दुई वर्ष बित्दा पनि १६ सय भूकम्पपीडितले पाएनन् पहिलो किस्ता

शुक्रबार, २९ कार्तिक, २०८२
डिजिटल संस्करण

जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि सल्यानका भूकम्पपीडितले पहिलो किस्ताको रकम पाउन सकेका छैनन् । अस्थायी आवास निर्माणका लागि संघीय सरकारले उपलब्ध गराउने पहिलो किस्ताबापतको रकम पीडितले पाउन नसकेको गुनासो गरेका हुन् । 

जिल्लाका चार हजार तीन सय ६४ लाभग्राहीमध्ये दार्मा गाउँपालिकाका १६ सय ९२ लाभग्राहीले पहिलो किस्ताको रकम पाएका छैनन् । दार्मा गाउँपालिकामा भूकम्पपीडित चार हजार ७४ घरधुरी लाभग्राही पहिचान भई विपत् पोर्टलमा प्रविष्ट भइसकेको गाउँपालिकाले जनाएको छ । तीमध्ये हालसम्म दुई हजार तीन सय ८२ जनाले मात्र पहिलो किस्ताको रकम पाएका छन् । दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीका अनुसार पहिलो किस्ता पाउन बाँकी लाभग्राही तथा दोस्रो किस्ताको भुक्तानी पर्खिरहेका सबै चार हजार ७४ घरपरिवारका लागि करिब १४ करोड २३ लाख आवश्यक छ ।

१७ कात्तिक ०८० को राति गएको जाजरकोट भूकम्पले सबैभन्दा बढी दार्मा गाउँपालिकामा क्षति गरेको थियो । बागचौर नगरपालिकामा एक सय ५४, कुमाख गाउँपालिकामा एक सय २४ र त्रिवेणी गाउँपालिकामा १२ घरमा क्षति गरेको थियो । 

भूकम्प गएको दुई वर्ष बितिसक्दासमेत कुनै निकायले एक रुपैयाँ पनि सहयोग नगरेको दार्मा गाउँपालिकाका भूकम्पपीडित हर्कु खत्रीले बताए । उनले भने, ‘आ–आफ्नालाई पैसा बाँडे, तर मैले अहिलेसम्म पनि रकम पाउन सकेको छैन ।’ 

जिल्ला विपत् व्यवस्थापन समिति सल्यानले भूकम्प गएका अन्य पालिकामा कम लाभग्राही भएका कारण पहिलो किस्ताबापतको रकम वितरण गरेको र दार्मामा रकम अपुग भएको जनाएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले पहिलो र दोस्रो किस्ता पाउन बाँकी रहेका लाभग्राहीका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागमा पत्राचार गरेको बताए । अहिले पनि दार्माका धेरै पीडितहरू अस्थायी टहरामा वा क्षतिग्रस्त घरमा बस्न बाध्य छन् । 

वर्षा, गर्मी र चिसो समयमा उनीहरू विभिन्न स्वास्थ्य समस्याले ग्रस्त भएका छन् । राहत र पुनर्निर्माण कार्यमा भइरहेको ढिलाइका कारण स्थानीय पीडित थप जोखिममा परेका छन् । भूकम्पपीडित अझै खुला आकाशमुनि बस्न बाध्य छन् ।

सुझावित समाचार