गण्डकी प्रदेश सभाको चालू अधिवेशन अन्त्य : गाँजाखेतीसम्बन्धी विधेयक सम्बन्धित समितिमा पठाइयो

आइतबार, १ मंसिर, २०८२
डिजिटल संस्करण

गण्डकी प्रदेश सभाको चालू अधिवेशन शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य भएको छ । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको चालू आठौँ अधिवेशन अन्त्य गरेका हुन् । उपसभामुख विनाकुमारी थापाले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्र वाचन गरेकी थिइन् । 

चालू अधिवेशन अन्त्य हुनुपूर्व शुक्रबार बसेको बैठकले गण्डकी विश्वविद्यालय (पहिलो संशोधन) विधेयक, २०८२ लाई दफावार छलफलपछि पारित गरेको थियो । साथै, गाँजाखेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो । 

प्रदेश सरकारका तर्फबाट सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले विश्वविद्यालयको संशोधन विधेयक पारित गर्नेसम्बन्धी प्रस्ताव बैठकमा पेस गरेका थिए । गण्डकी विश्वविद्यालय ऐन, २०७६ लाई समयअनुकूल सुधार गर्ने उद्देश्यले तयार गरिएको विश्वविद्यालयको संशोधन विधेयकमा विश्वविद्यालयको नेतृत्व चयन, न्यायिक परिषद्को संरचना र पदाधिकारी नियुक्ति प्रक्रियामा केही हेरफेर गरिएको छ ।

संशोधनपछि अब न्यायिक परिषद् १५ सदस्यीय रहनेछ । परिषद्मा कुलपति, उपकुलपति, स्थानीय तहका प्रमुख, प्रदेशका विभिन्न मन्त्रालयका सचिव, विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधि, समाजसेवी, प्राज्ञिक, लगानीकर्ता, प्रतिष्ठित व्यक्तिहरू रहने र जसमा पाँचजना महिला सदस्य रहनुपर्ने व्यवस्था अनिवार्य गरिएको छ । रजिस्ट्रार परिषद्का सचिव रहनेछन् ।

कुलपति नियुक्तिका लागि आवश्यक योग्यतामा संशोधन गर्दै ४५ वर्ष उमेर पूरा गरेको, विद्यावारिधि गरेको, प्राज्ञिक वा प्रशासनिक वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव प्राप्त गरेको न्यूनतम योग्यताको व्यवस्था गरिएको छ । उपकुलपति पदका लागि ४० वर्ष उमेर पूरा गरेको, विद्यावारिधि गरेको, प्राज्ञिक क्षेत्रमा कम्तीमा आठ वर्ष अनुभव हासिल गरेको हुनुपर्ने न्यूनतम योग्यताको व्यवस्था गरिएको छ । संशोधन विधेयकमा उपकुलपतिलाई पदमुक्त गर्ने अधिकारसम्बन्धी प्रावधान थप गदै कुलपतिलाई पदमुक्त गर्दा अपनाइने समान प्रक्रिया प्रयोग गरी मुख्यमन्त्रीले उपकुलपतिलाई पनि पदमुक्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

रजिस्ट्रार नियुक्तिका लागि सिफारिस गर्न न्यासिक परिषद्ले उपकुलपतिको संयोजकत्वमा तीनसदस्यीय एक समिति गठन गर्नेछ । समितिले रजिस्ट्रार नियुक्त हुन योग्य तीनजनाको नाम कुलपतिसमक्ष सिफारिस गर्ने र त्यसरी सिफारिस भएका व्यक्तिहरूमध्ये एकजनालाई कुलपतिले रजिस्ट्रारको नियुक्ति गर्ने व्यवस्था गरिएको छ ।

सुझावित समाचार