अपी पावर कम्पनी लिमिटेडले आफ्नै लगानीमा कर्पोरेट कार्यालय निर्माण गर्ने भएको छ।
कम्पनीको २१औँ वार्षिक साधारणसभाको निर्णयअनुसार गत असार ३० गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरी केन्द्रीय कार्यालय भवन निर्माण गर्न नयाँ बानेश्वरमा २० आना जग्गा खरिद गरी भवन निर्माण गर्न लागेको जनाएको छ। अपी टावर नामाकरण गरी कम्पनीले आफ्नै लगानीमा बनाउन लागेको भवनको गत शुक्रबार कम्पनीकी अध्यक्ष सिर्जना खड्काले शिलान्यास गरेकी हुन्।
कम्पनीको केन्द्रीय कार्यालय भवनको निर्माण कार्य दुई वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ। नेपालमा निजी ऊर्जा उत्पादक कम्पनीहरूमध्ये थोरै मात्र कम्पनीहरूले आफ्नो लगानीमा केन्द्रीय कार्यालय निर्माण गरेका छन्।
विगत २२ वर्षदेखि नेपालमा नवीकरणीय ऊर्जा विकासको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेको कम्पनीले नवीकरणीय ऊर्जा परियोजनाहरूको पहिचान, रणनीतिक विकास, समयमै परियोजना सम्पन्नता, जलविद्युत् र सौर्य सम्पत्तिहरूको विविधिकरण र निरन्तर पारदर्शी वित्तीय कार्यसम्पादन गरिरहेको छ।