नेपाल पर्यटकीय सम्भावना प्रचुर भएको देश हो । उच्च पहाडी र हिमाली क्षेत्रमा स्वदेशी र विदेशी पर्यटकको आवागमन बाक्लिँदै गएको छ । खासगरी उच्च हिमाली शिखर नियाल्न र तिनको आनन्द लिन पारखीहरू उकाली चढिरहेका देख्न सकिन्छ । उचाइका भूगोल, हावापानी र जनजीवनले ती पारखीलाई हमेसा तानिरहेको हुन्छ ।
यसपटक ताप्लेजुङस्थित कञ्चनजंघा हिमालको आधार शिविरसम्मको यात्रा सम्पन्न गरियो । सुदूरपूर्वको यो हिमालको आधार शिविर पुग्ने योजना विगत दुई वर्षदेखि नै तय गरे पनि जान सकिएको थिएन । यसपटक तीनजना साथीहरू भेला भएर त्यस गन्तव्यलाई सफल बनाएरै छाड्यौँ । सगरमाथापछि नेपालको दोस्रो र संसारकै तेस्रो अग्लो शिखर हो, कञ्चनजंघा हिमाल । नेपालको लामोमध्येको ट्रेकिङ ट्रेल, आफ्नै भौगोलिक र पर्यावरणीय विशिष्टता बोकेको क्षेत्र हो, सुदूरपूर्वको कञ्चनजंघा संरक्षण क्षेत्र । गएको तिहारको पूर्वसन्ध्यामा हामी त्यसतर्फ अघि बढेका थियौँ ।
काठमाडौंदेखि इटहरी हुँदै फुङलिङ
कञ्चनजंघा आधार शिविरसम्मको यात्रा तय भएपछि हामी दुईजना काठमाडौंबाट त्यसतर्फ अघि बढ्यौँ । गौशालाबाट माइक्रोबस चढेर बिहान ६ बजे नै हामी इटहरीतर्फ अघि बढ्यौँ । इटहरीबाट ताप्लेजुङको सदरमुकाम फुङलिङ जानुपर्ने थियो । इटहरी पुग्दा करिब ४ बजेपछि त्यहीँ वास बसियो । भोलिपल्ट बिहान करिब ६ बजे नै जिप चढेर फुङलिङका लागि अघि बढ्यौँ । इटहरीमा अर्का एक साथीसमेत थपिएपछि तीनजना सहयात्री भयौँ ।
इटहरीबाट धरान हुँदै भेडेटार पार गरेर जिप अघि बढ्यो । इटहरी र धरानको गर्मी खाएर गएका यात्रीलाई भेडेटारको चिसो हावाले शीतलता प्रदान गर्यो । धनकुटाबाट पाँचथर हुँदै करिब आठ घण्टाको जिप यात्रापछि दिउँसो २ बजे फुङलिङ बजार पुग्यो । फुङलिङ हाम्रो गन्तव्य थिएन । त्यस दिन फुङलिङ नै बसेर कञ्जनजंघा संरक्षण क्षेत्रबारे जानकारी संकलन गर्यौँ ।
भोलिपल्ट बिहान ९ बजे हामी फुङलिङबाट अर्को जिप रिजर्भ गरेर कञ्चनजंघा ट्रेकका लागि अघि बढ्यौँ । फुङलिङबाट कच्ची र धुलो बाटो छिचोल्दै करिब चार घण्टामा हामी रानीपुल पुग्यौँ । बिचमा जिप बिग्रिएपछि करिब एक घण्टा ढिला भयो । करिब ३० किलोमिटर बाटो पार गरेर रानीपुल पुग्दा दिउँसोको १ बजिसकेको थियो । यहीँदेखि कञ्चनजंघा आधार शिविरको ट्रेक सुरु भयो ।
तमोर तरेर घुन्साको तीरैतीर
