बिहारमा राजनीति मात्र चलायमान, अरू सबै कुरा अझै जस्ताको तस्तै

बुधबार, २७ कार्तिक, २०८२
डिजिटल संस्करण
  • बिहारको उर्वर भूमिमा धेरै क्रान्ति भए, तर त्यही बिहार भारतभरिमै सबैभन्दा पछाडि परेको छ, राजनीतिप्रतिको अति मोह यसको मूल कारण हो 

१८औँ विधानसभाका लागि मतदान गरिरहेको बिहारले सधैँ लोकतन्त्र पहिलोपटक उसको भूमिमा जन्मिएको भनेर गर्व गर्ने गर्छ । बिहारको बैसाली जिल्ला हुँदै जाने राजमार्गमा हिँड्दा एउटा साइनबोर्ड देखिन्छ, जसमा सगर्व लेखिएको छ– ‘विश्वको पहिलो गणतन्त्रमा स्वागत छ ।’ यो कुनै मिथक मात्र नभएर बलियो ऐतिहासिक प्रमाण भएको इतिहास हो । असंख्य शिलालेख र अनुसन्धान ग्रन्थले यसलाई पुष्टि गर्छन् । 

लोकतन्त्र यस्तो विचार हो, जहाँ प्रत्येक व्यक्तिलाई बोल्ने र छनोट गर्ने स्वतन्त्रता हुन्छ । बिहारमा यो धेरै पहिले नै अभ्यासमा थियो । तर, यसले एउटा प्रश्न उठाउँछ– समकालीन बिहारकै लागि भने लोकतन्त्रले कति राम्रो गरेको छ ? के त्यहाँका जनताले लोकतन्त्रबाट सम्पूर्ण फाइदा उठाउन सकेका छन् ? बिहारको समाज, जनता र यसको आर्थिक अवस्था हेर्दा त्यसले लोकतन्त्रबाट खासै उपलब्धि हासिल गरेको देखाउँदैन । 

अहिले पनि बिहार निर्वाहमुखी खेतीभन्दा बाहिर निस्किन सकेको छैन । त्यहाँ कुनै प्रभावशाली उद्योग छैन । उलेख्य कर राजस्व संकलन गर्न सक्ने व्यवस्था फस्टाएको छैन । समग्रमा राज्यमा कुनै आर्थिक गतिविधि छैन । बिहारी जनताको प्रतिव्यक्ति आय भारतभरमै सबैभन्दा कम छ । विकासका हिसाबमा देशकै धनी राज्यसँग बिहारको खाडल घट्नुको साटो झन् बढ्दै गइरहेको छ । यस्तोमा राज्यको सबैभन्दा ठुलो निर्यात ‘श्रम’ बनेको छ । बिहारी श्रमिक प्राय: सम्पन्न राज्यमा न्यूनतम तलब भएका रोजगार गर्न विवश छन् । 

आज बिहारका मतदातामा स्वतन्त्र भारतको तेस्रो पुस्ताको बाहुल्य छ । तर, अझै ती जातिवाद, पहिचान, सामाजिक समीकरणप्रति सन्तुष्ट देखिन्छन्, विकासको भर्याङमा सबैभन्दा तल्लो तहमा रहँदासमेत । कोही अहिलेको अवस्थाप्रति व्याकुल देखिँदैनन् । सायद बिहार छिमेकी राज्यभन्दा पनि धेरै पछाडि परेर पनि होला, त्यहाँका मतदाताले उनीहरूको वर्तमान अवस्थालाई विगतसँग मात्र तुलना गरेर बसिरहेका छन् । मतदाता आफ्नो अवस्था आफ्नो आमाबाबुसँग तुलना गर्छन्, जुन प्राय: राम्रो बनेको छ । त्यस्तै उनीहरू आफ्ना बालबच्चाको भविष्यबारे सोच्छन् । त्यो पनि प्राय: अहिलेभन्दा सुधारिने देखिन्छ । तर, यत्तिमै सीमित हुने सोचले आकांक्षाको स्तरलाई अत्यन्तै तल नै राखिरहन्छ । 

बिहारका मतदाता पुस्तौँदेखि न्यूनतम अपेक्षामै जीवन बाँचिरहेका र संघर्ष गरिरहेका छन् । सामन्ती तथा माथिल्लो जातिको अत्याचारबाट मुक्ति, दिनमा तीनपटकको खाना, आधारभूत कानुन तथा व्यवस्थाको कार्यान्वयन र बिजुलीदेखि सडकमा सहज पहुँच । यही नै हो, तिनको आकांक्षाको क्षितिज । तर, सन् २०२५ को भारतमा पनि यति आधारभूत आकांक्षामै आफूलाई सीमित राख्नु दु:खद हो । 

