सप्तरीका युवाहरुले नेपाल खानेपानी संस्थान राजविराज शाखा कार्यालयमा तालाबन्दी गरेका छन् । जेन–जी अगुवा मोहम्मद मुस्तकिम आलम नेतृत्वमा पुगेका युवाहरूले दरबन्दीअनुसार कार्यालय प्रमुख हुनुपर्ने माग राख्दै आइतबार खानेपानी संस्थानको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
०८१ भदौमा ८औं तहका कार्यालय प्रमुखको सरुवा भएपछि राजाराम यादवले निमित्तको जिम्मेवारी पाएका थिए । निमित्त यादवलाई पर्साको वीरगन्ज सरुवा गरेर पुनः सोही तहका दीपेन्द्र देवलाई निमित्त प्रमुखको जिम्मेवारी दिँदा युवाहरू आन्दोलनमा उत्रिएका हुन् ।
खानेपानी संस्थानलाई कमजोर गर्ने खेल भइरहेकोले यसको सुधारका लागी दबाबस्वरूप कार्यालयमा तालाबन्दी गरेको जेन–जी अगुवा आलमले बताए ।
दरबन्दीअनुसार कार्यालय प्रमुख हुनुपर्नेमा ५औँ तहलाई सरुवा गरेर पुनः ५औँ तहकै कर्मचारीलाई प्रमुखको जिम्मेवारी दिइएको उनले बताए । उनले भने, ‘हामी सरुवाको विरोधी होइन, तर दरबन्दीअनुसार कर्मचारी त हुनुपर्छ नि। यहाँ ठुलो चलखेल भएको छ । त्यसैलाई रोक्न हामी आन्दोलनमा उत्रिएका छौँ।’
पहुँचको आधारमा कर्मचारी फेरबदल हुँदा नगरबासीले मार खेप्नुपरेको उनको कथन छ ।
कोही १८ वर्षदेखि डेरा जनाएर बस्ने र कार्यालय तथा जनहितको पक्षमा काम गर्ने कर्मचारीलाई सरुवा गर्नुमा ठुलो चलखेलबाट भएको बताउँदै उनीहरूले शान्तिपूर्ण रूपमा माग सम्बोधन नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । यसअघि युवाहरूले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत शुक्रबार नेपाल खानेपानी संस्थान त्रिपुरेश्वर काठमाडौंलाई ज्ञापनपत्र बुझाउँदै आन्दोलनको चेतावनी दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलमार्फत नेपाल खानेपानी संस्थानका महानिर्देशकलाई पठाइएको ज्ञापनपत्रमा कार्यालय प्रमुख राजाराम यादवलाई यथावत राख्न माग गरिएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा जनभावनाविपरीत गतिविधि गरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको थियो ।