रानीपुलमा जिप रोकिएपछि हाम्रो पैदल यात्रा सुरु भयो । तमोर नदी तरेर अगाडि बढ्यौँ । त्यही पुलमुनि तमोर नदीमा आएर घुन्सा खोला बिलय भएको छ । यही घुन्सा खोलालाई दाहिने पारेर हामी उकाली लाग्यौँ । तर, घुन्सा खोलाछेउको पहिरोले भत्काएर गत वर्षदेखि पुरानो बाटो अवरुद्ध रहेछ । घुन्सा खोलापारि पहराको चेपचेपमा काठका भर्याङ राखेर जसोतसो हिँड्न मिल्ने गरी बाटो स्थानीयले बनाएका रहेछन् । तिनलाई पार गर्दै केही अगाडि बढेपछि फेरि घुन्सा तर्नुपर्ने भयो । तर, त्यहाँ पुल रहेनछ । यही भएर अघि आएका दुई पर्यटक विलखबन्धमा परिरहेका देखिन्थे ।
तुइन झुन्डिएको देख्यौँ । तुइन बाँधिएको रुखमा तुइन चलाउनेको नाम/नम्बर देखेपछि त्यसमा सम्पर्क गर्दा दुई किशोरसहित एक व्यक्ति आएर तुइन चढाएर तारिदिए, प्रतिव्यक्ति दुई सय रुपैयाँ लिएर । विस्थापित भयो भनेर घोषणा गरिएकामा तुइन चढ्ने कुरा हाम्रा लागि पनि अनौठो भइदियो । तुइन तरेर हामी पुन: उकालो लाग्यौँ । घुन्सा खोला तरेर फेरि ठाडो उकालो हिँड्दै गर्दा झमक्क साँझ पर्यो । टर्च नै बालेर उकालो चढ्यौँ । कञ्चन आकाश र ताराहरूको चम्किएका दृश्य सुन्दर देखिन्थे । करिब ७ बजेतिर हामी अम्जिलेसा पुग्यौँ । यो समुद्र सतहदेखि दुई हजार चार सय मिटर उचाइमा छ । त्यहीँ वास बस्यौँ ।
भोलिपल्ट अम्जिलेसाबाट उकाली–ओराली गर्दै दुई हजार ४०५ मिटर उचाइको थानजिङ पुग्यौँ । यसपछि दुई हजार ७२९ मिटर उचाइको ग्याब्ला पुगेर चिया खाइओरी डेढ घण्टा हिँडेर फले पुगिसक्दा भोकले अत्याइसकेको थियो । तीन हजार २३२ मिटर उचाइको फलेमा खाना खाइओरी अब घुन्सातिर अघि बढ्यौँ । तीन हजार ४३० मिटर उचाइमा रहेको यो पुरानो गाउँ हो । यहाँ करिब दर्जनको संख्यामा होटेल रहेछन् । त्यहाँ पुग्दा दिउँसोको ३ बजिसकेको थियो । यसपछि साढे ३ बजेतिर जंगलैजंगलको बाटो हामी अघि लाग्यौँ । अग्ला पहाड, जंगलमा विभिन्न प्रकारका सल्लालगायतका वृक्ष र फेरिन लाग्दा तिनका पातमा चढेका राता, पहेँला रंगले सुन्दरता थपेको थियो ।
घुन्सादेखि अघि बढेका हामी खम्बाचेनमा वास बस्ने सोचमा थियौँ । बिचमा झमक्कै साँझ पर्यो । मोबाइलको टर्चको उज्यालोमा यात्रा अघि बढायौँ । करिब चार हजार एक सय मिटरको उचाइको खम्बाचेन पुग्दा करिब साढे सात बजिसकेको थियो ।
त्यस रात खम्बाचेनमा बास बस्यौं । सम्म परेको यो क्षेत्रमा आधा दर्जनभन्दा बढी होटेल छन् । होटेलहरूमा पर्यटकको बसाईं बाक्लो देखिन्थ्यो । तातोपानी पिएर विहानै हामीले फेरि यात्रालाई अघि बढायौं ।
खर्क, याक र घोरलका बथान
खम्बाचेनपछि हामी रामताङ पुग्यौँ । चार हजार ५९६ मिटर उचाइको यो ठाउँ खर्क रहेछ । ठुलो संख्यामा याक चरिरहेका थिए भने ल्यादेन शेर्पा परिवार तिनको स्याहारसुसार गर्न र दुध दुहुनमा व्यस्त थिए । उनीहरूले त्यहाँ यालुङघाङ टी हाउससमेत सञ्चालन गरेका रहेछन् । शेर्पाका अनुसार उनको परिवारले दशकौँदेखि याक पालन गर्दै आएको छ । त्यहाँ उनीहरूले झन्डै डेढ सय चौंँरी पालेका रहेछन् । अहिले नै पनि २५ वटा ‘डी’ ले नियमित दुध दिन्छ । भालेलाई याक र पोथीलाई डी भनिँदो रहेछ । शेर्पा परिवारले याक पालन गरेर छुर्पी र घ्यू बनाएर बेच्ने गर्दा रहेछन् । याकलाई भने भारी बोकाउने र मासुका लागि उपयोग गरिँदो रहेछ । त्यहीँ डीको एक–एक ग्लास फ्रेस दुध पिएर हामी अघि बढ्यौँ ।
