बारामा हात्तीको आक्रमणबाट ट्रकचालकको मृत्यु

सोमबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डमा सोमबार बिहान जंगली हात्तीको आक्रमणबाट ट्रकचालकको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति जितपुरसिमरा उपमहानगरपालिका–१ का ४० वर्षीय राजकुमार चौधरी रहेका प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार घटनाको समय चौधरीले चलाएको ट्रक राजमार्गको १२ किलो भन्ने स्थानमा रोकिएको थियो। सो क्रममा जंगलतर्फबाट आएको हात्तीले ट्रकमा आक्रमण गर्न खोजेपछि चौधरी गाडीबाट ओर्लिएर भाग्ने प्रयास गरेका थिए। तर, हात्तीले पछ्याएर आक्रमण गर्दा चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सो क्षेत्रमा आइतबार रातिदेखि नै हात्तीको आतंक बढ्दै गएको थियो। राजमार्गमा बारम्बार हात्ती देखिएपछि यात्रु र सवारीचालकहरू आतंकित बनेका थिए। हात्ती नियन्त्रणका लागि नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले राति अबेरसम्म जंगलभित्र भगाएको थियो। तर, बिहानको समयमा हात्ती पुनः राजमार्गमा निस्किएर चौधरीमाथि प्राणघातक आक्रमण गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता प्रहरी निरीक्षक खेम नेपालका अनुसार हात्तीले चौधरीमाथि आक्रमण गरेपछि सो क्षेत्रको यातायात पूर्णरूपमा अवरुद्ध भएको थियो। यसअघि हात्तीले गएराति आक्रमण गर्दा दुईवटा सवारी साधन पल्टिएका थिए। यद्यपि ती घटनामा अन्य मानवीय क्षति भने भएन।

घटनापछि सुरक्षा निकायले पुनः हात्तीलाई जंगलतर्फ भगाउन सफल भएका छन्। तर पुनः हात्ती सडक र बस्तीतर्फ आउनसक्ने भएकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। प्रहरीले घटनास्थलमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरेको छ भने हात्तीको गतिविधि अनुगमनका लागि डिभिजन वन कार्यालय सिमराको टोली पनि खटिएको छ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक दीपक केसीले रातिको समयमा अनावश्यक यात्रा नगर्न, विशेषगरी मोटरसाइकल र स्कुटरमा राति यात्रामा ननिस्कन अनुरोध गरेका छन्। उनले रातको समयमा विशेष सतर्कता अपनाउन आग्रह गर्दै मोटरसाइकल तथा स्कुटरमा राति यात्रा नगर्न र ठूला सवारीसाधनका चालकलाई पनि समूहगत रूपमा सञ्चालन गर्न अनुरोध गरेका छन्। साथै, यात्रु र चालकलाई यात्रा अघि जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा वा नजिकैको प्रहरी इकाइसँग सम्पर्क गरी मार्गस्थितिबारे जानकारी लिन आग्रह गरेका छन्।

बाराको निजगढ–पथलैया सडकखण्डलगायत विभिन्न क्षेत्रमा हालै बढ्दै गएको वन्यजन्तु आक्रमण र सडक दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले यात्रु तथा सवारी चालकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।

स्थानीय बासिन्दाका अनुसार सो क्षेत्रमा गत केही महिनादेखि हात्तीको आवागमन बढ्दै गएको छ। हात्तीले राजमार्ग नजिकका बस्तीहरूमा समेत आतंक मच्चाउने गरेको र रातको समयमा सडकमा हिँड्दा खतरा बढेको उनीहरूको भनाइ छ।

जंगलसँग नजिक रहेको सो सडक खण्डमा विगतमा पनि यस्ता घटनाहरू हुँदै आएका थिए। तर प्रभावकारी उपाय नअपनाउँदा हात्ती–मानव द्वन्द्वको समस्या अझै समाधान हुन सकेको छैन।

सुझावित समाचार