सुनकोशी–मरिन डाइभर्सन : पटेल–रमणसँग ठेक्का तोडिँदै

५५ महिनामा काम सक्ने जिम्मा लिएको पटेल–रमण जेभीको ३५ महिनामा १० प्रतिशत मात्रै प्रगति

बुधबार, २७ कार्तिक, २०८२
डिजिटल संस्करण

राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध, विद्युत्गृहलगायतका सिभिल संरचना र गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानसम्बन्धी ठेक्का तोडिने भएको छ । सम्झौताअनुसार ६१ प्रतिशत समय सकिँदा १० प्रतिशत मात्रै काम भएपछि सिँचाइ विभागले ठेक्का सम्झौता किन नतोड्ने भन्दै मंगलबार सार्वजनिक सूचना जारी गरेको हो । 

विभागले उक्त कार्य गर्न १७ पुस ०७९ मा पटेल–रमण जेभीसँग ठेक्का सम्झौता गरेको थियो, जसको म्याद ५५ महिना अर्थात् १८ असार ०८४ सम्म छ । सोअनुसार ३५ महिना बित्दा काम भने १० प्रतिशत मात्रै देखिएको छ । त्यसमाथि कम्पनीले प्रगति बढाउन कुनै तदारुकता नदेखाएको र सम्झौताअनुसार कामको सुधार गर्न सूचना जारी गर्दासमेत त्यसतर्फ कुनै चासो नदिएकाले ठेक्का तोड्न प्रक्रिया अघि बढाउनुपरेको विभागको भनाइ छ 

यस्तै, आयोजनाले ठेक्का सम्झौता रद्दको प्रक्रियासँगै पटेल–रमण जेभीले कार्यसम्पादन जमानतबापत राखेको दुई अर्ब ४० करोड र अग्रिम भुक्तानीको एक अर्ब २० करोड गरी कुल तीन अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेन्टी जफत गर्ने प्रक्रियासमेत अगाडि बढाइएको छ । 

सिँचाइ विभागले यो ठेक्का तोड्ने प्रक्रिया यसअघि पनि बढाएको थियो । तर, तत्कालीन सरकार र ऊर्जामन्त्री दीपक खड्काले ठेकेदार कम्पनी संरक्षण गरेका कारण सरकारकै दबाबमा विभागले ठेक्का तोड्न सकेको थिएन । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आयोजना निर्माणमा अस्वाभाविक ढिलाइ देखिएपछि गत ७ असोजमा मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । सुरुङ निर्माण सम्पन्न भइसकेको, तर बाँध, विद्युत्गृहलगायतका संरचना बनाउन नसक्दा अलपत्र परेका आयोजनालाई नयाँ सिराबाट अगाडि बढाउने विकल्प नरहेको उनले बताएका थिए । 

आयोजना निर्माणका लागि पटेल—रमण जेभीसँग १४ अर्ब आठ करोड रुपैयाँ (करसहित)मा ठेक्का सम्झौता भएको थियो । पटेल–रमण जेभीले अनुमानित लागतभन्दा करिब ३२ प्रतिशत कम रकम कबोल गरेको थियो । निर्माण व्यवसायीले माघ ०७९ बाट काम सुरु गरेको थियो । असार ०८४ भित्र निर्माणकार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । हालसम्म दुई अर्ब १४ करोड (करिब १५ प्रतिशत) रकम भुक्तानी गरिएको छ । 

