नेपाल बैंकको ८९औँ वार्षिकोत्सव समारोह सम्पन्न

सोमबार, २ मंसिर, २०८२
डिजिटल संस्करण

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९औँ वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ। आइतबार आफ्नो ८८औँ वर्ष पूरा गरी ८९औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालयको प्रांगणमा आयोजित वार्षिकोत्सव समारोहको अध्यक्षता बैंकका सञ्चालक समिति अध्यक्ष प्रा. डा. डिल्लीराज शर्माले गरेका थिए।

कार्यक्रममा २५ वर्ष अटुट सेवा गर्ने तीनजना तथा २० वर्ष सेवा गर्ने ५३ जना कर्मचारीलाई पदक तथा प्रशंसापत्र प्रदान गरिएको थियो। त्यसैगरी, सुरक्षा स्थितिको प्रतिकूल अवस्थामा पनि बैंकको सुरक्षा मजबुत गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गौरादह शाखा र नयाँ बानेश्वर शाखाका सुरक्षकहरूलाई पुरस्कृत गरिएको थियो।

उक्त कार्यक्रममा प्रादेशिक तथा भौगोलिक वर्गगत रूपमा उत्कृष्ट उपलब्धि हासिल गरेका १२ शाखालाई समेत पुरस्कृत गरिएको थियो।

सभाका अध्यक्षले बैंकमा कर्मचारी वर्गलाई आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्न आग्रह गर्दै सबैले आ–आफ्ना अधिकार क्षेत्रभित्र रहेर उच्च मनोबल तथा इमानदारीसाथ कार्यक्षेत्रमा लाग्न प्रेरित गरे।

नेपालभर २३१ शाखा, २३७ एटिएम साथै ६१ वटा एक्सटेन्सन काउन्टरको सञ्जालमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ।

करिब १० लाख ग्राहकले डिजिटल प्रविधिमार्फत बैंकिङ सेवा लिई लाभान्वित भएका छन्। विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तमार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ। 
 

सुझावित समाचार