नवनियुक्त मुख्यमन्त्री सरोज यादवले तीन मन्त्री नियुक्त गरेका छन् । संविधानको धारा १६८ को उपधार (३) बमोजिम आज बिहान मुख्यमन्त्रीमा नियुक्त भएका यादवले आजै तीनजना मन्त्री नियुक्त गरेका हुन् । एमालेबाट लखन दास, नेपाल संघीय समाजवादीबाट विमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छालाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरूलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे टुंगो लागेको छैन ।
यता, प्रदेश प्रमुख सुमित्रा भण्डारीलेसरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि एमालेभित्रैका सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । एमालेका प्रमुख सचेतक हरिनारायण महतोले मुख्यमन्त्रीको नियुक्तिबारे आफूहरूलाई थाहा नभएको र आज बिहान मात्रै थाहा भएको बताए ।
‘संविधानको धारा १६८ को उपधारा २ अनुसार नै अगाडि बढ्नुपर्छ भनेर हिजो साँझसम्म हाम्रो छलफल भएको थियो । तर, आज थाहा पाएँ, हाम्रै दलका नेता मुख्यमन्त्रीमा नियुक्त हुनुभो । यसमा कहाँबाट चलखेल भयो ? कहाँ को–को परिचालित भए मलाई थाहा छैन, तर यो विषयमा पार्टीभित्र छलफल गर्नुपर्छ,’ महतोले भने ।
नेपाली कांग्रेसले पनि मुख्यमन्त्री नियुक्तिको विरोध गरेको छ। संविधानको धारा १६८ को उपधारा २ अनुसार नै मुख्यमन्त्री नियुक्त हुनुपर्ने अवस्थामा प्रदेश प्रमुखले संविधानविपरीत उपदाफा ३ को प्रयोग भएको कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले बताए ।