निर्वाचनमा विद्यालय र बालबालिकालाई प्रयोग नगर्न आयोगको ध्यानाकर्षण

सोमबार, २ मंसिर, २०८२
डिजिटल संस्करण

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले आगामी निर्वाचनमा विद्यालय र बालबालिकालाई प्रयोग नगर्नका निम्ति निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई ध्यानाकर्षण गराएको छ।

सन् २००० देखि नै बालअधिकारको संरक्षण र सम्बर्द्धनमा काम गर्दै आइरहेको सन्जालले आगामी फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रबिन्दुमा राखी बालबालिकासम्बन्धी ऐन, निर्वाचन आचारसंहिता, राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई समेत आधार मानी कुनै पनि राजनीतिक पार्टीले १८ वर्षभन्दामुनिका बालबालिकालाई निर्वाचनका कुनै पनि गतिविधिहरुमा सहभागी नगराउने भन्ने व्यवस्थालाई प्रभावकारी अनुगमनको निम्ति आयोगलाई अनुरोध गरेको हो।

सन्जालका अध्यक्ष तिलोतम पौडेलको नेतृत्वमा गएको टोलीले कार्यबाहक प्रमुख निर्वाचन आयुक्तलाई भेटी ध्यानाकर्षण गराएको हो। कार्यवााहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनको आचारसंहिताभित्र रहेर बालबालिकाको प्रयोग हुन नदिनेतर्फ आयोग सचेत रहेको र कुनै पनि राजनीतिक दलले विद्यालय र बालबालिकालाई प्रयोग गर्न नहुने बताउँदै नागरिक संघसंस्थाहरूबाट निर्वाचनलाई सफल पार्न योगदानको अपेक्षा रहेको बताए।

विगतको तुलनामा यसपटक अझै बालबालिकाको निर्वाचनमा प्रयोग हुन नदिन प्रभावकारी अनुगमन गर्ने बताउँदै उनले यसमा राजनीतिक पार्टी र सबै सरोकारवालाहरूले समेत सहयोग गर्नुपर्ने प्रष्ट पारे।

सुझावित समाचार