कुनै वेला विभिन्न नामको ‘भत्ता’लाई मिठाई (रेवडी) वितरण गरेर भुल्याउने प्रयास भन्ने नरेन्द्र मोदी र नितिशकुमार आफँै अहिले उस्तै सपना बाँड्न थालेका छन् । नितिशका प्रतिद्वन्द्वीहरूले राज्यका दुई करोड ७६ लाख परिवारका हरेक एक सदस्यलाई सरकारी जागिर दिने वाचा गरिरहेका छन् । तर, चरम बेरोजगारीबिच यो कुनै क्रूर मजाक होइन । नितिशकुमारले निरन्तर २० वर्ष लामो शासन गरेपछिको यो बिहारको चिन्ताजनक वास्तविकता हो ।

जुन राज्यको राजनीतिक संस्कृति गहिरो, जीवन्त र साहसपूर्ण छ, त्यो राज्यका लागि यस्तो स्थिति विशेष चिन्ताजनक छ । इतिहास हेरियो भने बिहारविना महात्मा गान्धी हामीले चिन्ने गान्धी हुने थिएनन् । सन् १९१५ मा दक्षिण अफ्रिकाबाट भारत फर्किएपछि गान्धीको पहिलो चर्चित आन्दोलन यही राज्यको चम्पारणमा जबर्जस्ती ‘नीरको खेती’ गर्ने बेलायती ठेकेदारविरुद्धको सत्याग्रहबाट भएको थियो । यही आन्दोलनमार्फत गान्धीले अन्तर्राष्ट्रिय ध्यान खिचे । 

तर, दु:खको कुरा अहिले पनि गान्धीले आन्दोलन गरेको क्षेत्र यस देशकै गरिब क्षेत्रको पनि गरिब जिल्ला कायम छ । त्यस भेगको भ्रमण गर्दा अहिले त त्यहाँका मानिस यति विपन्न, उदासीन र अभावको जीवन बाँचिरहेका देखिन्छन् भने सन् १९१५ मा अवस्था झन् कति दयनीय थियो होला । तर, यी सबका बाबजुद तिनले गान्धीलाई अँगाले । गरिब बिहार गान्धीको पहिलो राजनीतिक साझेदार बन्यो ।

जयप्रकाश नारायण (जेपी) बिहारी थिए । यदि बिहारका जनतामा राजनीतिक चेतना र साहस नभएको भए उनलाई लोकनायक (जनताको नेता) भनिन्थ्यो त ? उनको आन्दोलनलाई बिहारका जनताले शक्ति दिए, जुन आन्दोलनले पछि गएर सम्पूर्ण भारतलाई नाटकीय रूपमा प्रभाव पारेको थियो । आन्दोलनबाट स्वयं तत्कालीन सर्वशक्तिशाली इन्दिरा गान्धी आत्तिइन् । उनले आपत्काल लागू गर्नुमा यसले पनि काम गरेको थियो, जुन सन् १९७७ को चुनावमा इन्दिराको पराजयको कारण बन्यो । 

महात्मा गान्धीपछि जेपी २०औँ शताब्दीको भारतमा सबैभन्दा ठुलो नैतिक शक्तिको रूपमा देखा परे । उनले छोटो समयका लागि राजनीतिक सफलता पनि हासिल गरेका थिए । बिहारले कंग्रेस पार्टीलाई राष्ट्रियस्तरमा पतनको दिशामा धकेल्यो, जसबाट ऊ कहिल्यै उठ्न सकेन । यदि बिहार र यसका जनता महात्मा गान्धी र जयप्रकाश नारायणको उदयको श्रेयका लागि योग्य छन् भने हामीले सन् १९६० को दशकमा उदाएका कर्पुरी ठाकुरलाई पनि बिर्सनुहँुदैन । ठाकुरअघि विहारमा कुनै पूर्वनिर्धारित प्रबन्धजस्तै सधैँ माथिल्लो जातका नेता मात्र मुख्यमन्त्री भइरहेका थिए । 

तर, समस्तीपुर क्षेत्रका एक सामान्य नाई (कपाल काट्ने) परिवारबाट आएका कर्पुरी ठाकुरले यस प्रवृत्तिलाई चुनौती दिए र परिवर्तन गरिछाडे । कर्पुरीले ल्याएको परिवर्तन बिहारका लागि मात्र अद्वितीय थिएन । उनले भारतभर तरंग ल्याउने स्तरको तल्लो भनिने जातिको सशक्तीकरणका लागि सामाजिक न्यायको आन्दोलन सुरु गरे, जुन ६ दशकपछि, आजसम्म जारी छ ।

