बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रमा हुने सबै प्रकारका सामग्री तथा सेवाको खरिद तत्काल प्रभावबाट कोटेसन प्रणालीमार्फत नगर्न निर्देशन दिएका छन् । आइतबार हेटौँडामा सुरु भएको प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले अबदेखि सबै खरिद टेन्डर प्रक्रियामार्फत मात्र गर्नुपर्ने व्यवस्था लागू गरिएको बताए ।
मन्त्री थापाले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि बिचौलियाको प्रभाव, मनपरी मूल्य निर्धारण र अपारदर्शी प्रक्रियाका कारण सरकारी स्रोत–साधन दुरुपयोग भइरहेको भन्दै सुधारका लागि मन्त्रालयले ‘शून्य सहनशीलता’ नीति अपनाएको बताए । उनका अनुसार अब कुनै पनि मातहत संस्था, अस्पताल, स्वास्थ्य कार्यालय वा तालुकदार निकायले मन्त्रालयको पूर्वस्वीकृतिविना कोटेसनबाट सामान किनेको पाइए तुरुन्तै कारबाही गरिनेछ ।
‘अबदेखि मन्त्रालयमातहतका कुनै पनि निकायले कोटेसनबाट सामग्री खरिद गर्न पाउने छैन,’ मन्त्री थापाले भने, ‘अत्यावश्यक अवस्थाको औचित्य प्रमाणित गरी मन्त्रालयबाट अनुमति लिएपछि मात्र अपवादस्वरूप निर्णय लिन सकिनेछ । निर्देशनविपरीत कार्य गर्ने अधिकारी आफैँ कारबाहीको भागीदार बन्नेछ ।’
मन्त्री थापाले तीनै तहका सरकार संघीय, प्रदेश र स्थानीयबिच प्रभावकारी समन्वय नहुँदा धेरै स्वास्थ्य कार्यक्रम दोहोरो बन्ने र कार्यान्वयनमा समस्या देखिने गरेको बताए । संघीय सरकारबाट बजेट पठाउन ढिलाइ हुँदा सेवा विस्तारमा असर परेको उल्लेख गर्दै उनले स्वास्थ्य क्षेत्रलाई एकीकृत र व्यवस्थित बनाउनेतर्फ प्रदेश सरकार केन्द्रित भएको उनको भनाइ थियो ।
मन्त्री थापाले काठमाडौं, ललितपुर, भक्तपुर र चितवनमा धेरै निजी अस्पताल, पोलिक्लिनिक र डेन्टल क्लिनिक दर्ता तथा नवीकरण नगरी सञ्चालन भइरहेको उल्लेख गर्दै मन्त्रालयले त्यसतर्फ कडाइ गर्ने दाबी गरे । दर्ता नवीकरण नगरेका संस्थाको सूची संकलन गरी आवश्यक कारबाही अघि बढाउन जनस्वास्थ्य कार्यालय प्रमुखहरूलाई निर्देशनसमेत दिए ।
प्रदेश सरकारले स्वास्थ्य शिक्षामा पहुँच विस्तार गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत एमबिबिएस, एमडी, बिएस्सी नर्सिङलगायतका कार्यक्रम सञ्चालन गरिरहेको मन्त्री थापाले बताए। आयुर्वेदिक तथा वैकल्पिक उपचार प्रणालीलाई पनि प्राथमिकताका साथ अगाडि बढाइने उनले बताए ।