३८ नयाँ दल उदाए

नयाँ ६ दल दर्ता भइसके, ३२ निवेदन दिएर दर्ताको चरणमा निर्वाचनमा भाग लिन चाहने पुराना–नयाँ सबै दलले अब १० दिनभित्र गर्नुपर्नेछ ‘निर्वाचन प्रयोजनका लागि दल दर्ता’

सोमबार, २ मंसिर, २०८२
डिजिटल संस्करण

चुनाव घोषणाअघि निर्वाचन आयोगमा दर्ता दल संख्या १२२ थिए । २१ फागुनका लागि प्रतिनिधिसभाको निर्वाचन घोषणासँगै जुटफुटका क्रममा केही खारेज भए, केही ब्युँताइए । आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिने समयावधि सकिँदासम्म ६ दल दर्ता हुँदा कुल दल १२३ पुगेका छन् । साथै निवेदन दिएका ३२ दल दर्ताको चरणमा रहेकाले दलको संख्या १५५ सम्म पुग्न सक्ने देखिन्छ । 

दल दर्ता भएर मात्रै निर्वाचनमा सहभागी हुने ढोका भने खुल्दैन । पुराना र नयाँ सबै दलले ‘निर्वाचन प्रयोजनका लागि गरिने दल दर्ता’मा पनि सहभागी हुनुपर्नेछ । यसका लागि निर्वाचन आयोगले सोमबारदेखि १० दिन (मंसिर १ देखि १० गते) समय तोकेको छ । 

आयोगको कानुन तथा राजनीतिक महाशाखाका अनुसार हर्क साम्पाङको श्रम संस्कृति पार्टी, नेपाल जनमुक्ति पार्टीबाट फुटेको राष्ट्रिय जनमुक्ति पार्टी, वीरेन्द्र बस्नेतको पहलमा गठन भएको गतिशील लोकतान्त्रिक पार्टी, रेशम चौधरी संस्थापक र कविर सोव अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रचण्ड र माधव नेपालको नेपाली कम्युनिस्ट पार्टी, राजेश प्रतेलको राष्ट्रिय परिवर्तन पार्टी दर्ता भएका हुन् ।

त्यस्तै, सिके राउतको जनमतबाट विभाजन भएको जनस्वराज पार्टी निर्वाचन घोषणापछि दर्ता भए पनि अदालतले खारेज गरिदिएको छ । साथै, माओवादीसँग एकीकरण गरेको नेकपा संयुक्तलाई अदालतले हालै ब्युँताइदिएको छ । जनस्वराजसँगै सातवटा दल खारेज भएका छन् ।

जसमा नेपाली कम्युनिस्ट पार्टीमा गाभिएका माओवादी, समाजवादीसहित पाँच दल छन् भने वामदेव गौतमको पार्टी नेकपा एकीकरण अभियान पनि छ । यसरी सात दल थपिएकामा सातवटै खारेज हुँदा अदालतले ब्युँताइदिएको नेकपा संयुक्तसहित दलको संख्या १२३ पुगेको हो । अब दर्ताको चरणमा रहेका ३२ दल थपिएपछि कुल दल संख्या १५५ पुग्ने भएका हुन् ।

महाशाखाका अनुसार कुलमान घिसिङ संरक्षक र अनुपकुमार उपाध्याय संयोजक रहेको उज्यालो नेपाल पार्टी, गोपीलाल न्यौपानेको नेपाल लिभरल पार्टी, नेत्रविक्रम चन्द (विप्लव)को कम्युनिस्ट पार्टी नेपाल, पूर्वराजदूत नवराज सुवेदीको जनयुग पार्टी, खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल, हिमालयबहादुर चन्दको नेपाल राष्ट्रिय युवा पार्टी र योगेन्द्र मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी नेपाल दर्ताको चरणमा छन् । त्यस्तै, चन्द्रप्रकाश सुवेदीको सुन्दर नेपाल निर्माण पार्टी, सविन सिग्देलको प्रगतिशील नागरिक पार्टी, रत्नप्रसाद श्रेष्ठको नागरिक सर्वाेच्चता पार्टी नेपाल, रियाज अहमद शेषको राष्ट्रिय जनमत पार्टी, राजकुमार कक्षपतिको नेकपा (वामपन्थी केन्द्र) र सुन्दरराम बोहराको आवाज पार्टी पनि दर्ताकै प्रक्रियामा छन् ।

