ड स्तरोन्नती तिव्र रुपमा भैरहेको उनले जानकारी दिए ।

मंगलबारदेखि दैनिक बिहान दुई र दिउँसो दुई घण्टा पोखरादेखि विजयपुर हुँदै तालचोक जाने र सोही रुट हुँदै आउने सवारीसाधनलाई पूर्ण/आंशिक रुपमा बन्द (अवस्था हेरि प्रत्येक ३० मिनेटमा लाइन लागेका ट्राफिकलाई क्लियर गर्न सकिने) गरि निर्माण गर्नुपर्ने भएको कुँवरले बताए ।

बन्द हुने मिति र समय
बाटो मंगलबार अर्थात २ मंसिरदेखि ११ मंसिरसम्म दैनिक बिहान ६ देखि ८ बजेसम्म र दिउँसो १२ देखि २ बजे सम्म पूर्ण/आंशिक रुपमा बन्द (अवस्था हेरि प्रत्येक ३० मिनेटमा लाइन लागेका ट्राफिकलाई क्लियर गर्न सकिने) गरि निर्माण गरिने भएको हो ।

यस्ता छन् वैकल्पिक रुटहरू
पोखरादेखि विजयपुर हुँदै तालचोक जाने र सोहि रुट हुँदै आउने सवारीसाधनलाई सो समय वैकल्पिक बाटो प्रयोग गर्न आयोजनाले अनुरोध समेत गरेको छ । जसका लागि दुईपांग्रे तथा साना सवारीसाधनले अर्घौचोक वा बुढीबजार चोकबाट बेलचौतारा हुँदै चाउथे निस्कने र सोही रुट हुँदै जाने बाटो प्रयोग गर्न आयोजनाले भनेको छ । ठूला सवारीसाधनको लागि पावरहाउसचोकदेखि बौमारा हुँदै बिरौटा जान आउन सकिने भएकाले सोहीअनुसार गर्न आयोजनाले अनुरोध गरेको छ ।
 

सुझावित समाचार