गाँजाखेतीलाई वैधानिक गर्ने बाटोमा गण्डकी प्रदेश सरकार अघि बढेको छ। त्यसका लागि आवश्यक विधेयक प्रदेश सरकारले प्रदेश सभा बैठकमा टेबुल गरेको छ।
‘औषधिजन्य तथा औद्योगिक प्रयोजनको लागि गाँजाखेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेश सभामा प्रवेश गराएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिएका छन्।
विधेयकमा राजपत्रमा सूचना प्रकाशन गरी प्रदेशको कुनै जिल्ला वा स्थानीय तहको कुनै स्थानलाई औषधिजन्य तथा औद्योगिक प्रयोजनको लागि गाँजाखेती गर्न सकिने क्षेत्रको रूपमा तोक्न सक्ने व्यवस्था गरिएको छ। क्षेत्र तोक्दा मन्त्रालयले सम्बन्धित स्थानीय तहसँग परामर्श गर्न सक्ने, अनुमतिपत्र प्राप्त व्यक्तिले गाँजाखेती गर्न पाउने अधिकतम क्षेत्रफलसमेत तोक्नुपर्ने, तोकिएको क्षेत्र प्रदेश सरकारले निर्देशकको सिफारिसमा आवश्यकताअनुसार समय-समयमा थपघट वा हेरफेर गर्न सक्ने व्यवस्था छ। खेतीका लागि कम्तीमा पनि दुई रोपनी जग्गा हुनुपर्ने व्यवस्था विधेयकमा छ।
‘औषधिजन्य’ वा ‘औद्योगिक प्रयोजन’ प्रयोजनका लागि खेती गर्न चाहने व्यक्तिले पछिल्लो दश वर्षमा लागुऔषधसम्बन्धी कसुरमा सजाय नपाएको स्वःघोषणा गर्नुपर्नेछ।
औषधि उद्योग वा अन्य उत्पादनमूलक उद्योगबाट खरिद गरिने सुनिश्चितता हुने गरी परिमाण र अवधिसमेत खुलेको प्रचलित कानुनबमोजिम स्थापना भएका औषधि उद्योग वा उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगसँग गरिएको सहमतिपत्रसँगै तोकिएबमोजिमको अन्य विवरणसहितको निवेदन बुझाउनुपर्नेछ।
यस्तो छ आवश्यक पूर्वाधार
खेतीको लागि सहमतिपत्रप्राप्त व्यक्तिले गाँजाखेती गरिने जग्गामा अनधिकृत व्यक्तिको पहुँच हुन नसक्ने गरी आवश्यक पर्खाल वा तारवारको व्यवस्था, खेतीको सुरक्षाको लागि घेराले वा निगरानीको व्यवस्था, खेती गरिएको स्थानमा नै प्रशोधन गरिने भएमा सोको लागि आवश्यक पूर्वाधार, गाँजाको फसल तयार भएपछि भण्डारणका लागि खेती गरिएको स्थानमा सुरक्षित भवन वा स्थान बनाउनुपर्ने व्यवस्था विधेयकमा गरिएको छ।