एनसेल फाउन्डेसनले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को प्रत्येक चौकाबापत चार वटा शैक्षिक सामग्री प्रदान गर्ने भएको छ।
एनसेलले व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको हो। गत वर्ष एनपिएलसँगको साझेदारीअन्तर्गत दुई हजार ६१२ विद्यार्थी लाभान्वित भएकाले यस वर्ष पनि एनसेल फाउन्डेसनले यो साझेदारीलाई निरन्तरता दिएको जनाएको छ।
गत वर्ष एनपिएलका खेलहरूमा कुल ६५३ चौका हानिएका थिए। सोसहित एनसेलले देशभरका नौ हजारभन्दा बढी विद्याथीहरुलाई शैक्षिक सामग्री वितरण गरिसकेको छ।
विद्यार्थीहरुले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुने बताइएको छ। यसले स्रोतको अभाव घटाउन सहयोग गर्ने र विद्यार्थीहरूको पठनपाठनमा योगदान पुग्ने एनसेलले जनाएको छ।