मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ कर्मचोकदेखि वडा कार्यालयसम्मको सडक गाउँपालिकाका अध्यक्षले व्यक्तिगत लगानीमै स्तरोन्नति गरिदिने भएका छन् । गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले व्यक्तिगत खर्चमा ६ मिटर चौडा र करिब दुई सय मिटर लम्बाइको सडकमा स्ल्याब ढलान गरिदिने भएका हुन् । शनिबार प्राविधिक टोलीमार्फत सडकको जाँचसहित लागत स्टिमेट तयार पारिएको छ ।
स्टिमेटअनुसार स्ल्याब ढलानका लागि करिब २० लाख रुपैयाँ खर्च हुने अध्यक्ष कालाखेतीले बताए । औपचारिक कार्यक्रममार्फत जानकारी दिँदै अध्यक्ष कालाखेतीले केही दिनभित्रै उक्त सडक स्तरोन्नतिको काम सुरु हुने बताए । जेन–जी आन्दोलनपछि गाउँपालिकामा देखिएको भौतिक क्षति र बजेट कटौतीका कारण विकास आयोजनाहरू प्रभावित भएपछि स्थानीयको आवश्यकता र मागलाई बुझेर व्यक्तिगत लगानीमै सडक बनाउने निर्णय गरिएको अध्यक्ष कालाखेतीले स्पष्ट पारे । ‘धुलो र प्रदूषणका कारण टोलवासीलाई धेरै समस्या थियो । तत्काल समाधान आवश्यक भएकाले आफ्नै लगानीमा काम सुरु गर्न लागेका हौँ,’ अध्यक्ष कालाखेतीले भने । उनले जनप्रतिनिधि बनेदेखि सरकारी सवारी सेवा–सुविधा नलिएको र प्राप्त तलब–भत्तासमेत जनतामै खर्च गर्दै आएको बताए ।
कालाखेतीले आफ्नो तलब–भत्ताबाट मनहरी– ५ मा एक विपन्न परिवारको घर निर्माण गरिदिएका छन् । मनहरी– ६ मा अर्को घर निर्माणकार्य भइरहेको छ । यस्तै, विपन्न बालबालिकाका लागि छात्रवृत्ति तथा पोसाकमा समेत उनले निजी रकम खर्च गर्दै आएका छन् ।