इंग्ल्यान्डका डान डौथवेटले दोस्रो नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । गत वर्ष खर्चिलो फ्रेन्चाइज टोली बनेको पोखराले यसपटक डौथवेटसँगै इंग्ल्यान्डकै एडम रोसिङटन र वेस्ट इन्डिजका रेमन रेइफरलाई पनि अनुबन्ध गरेको छ । दोस्रो एनपिएल १ मंसिरदेखि सुरु हुँदै छ । यसअघि डानले पहिलो संस्करणमा काठमाडौं गोर्खाजबाट खेलेका थिए । इंग्ल्यान्डको राष्ट्रिय टोलीमा अवसर नपाए पनि डानले इंग्लिस काउन्टीमा राम्रो दख्खल राखेका छन् ।
२८ वर्षीय डानले ७६ टी–२० खेलमा तीन अर्धशतकसहित ८५६ रन बनाएका छन् । उनले यस विधामा ७७ विकेटसमेत लिएका छन् । गत संस्कणमा पोखरा समूह चरणमै सीमित भएको थियो । पहिलो संस्करणमा राम्रो लगानी गरे पनि अपेक्षित नतिजा निकाल्न सकेन । यसपटक नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेलको मार्कीमा पोखराले पछिल्लो गल्ती सच्याएर राम्रो नतिजा निकाल्ने योजना बनाएको छ ।
सुदूरपश्चिमसँग जोडियो डाबर नेपाल
डाबर नेपाल फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सको एसोसिएट प्रायोजक बनेको छ । सुदूरपश्चिम र डाबर नेपालबिच बुधबार सम्झौता भएको हो । सम्झौतापत्रमा सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (ससइओ) प्रकाश खड्का र डाबर नेपालका मार्केटिङ प्रमुख अभया गोर्खालीले हस्ताक्षर गरे । ‘डाबरजस्तो कम्पनीसँग जोडिएकोमा खुसी छौँ,’ खड्काले भने, ‘यो सम्झौताले टोलीमा थप ऊर्जा र हौसला बढाएको छ ।’ डाबर नेपालका मार्केटिङ प्रमुख गोर्खालीले साझेदारीलाई सुखद अवसरका रूपमा लिएको बताए । सुदूरपश्चिमको मार्की खेलाडीका रूपमा दीपेन्द्रसिंह ऐरी हुन् ।
लुम्बिनीको मुख्य प्रायोजकमा यांगो
लुम्बिनी लायन्सको मुख्य प्रायोजक यांगो कम्पनी बनेको छ । लुम्बिनीका अध्यक्ष ईश्वर जिसीले यांगोलाई टाइटल स्पोन्सरका रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । ‘युवाहरूमाझ लोकप्रिय कम्पनी यांगोलाई टाइटल स्पोन्सरका रूपमा स्वागत गर्न पाउँदा अत्यन्त खुसी छौँ,’ जिसीले भने । यांगो नेपालका प्रतिनिधिले क्रिकेट नेपालमा सबैको प्रिय खेल भएको बताए । यांगो ग्रुपको मुख्यालय युएईमा रहेको छ । लुम्बिनीका मार्की खेलाडी नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल हुन् ।