डेढ घण्टाजति हिँडेपछि हामी लोनाक पुग्यौँ । लोनाकमा पनि आधा दर्जनजति होटेल छन् । किनारबाट लोनाक खोला बगेको छ । चार हजार ७६१ मिटर उचाइको लोनाकमा पनि ठुलो खर्क छ । लोनाकको खर्क पार गर्दै स्याम्जो, जोक्र्यु हुँदै कञ्चनजंघाको आधार शिविरतर्फ अघि बढिन्छ । बिचमा ठुलो पहिरो देखिन्छ, पहिरोका कारण वैकल्पिक बाटो बनाउँदा निकै ठाडो उकाली–ओराली गर्नुपर्छ । मध्याह्नपछि जोडले हावा चल्ने रहेछ । हिँड्दै गर्दा आक्कलझुक्कल घोरलको समूह देखिन्थे । हामीले २५–३० वटा घोरल चरिरहेको देख्यौँ ।
आधार शिविरको आलिङ्गन
‘पाङपेमा भ्यू बेस क्याम्प’ कञ्चनजंघाको उत्तरी आधार शिविर हो । कञ्चनजंघा ‘ट्रेक’को यो अन्तिम बिन्दु हो । जसको उचाइ समुद्र सतहदेखि पाँच हजार १४२ मिटरमा पर्छ । कञ्चनजंघालाई उत्तरतर्फ आरोहण गर्नेहरू यहीँबाट अघि बढ्छन् । आधार शिविर पुगेको त्यस दिन संयोगले तिहारको भाइटीकाको शुभदिन थियो ।
वरिपिर चाँदीझैँ टिलिक्क टल्किएका हिमाल लामो यात्राको थकान बिर्साइदिने खालको थियो । छ्याङ्गै अगाडि देखिएको कञ्चनजंघा र लहरै देखिएका अन्य हिमाल आनन्द दिलाउने खालको थियो । जोडको चिसो हावा अनि नांगो आँखाले हेर्न गाह्रो हुने चम्किला हिमालले केही असहज भए पनि मन भने हर्षित भइरह्यो ।
संरक्षण क्षेत्र
कञ्चनजंघा संरक्षण क्षेत्र क्षेत्रफलका हिसाबले विशाल छ । कञ्चनजंघाको उत्तरी र दक्षिणी प्रमुख आधार शिविर छन् । उत्तरी आधार शिविर पुगेर घुन्सा हुँदै सेलेले–पास गरेर दक्षिणी आधार शिविर जान सकिने मार्ग छ । समय अभावले दक्षिण शिविर भने हामी जान सकेनौँ ।
दुई हजार ३५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कञ्चनजंघा संरक्षण क्षेत्रले ताप्लेजुङको ५६ प्रतिशत भूभाग ओगट्छ । साबिकका चारवटा गाविस लेलेप, तापेथोक, ओलाङचुङगोला र याम्फुदिन मिलेर बनेको यो संरक्षण क्षेत्रले अहिले फक्ताङलुङ गाउँपालिकाको वडा नं. ५, ६ र ७ तथा सिरिजङ्घा गाउँपालिकाको ८ नं. वडाका भूभाग समेट्छ । यस क्षेत्रमा रेडपान्डा, लुसिफर, वनभेडा, नाउर, घोरललगायत दुर्लभ वन्यजन्तु, पाँचऔँले, सतुवा, सुनपाती, चिराइतोलगायत वनस्पति पनि पाइने स्थानीयहरू बताउँछन् । कञ्चनजंघासहित कुम्भकर्ण, किराँतचुलीलगायतका शिखर आकर्षक छन् ।