काममा प्रगति नदेखिएपछि आयोजनाले ६ महिनाअघि नै निर्माण कम्पनीलाई ‘नोटिस टु करेक्ट’ पत्र जारी गरेको थियो । त्यसको जवाफ नआएपछि ५० प्रतिशत पेस्की फिर्ता गर्न पनि पत्राचार गर्यो । पत्र प्राप्त भएको एक सातामा पेस्की फिर्ता गर्नुपर्छ । तर, त्यो नभएपछि ‘एड्भान्स पेमेन्ट ग्यारेन्टी’बापत ५० प्रतिशत रकम भुक्तानी गर्न जमानी बसेका बैंकहरूलाई पत्राचार गरिएको थियो । ठेकेदारले मोबिलाइजेसन पेस्कीका लागि ठेक्काको १० प्रतिशत अर्थात् एक अर्ब २० करोड १४ लाख पेस्की लगेको थियो । उक्त पेस्कीमा प्रभु, ग्लोबल, माछापुच्छ«ेलगायतका बंैक जमानी बसेका थिए । उनीहरूलाई पेूकीको ५० प्रतिशत रकम दिन १२ चैत र १७ वैशाखमा पत्र काटे पनि बुझाएका छैनन् ।

यता आयोजनाको परामर्शदाताले पनि निर्माण कम्पनीले पेस्की रकम आयोजनामा प्रयोग नगरेर अन्यत्रै दुरुपयोग गरेको प्रतिवेदन दिइसकेको थियो । त्यो अवस्थामा पेस्की फिर्ता लिन सकिने व्यवस्था छ । त्यसमाथि फिल्डमा कामसमेत नभएको देखेपछि परियोजनाले सम्बन्धित बैंकहरूलाई जमानतअनुसार पेस्कीको ५० प्रतिशत रकम (६० करोड सात लाख रुपैयाँ) फिर्ता दिन आग्रह गरेको थियो । तर, त्यसमा बैंकहरूले आनाकानी गरेका छन् । निर्माण कम्पनीलाई पेस्कीबाहेक पटक–पटक गरी थप ९३ करोड रुपैयाँ भुक्तानी दिइएको छ ।

अदालतले समेत मोबिलाइजेसन पेस्की जफत गर्नुपर्ने भनेको छ । जमानत जफत गर्न लागेपछि निर्माण व्यवसायीले उच्च अदालत पाटनमा २२ चैत ०८१ मा र काठमाडौं जिल्ला अदालतमा १० वैशाख ०८२ मा मोबिलाइजेसन जमानत जफत नगराउनका लागि अन्तरिम आदेश माग गर्दै निवेदन दिएको थियो । त्यसमा उच्चले ४ वैशाख र जिल्लाले २ जेठमा अन्तरिम आदेश जारी गर्नुनपर्ने भन्दै आयोजनाको पक्षमा निर्णय दिएको थियो । तर, पेस्की रकम अझै फिर्ता भएको छैन । निर्माणकार्य अलपत्र पारेको पटेल–रमण जेभीले दुई वर्ष समय बाँकी रहँदै थप सात सय एक दिन म्याद गर्न प्रस्ताव गरिसकेको थियो । 

सिन्धुली र रामेछापको सिमानामा रहेको सुनकोशी नदीको पानीलाई बाँध बनाएर सुरुङमार्फत मरिन नदीमा खसाली बागमती सिँचाइ आयोजनामा पुर्याइनेछ । यसबाट तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका करिब एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ । सुनकोशीको पानी मरिन नदीमा पथान्तरण गरी ३१.०७ मेगावाटको जलविद्युत् उत्पादन गरिनेछ । परियोजनाको १३ किलोमिटर लामो सुरुङ २६ वैशाख ०८१ मै ब्रेक थ्रु भइसकेको छ ।

आयोजनाको समग्र प्रगति ३७.१५ प्रतिशत
असोज मसान्तसम्म आयोजनाको समष्टिगत भौतिक प्रगति भने ३७.१५ प्रतिशत पुगेको छ । वित्तीय प्रगति भने ३३.६६ प्रतिशत रहेको आयोजना कार्यालयको भनाइ छ । परियोजनाको लागत ४९ अर्ब ४१ करोड ३१ लाख रहेको छ । हालसम्म १६ अर्ब ६३ करोड ४७ लाख रुपैयाँ खर्च भएको कार्यालयको भनाइ छ । 

सुझावित समाचार