गणेशकुमार मण्डलको सार्वमौम नागरिक पार्टी, माधवप्रसाद खतिवडाको नागरिक बचाउ दल नेपाल, अकबर खानको राष्ट्र निर्माण दल नेपाल, रमनकुमार कर्णको जनादेश पार्टी नेपाल, प्रशान्त सिंहको पिपुल फस्र्ट पार्टी, प्रशान्त आचार्यको नेपाली प्रथम पार्टी, अशोककुमार यादवको जनता लोकतान्त्रिक पार्टी नेपाल, सन्दीप उप्रेतीको राष्ट्रिय स्वाभिमान पार्टी नेपाल, नुमा लिम्बूको समावेशी समाजवादी पार्टी, टीकाराम पुरीको राष्ट्रिय गौरव पार्टी र जीवन लिम्बूको एकता नेपालले पनि निवेदन दिएकामा केही दिनमै दर्ता हुनेछन् ।

त्यस्तै, किशोरी कार्कीको नवनिर्माण, दीपककुमार साहको सर्वाेदय पार्टी, सत्यवानकुमार सिंहको स्वाभिमान पार्टी, लक्ष्मीप्रसाद खतिवडाको राष्ट्रिय सनातन पार्टी नेपाल, राजाबाबु यादवको समुन्नत नेपाल पार्टी, शरदसिंह यादवको जनअधिकार पार्टी, काजल अधिकारीको न्यु नेसनलिस्टपार्टी र शम्भु पोखरेलको उदार लोकतान्त्रिक पार्टी पनि दर्ता प्रक्रियामै छन् । 

जेन–जी आन्दोलनअघि पनि नौवटा दल दर्ताका लागि आयोगमा निवेदन आएका थिए । जसमा मंगोल नेसनल अर्गनाइजेसन डा. गोपाल गुरुङको, किराँत मोर्चा नेपाल, नेपाल गाउँसहर जागरण दल, स्वतन्त्र युवा पार्टी, नेपाल समृद्धि पार्टी, विद्यार्थी शक्ति अभियान पार्टी, रामराज्य परिषद्, अखिल नेपाल हिन्दु महासभा र नेपाली पार्टी छन् ।

 निर्वाचनमा सहभागी हुन पुराना र नयाँ सबै दलले १० दिनभित्र गर्नुपर्छ ‘निर्वाचन प्रयोजनका लागि दर्ता’
दल दर्ता भएर मात्रै निर्वाचनमा सहभागी हुने ढोका खुल्दैन । पुराना र नयाँ सबै दलले ‘निर्वाचन प्रयोजनका लागि गरिने दल दर्ता’मा पनि सहभागी हुनुपर्नेछ । यसका लागि निर्वाचन आयोगले सोमबारदेखि १० दिन (मंसिर १ देखि १० गते) समय तोकेको छ । ‘निर्वाचन प्रयोजनका लागि मंसिर १ देखि १० गतेसम्म दल दर्ता गर्ने समय तोकिएको छ ।

निर्वाचनमा भाग लिने दलले यो समयभित्र दर्ता गराउनुपर्नेछ,’ आयोगको कानुन तथा राजनीतिक महाशाखा प्रमुख सहसचिव यज्ञ भट्टराईले भने, ‘नयाँ दल दर्ताका लागि त जहिले पनि निवेदन दिन मिल्छ । तर, २१ फागुनको निर्वाचनमा भाग लिने हो भने १० मंसिरभित्र दर्ता प्रमाणपत्र लिएर चुनावी दर्ताका लागि आवेदन दिइसक्नुपर्छ ।

यसबिचमा कसैले सबै प्रक्रिया पुर्याएर नयाँ दर्ताको प्रमाणपत्र लगेर दल दर्ता हुन आयो भने चुनावमा भाग लिन पाउँछ ।’ महाशाखाका अनुसार ०७९ को चुनावका वेला ११९ दलमध्ये ८७ दलले मात्रै चुनावी प्रयोजनका लागि दल दर्ता गरेका थिए । त्यसमा पनि प्रत्यक्षतर्फ ६८ दल र समानुपातिकतर्फ ४७ दलले मात्रै भाग लिएका थिए । 

समानुपातिकतर्फ १३ पुस र प्रत्यक्षतर्फ ६ माघमा उम्मेदवारी दिनुपर्ने
 यस्तो छ कार्यतालिका
समानुपातिकतर्फ

  • २१ मंसिरको बिहान १० बजेदेखि २३ मंसिरको ४ बजेसम्म दलहरूको निवेदन पेस
  • २४ मंसिरमा १० देखि ४ बजेसम्म दलहरूको नामावली प्रकाशन
  • १३ र १४ पुसको १० देखि ४ बजेसम्म दलहरूले उम्मेदवारको बन्दसूची पेस 
  • २० पुसको १० देखि ५ बजेसम्म उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन 

प्रत्यक्षतर्फ

  • ६ माघको १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता, सोही दिन बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन
  • उम्मेदवारको विरोधमा उजुरी दिने अवधि ७ माघको १० देखि ३ बजेसम्म, सोही दिनको दिउँसो ३ बजेदेखि ८ माघको बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन 
  • ९ माघको १० देखि १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय, १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ४ देखि ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान
See More On

सुझावित समाचार