कोशी प्रदेश सभामा विपक्षी दलका नेताले प्रयोग गर्दै आएको जिपको ठक्करबाट घाइते भएका मोटरसाइकलचालकको मृत्यु भएको छ ।
प्रमुख विपक्षी दल माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रयोग गर्दै आएको जिपले मोरङको ग्रामथान गाउँपालिका–५, कखरमारीमा मोटरसाइकललाई ठक्कर दिँदा चालक ३५ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको हो । दुर्घटनाका वेला जिपमा नेता आङ्बो सवार थिएनन् । उक्त जिप आङ्बोका स्वकीय सचिव गम्भीरमान सार्कीले चलाएका थिए ।
विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको को१झ ६५० नम्बरको स्कार्पियो जिपले ग्रामथान–५ कखरमारीमा आज बिहान ११ बजेतिर को९प ७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो । उपचारकै क्रममा चौधरीको मृत्यु भएको हो ।
नेता आङ्बोलाई लिन विराटचोकतर्फ जाँदै गर्दा जिप दुर्घटनामा परेको हो। मोरङ प्रहरीले गाडीका चालक र स्कार्पियोलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
आफूले प्रयोग गर्दै आएको गाडीको ठक्करले मृत्यु भएका चौधरीलाई क्षतिपूर्ति दिलाउने र कानुनी अनुसन्धानमा सहयोग गर्ने नेता आङ्बोले बताएका छन्।