सल्यानमा पौने दुई अर्बको आलु उत्पादन

शनिबार, ३० कार्तिक, २०८२
डिजिटल संस्करण

सल्यानमा गत आर्थिक वर्ष ०८१/८२ मा पौने दुई अर्बबराबरको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे गरी दुई याममा आलुखेती हुने सल्यानमा गत वर्ष ५२ हजार तीन सय ५१ मेट्रिकटन आलु उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । यसको मूल्य एक अर्ब ७१ करोड २४ लाखबराबर हुन आउँछ । 

उत्पादन भएकोमध्ये आठ हजार आठ सय ६४ मेट्रिकटन आलु जिल्लाबाहिर बिक्री भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी चिरञ्जीवी श्रेष्ठले जानकारी दिए, जसबाट किसानले २९ करोड रुपैयाँ कमाइ गरेका छन् । बाँकी आलु जिल्लामा नै खपत भएको उनको भनाइ छ । उनले भने, ‘विगतमा तरकारीका लागि मात्र सीमित ठाउँमा लगाइने आलुको व्यावसायिक खेतीसँगै क्षेत्रफल बढेपछि आलु उत्पादन वृद्धि हुन थालेको छ । एक अर्ब ७१ करोडको आलु उत्पादन हुने भए पनि धेरै आलु जिल्लाभित्र नै खपत हुने गर्छ ।’ 

जिल्लाका १० स्थानीय तहमा दुई हजार सात सय पाँच हेक्टर क्षेत्रफलमा बर्खे र एक हजार सात सय ३० हेक्टर क्षेत्रफलमा हिउँदे गरी चार हजार चार सय ३५ हेक्टर जमिनमा आलुखेती हुँदै आएको छ । ३२ हजार ६५ मेट्रिकटन बर्खे र २० हजार दुई सय ५० मेट्रिकटन हिउँदे आलु उत्पादन भएको सूचना अधिकारी श्रैष्ठको भनाइ छ । जिल्लामा उत्पादन भएको आलु पोखरा, काठमाडाैं, नेपालगन्ज, दाङ, सुर्खेतलगायतका जिल्लामा बिक्री हुन्छ । 

See More On

सुझावित समाचार