इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा सहभागी हुने टिम चितवन राइनोजको कनेक्टिभिटी पार्टनर बनेको छ ।
शुक्रबार आयोजित एक कार्यक्रमबिच भायानेटका कमर्सियल एन्ड मार्केटिङ विभागका उपाध्यक्ष सहिन श्रेष्ठ र चितवन राइनोजका प्रमुख सञ्चालन अधिकृत डा. आशिष खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । ‘हामी खेलकुदसँग सुरुदेखि नै जोडिएका छौँ । खेलमा हाम्रो लगानी व्यावसायिकभन्दा बढी जिम्मेवारीको कुरा हो । खेलकुदले इन्टरनेटले जस्तै एक–अर्कासँगको सम्बन्ध बलियो बनाउँछ । यही कारण हामी खेल क्षेत्रलाई निरन्तर साथ दिइरहेका छौँ,’ श्रेष्ठले भने ।
भायानेटले स्थापना समयदेखि नै खेलकुदलाई आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा बनाउँदै आएको छ । यसअघि, भायानेट फागुनमा सम्पन्न अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप र भदौमा सम्पन्न कर्पोरेट क्रिकेट लिग दुवैको टाइटल स्पोन्सर बनेको थियो ।
यस्तै, चर्चित फुटबलर सावित्रा भण्डारी ‘साम्बा’लाई ब्रान्ड एम्बासडर घोषणा गर्दै ‘साम्बा प्याक’ पनि सार्वजनिक गरेको थियो । चितवन राइनोजसँगको यस सहकार्यमार्फत भायानेटले खेलाडीको मनोबल, दर्शकको भावना र देशभरका खेलप्रेमीलाई एकै ठाउँमा जोड्ने सेतुका रूपमा भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।