कर्पुरी ठाकुरले त्यो सामाजिक समीकरणलाई आकार दिन मुख्य भूमिका खेले, जसले पहिलोपटक सन् १९६७ मा भारतका धेरै राज्यमा कंग्रेसलाई बहुमतबाट वञ्चित गर्यो । संयुक्त विधायक दलको सरकारमा ठाकुरले शिक्षा र अन्य मन्त्रालयको जिम्मेवारीसहित उपमुख्यमन्त्रीको रूपमा काम गरे । उसो त सो सरकार लामो समय टिकेन, तर यसले ‘मण्डल राजनीति’ भनेर चिनिने नयाँ राजनीतिक परिदृश्यको जग बसाल्यो । ठाकुरको दलले नै सन् १९९० को दशकको सुरुमा नरम हिन्दुत्वतर्फ झुक्दै गएको कंग्रेस र भाजपाविरुद्ध एक बलियो धर्मनिरपेक्ष विकल्प प्रदान गर्यो ।

जबकि, त्यतिन्जेलसम्म भारतीय कंग्रेसलाई सबैलाई समेट्न सक्ने दलका रूपमा देखाइन्थ्यो । हालको भाजपाको पूर्वरूप जनसंघलाई इन्दिरा गान्धी हिन्दुको दल नभएर ‘बनियाँ’हरूको पार्टी भनेर मजाक उडाउँथिन् । कर्पुरी ठाकुर र बिहारका जनताले भारतमा पहिलो कंग्रेसविरोधी र अन्तत: भाजपाविरोधी सामाजिक गठबन्धन बनाएर वैकल्पिक राजनीतिक धार बन्न सक्ने देखाएका थिए । भलै, यो अन्तत: विघटन भयो र ती दुई राष्ट्रिय गठबन्धनमध्ये एकमा सामेल भए । आज कर्पुरी ठाकुरको मृत्यु भएको ३७ वर्षपछि पनि कंग्रेस र भाजपा यिनै दुई गठबन्धनमध्ये एकको नेतृत्व गर्ने स्थानमा पुगेका छन् । अर्थात्, उनीहरू पनि ठाकुरबाट विरासतमा प्राप्त गठबन्धनमध्ये एकमा सवार हुन बाध्य छन् । त्यसैले, होला मोदी सरकारले ठाकुरलाई मरणोपरान्त देशको सर्वोच्च मान पदवी ‘भारत रत्न’ले सम्मान गरेको छ ।

प्राचीन बैसालीमा लिच्छविहरूको लोकतन्त्रदेखि कर्पुरी ठाकुरको सामाजिक न्याय, जेपीको पूर्ण क्रान्ति, तल्लो वर्गको सशस्त्र वामपन्थी (माक्र्सवादी–लेनिनवादी) आन्दोलन र प्रतिक्रियामा सामन्ती उच्च जातको रणवीर सेनासम्म, बिहार भारतमा अन्य कुनै भागभन्दा क्रान्तिका लागि बढी उर्वर भूमि रहेको छ । तैपनि, बिहार किन यति पछाडि परेको छ ? कुन अभिशापले यसलाई सताएको छ ? के क्रान्तिले आफ्नै बच्चालाई निल्यो त ?

बिहारमा राजनीतिक गफ समय कटाउने प्रमुख माध्यम भएको छ । बिहारका जनतामा राजनीतिक जागरुकता, जोस र बहस व्यवसायजस्तो भएको छ । सायद वास्तविक उद्योग–व्यवसायको अभावको क्षतिपूर्ति गर्ने प्रयास होला । म यो हल्का रूपमा भनिरहेको छैन । राजनीतिप्रतिको उग्र मोह नै भारतको अन्य भागको तुलनामा बिहारको पतनको मूल कारण हो । पहिचान राजनीति जहाँसुकै पनि विगततर्फ फर्किन्छ भने बिहारमा यो आफैँलाई विनाश गर्ने मोहको स्तरमा विकसित भएको छ ।

अहिले बिहारलाई कसैले पनि गुजरात वा कर्नाटकमा बदल्ने कुरा गर्दैन, सांघाईमा परिणत गर्ने वाचा त झन् परको कुरा हो । हरेकसँग पुस्तागत गुनासा छन्, ती गुनासा सम्बोधन गर्ने वाचा गर्ने नेता पनि पहिले विद्यमान छन् । सबैले एउटै वाचा गरिरहेका ठाउँमा जसले सबैभन्दा धेरै पैसा खर्च गर्न सक्छ, ऊ नै अगाडि आउने सम्भावना रहन्छ । जुन राज्यले विश्वलाई लोकतन्त्र दियो, भारतलाई लोकनायक र सामाजिक न्यायको आन्दोलन दियो, उही राज्य अहिले न्यून अपेक्षाको राजनीतिको अभिशाप भोगिरहेको छ । यो भारतका लागि राष्ट्रिय दुर्भाग्य हो ।

दिग्गज भारतीय पत्रकार गुप्ता हाल ‘द प्रिन्ट’का प्रधानसम्पादक हुन् । – द प्रिन्टबाट
 

सुझावित समाचार