संखुवासभामा बाँदरआतंकले किसान हैरान

मंगलबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण

पूर्वी पहाडी जिल्ला संखुवासभामा बाँदरआतंकले कृषक हैरान भएका छन्। खेतबारीमा लगाएको तरकारी र अन्नबाली खाएर नष्ट पार्न थालेपछि कृषक हैरान भएका हुन्।

खाँदबारी नगरपालिका– ११, लामागाउँका उत्तरकुमार गुरुङले बाँदरले अन्नबाली खाएर ठूलो क्षति पुर्याएको बताए। बाँदरकै कारण उत्पादन हुने जग्गाजमिन छोडेर मानिस बसाइँ सर्न बाध्य भएको उनको भनाइ छ। ‘बाँदरले बर्खाको समयमा मकै र हिउँदमा तरकारी बाली, धानखेतीलगायत सबैमा हानि पुर्याउँछ। बिहानदेखि बेलुकीसम्म पालैपालो बाँदर धपाउने गोठालो बस्नुपर्छ,’ गुरुङले भने।

बाँदरले धान र मकैका साथै सुन्तला खेतीमा समेत क्षति पुर्याउने गरेको खाँदबारी– ११, खर्तुवाका नुदन राईले बताए। उनले धान लडाउने, खाने र काटेको पाँजा छरिदिने र कुन्यु भत्काउने गर्नुका साथै छरेको धानको बिउसमेत टिपेर खाइदिने गरेको सुनाए। ‘केटाकेटी र महिलालाई बाँदरले खेद्ने गर्छ, बाँदरदेखि जोगिएर हिँडनुपर्छ। गाउँका युवाहरू सबै मिलेर धपाए पनि एक–दुई दिनपछि फेरि आइहाल्छ,’ राईले भने।

खर्तुवाकी अर्की कृषक गोमा राईले बाँदरले बिउ नै खाइदिन थालेपछि आलु, तोरी र गहुँ खेती गर्न छोडेको बताइन्। हिउँदे र बर्खे बाली लगाएपछि बाँदरले खेतबाटै खोतलेर सखाप पारेको उनले गुनासो गरिन्।

उनीजस्तै हेलुवाबेँसीका कृषक बालकुमार चौहानले गाउँघरमा जंगल क्षेत्रसमेत बढेकाले बाँदर बढेको बताउँदै बाँदरले ठुलो क्षति पुर्याएको बताए। ‘बाँदर मान्छेजस्तै बाठो हुने र मान्छे नभएको मौका पारेर बालीनाली मात्रै होइन, घरभित्रै पसेर खानेकुरा झिकेर खाने गरेको छ। नेपालमा बाँदर मार्ने नियम सरकारले ल्याउनुपर्छ तब मात्रै बाँदर नियन्त्रण हुन्छ। नत्र खेती गर्न सकिँदैन,’ चौहानले भने।

चौतर्फी रूपमा बाँदरले आतंक नै मच्चाएको गुनासो आउने गरेको खाँदबारी नगरपालिका– ११ का वडाध्यक्ष अनिल राईले बताए। उनले खाँदबारी नगरपालिका र वन कार्यालयमा यसको दिगो व्यवस्थापनका लागि अनुरोध गरे पनि खासै सहयोग नपाएको बताए। ‘बाँदर नियन्त्रणका लागि गाउँगाउँमा युवाहरूको समूह बनाउने र सो समूहलाई वडाको तर्फबाट खाजा खर्च व्यवस्थापन गर्न सकिने भनेर युवाहरूलाई भनेको छु। यसरी पालैपालो धपाउन सकिन्छ कि भनेर लागेको छु,’ राईले भने।

संखुवासभाको १० वटै स्थानीय तहमा बाँदरको आतंक छ। सबै ठाउँहरूमा बाँदरले हैरानी दिएको छ। सबै स्थानीय तह, वन डिभिजन कार्यालय र राष्ट्रिय निकुञ्जमा बाँदरको गुनासो बोकेर कृषकहरू पुग्छन्। तर, ती कार्यालयहरूबाट दिगो व्यवस्थापनका लागि खासै सहयोग नपाएको कृषकहरूको गुनासो छ।

बाँदरआतंक नियन्त्रण र दिगो रूपमा व्यवस्थापन गर्न जिल्लास्तरमा वेलावेला छलफल तथा अन्तर्क्रिया भए पनि प्रभावकारी देखिएको छैन। सरोकारवाला निकायहरूले बाँदरका लागि बेग्लै जंगल क्षेत्रमा फलफूल खेती लगाउने र बाँदर समातेर बन्ध्याकरण गर्नेलगायतका योजनाहरू सुनाए पनि कार्यान्वयन हुन सकेको छैन।

सुझावित समाचार