कालीकोटकाे नरहरिनाथ गाउँपालिका– १ मा रहेको कोटवाडा विमानस्थल सञ्चालनमा पहल थालिने भएको छ । विमानस्थल निर्माण भएको लामो समयदेखि नियमित सञ्चालनमा नभएको कोटवाडा विमानस्थल सञ्चालनमा पहल थालिने भएको हो । विमानस्थल निर्माण हुन ३८ वर्ष लागेको थियो भने निर्माण सम्पन्न भएको चार वर्षसम्म नियमित सञ्चालनमा आउन सकेको छैन । त्यहाँका नागरिकले विमानस्थल नियमित सञ्चालनको माग गर्दै आएका छन् ।
०७३ माघ २९ मा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले धावनमार्गमा परीक्षण उडान गराएका थिए । त्यसपछि ०८० फागुन १४ मा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उद्घाटन गरेका थिए । सो अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्रीद्वय महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीलगायत उपस्थित रहेका थिए । जम्बो टोलीले उद्घाटन गरेको विमाननस्थल हालसम्म पनि नियमित सञ्चालन हुन सकेको छैन ।
विमानस्थल नियमित सञ्चालन नहुँदा समस्या भएको त्यहाँको आवश्यकताअनुसार नियमित सञ्चालनका लागि पहल थालिएको अहिले त्यसमा केही समस्या आएको प्रदेश सभा सांसद हिक्मतबहादुर विष्टले बताए । ‘केही राजनीतिक परिवर्तन वा अन्य कारणले नियमित उडानमा समस्या भएको छ,’ उनले भने, ‘नियमित उडानका लागि पहल थालिनेछ ।’
विमानस्थल बने पनि त्यहाँ पुग्ने पक्की सडक, कालीकोटको सदरमुकाम मान्मबाट कोटवाडा जोड्ने केबुलकार निर्माण भएपछि मात्र विमानस्थल पुग्न सहज हुने भएकाले त्यसका लागि आफूले निकै पहल गरेको र त्यो कामका लागि वर्तमान स्थानीय सरकारले ध्यान नदिँदा अलपत्र परेको नरहरिनाथ गाउँपालिकाका पूर्वअध्यक्ष धीरबहादुर विष्टले जानकारी दिए । ‘म गाउँपालिकाको जिम्मेवारीबाट हटेपछि पनि धेरैपटक मान्म कोटवाडा केबुलकार निर्माण र विमानस्थल नियमित सञ्चालनमा प्रयास गरे पनि वर्तमान सरकारले पहल नलिँदा समस्या आएको हो कि ?’ उनले भने, ‘विमानस्थल नियमित सञ्चालन र केबुवुलकार निर्माण एक–आपसका परिपूरक हुन् ।’
केबुलकार निर्माण र विमानस्थल नियमित सञ्चालनका लागि कालीकोटको खाँडाचक्र नगरपालिकाले अपनत्व लिएको केबुलकार निर्माणका लागि नगरपालिका लगानी गर्न पनि तयार रहेको नगरपालिकाका प्रमुख कमलबहादुर शाहीले बताए । ‘मान्म–कोटवाडा केबुलकार निर्माण हुनु कालीकोटकै गौरवको विषय हो,’ उनले भने, ‘नगरपालिकाले गर्ने सबै काममा सहयोग हुन्छ ।’
खाँडाचक्र नगरपालिका र नरहरिनाथ गाउँपालिका पर्यटन क्षेत्रसँग जोड्नका लागि केबुलकार आवश्यक रहेको खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेश शाहीले बताए । ‘केबुलकार बनाउन नगरपालिकाले आर्थिक लगानी गर्न पनि तयार रहेको छ,’ उनले भने, ‘कालीकोटका नागरिकहरू पनि यसमा लगानी गर्न तयार रहेका छन् ।’
केबुलकार निर्माणका लागि डिपिआरलगायतका काम भएको अवस्था केवल चर्चा मात्र गर्ने गरेको र त्यसको काम अगाडि नबढेको नरहरिनाथ उत्थान केन्द्र सुर्खेतका अध्यक्ष किशोरकुमार रावलले बताए । ‘अब नागरिक नजागेसम्म कोटवाडा विमानस्थल र केबुलकार निर्माणको काम अगाडि बढ्दैन्,’ उनले भने, ‘त्यसैले हामीले त्यहाँका सरोकारवालासँग नियमित छलफल गर्दै आएका छौँ ।’
विमानस्थल नियमित सञ्चालन र केबुलकार निर्माणको काम धेरै अगाडि बढे पनि स्थानीय सरकारले चासो नदिँदा समस्या भएको नागरिक अगुवा राजेन्द्र विष्टले बताए । ‘मैले पनि विभिन्न छलफलहरूमा लगानीकर्तासँग भेटघाट गरेको छु,’ उनले भने, ‘स्थानीय सरकारले चासो नदिँदा समस्या भएको छ ।’