खेलाडीले दिए एन्फालाई सात दिनको अल्टिमेटम

शनिबार, २३ कार्तिक, २०८२
डिजिटल संस्करण
  • बिहीबारदेखि सडक आन्दोलनमा उत्रिएका फुटबलरले एक साताभित्र ‘ए’ डिभिजन लिगको निर्णय गर्न एन्फा र १४ क्लबलाई चेतावनी दिएका छन्

तीन वर्षसम्म सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा)लाई लिग आयोजना सुनिश्चित गर्न सात दिनको अल्टिमेटम दिएको छ । १७ कात्तिकमा एन्फा र १४ क्लबबिचको सहमतिपछि ‘ए’ डिभिजनको सट्टा राष्ट्रिय लिगको तयारीमा लागेपछि राष्ट्रिय तथा पूर्वराष्ट्रिय खेलाडीहरू सडक आन्दोलनमा छन् । उनीहरूले शुक्रबार एन्फालाई क्लबहरूसँग यथाशीघ्र वार्ता गरी ‘ए’ डिभिजन लिगको मिति तोक्नसमेत दबाब दिएका छन् । 

‘एक साताभित्र गत वैशाखमा धुलिखेलमा भएको एन्फाकै साधारणसभाले तोकेको मितिमा लिग गर्नेबारे आफ्नो धारणा प्रस्तुत गर्नुको विकल्प छैन,’ संघका अध्यक्ष विक्रम लामाले भने, ‘हामीले दिएको अल्टिमेटमको एक दिन समाप्त भइसकेको छ । अब ६ दिन मात्र बाँकी रहेको छ । हामी एन्फा नेतृत्वलाई पुन: एकपटक आग्रह गर्न चाहन्छौँ, चाँडोभन्दा चाँडो क्लब र एन्फाबिच समन्वय गरेर लिगको तयारी थालियोस् ।’

एन्फाले राष्ट्रिय लिगपछि मात्र अर्को वर्षको पुसमा ‘ए’ डिभिजन लिगको तयारी गरेको छ । यसका लागि एन्फाले क्लबहरूसँगको छलफलमा ‘रोड म्याप’समेत बनाइसकेको छ । तर, फुटबलको मेरुदण्ड मानिने शीर्ष डिभिजन लिगबाहेक अरू विकल्प नभएको अध्यक्ष लामा मान्छन् । ‘संसारभरि शीर्ष डिभिजन लिग नै फुटबलको मेरुदण्ड मानिएको छ । यो चार वर्षभित्र एकपटक मात्र लिग भयो । यसले खेलाडीको भविष्य झनै अँध्यारोतर्फ धकेलिरहेको छ ।’ 

उनले आगामी पुसमै साधारणसभाले तोकेको मितिमा आफूहरू खेल्न तयारी भएको बताए । ‘खेलाडीहरू लिग खेल्न तयार छन्, तर क्लब र एन्फा भने तयार देखिएनन्,’ लामाले भने, ‘यो ६ दिनभित्र पनि केही निर्णय नआए हामी थप कडा सडक आन्दोलन गर्छौँ ।’ यसैबिच लामाले सडक आन्दोलनमा खेलाडी, प्रशिक्षक, रेफ्री, फुटबल सरोकारवाला र समर्थकलाई सहयोग गर्न आग्रह गरेका छन् । 

एनएनआइपिएको ऐक्यबद्धता 
लिग खेल्न पाऊँ भनेर सडक आन्दोलन सुरु गरेका खेलाडीलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले पनि ऐक्यबद्धता जनाएको छ । ‘सबै डिभिजनका लिग डेढ वर्षदेखि रोकिँदा खेलाडी बेरोजगार बन्नुपरेको छ । खेलाडीहरूको माग न्यायोचित छ,’ संघका अध्यक्ष दीपक श्रेष्ठले भने, ‘बिहीबार एन्फामा खेलाडीले गरेको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको ऐक्यबद्धता रहेको छ ।’ खेलाडी खेल्नका लागि नै सडकमा उत्रनुपर्ने अवस्था आउनु खेल जगत्कै लज्जाको विषय भएको श्रेष्ठले बताए । उनले एन्फा नेतृत्वले गम्भीर भएर सोच्नुपर्ने र समस्या समाधानका लागि पहल गर्न आवश्यक रहेको बताए । 

सुरु भयो प्रशिक्षण
एन्फाको मुख्यालयमा बिहीबार मात्रै दुई घण्टा धर्ना दिएका राष्ट्रिय फुटबल टोलीका खेलाडीले शुक्रबारबाट दशरथ रंगशालामा अभ्यास गरेका छन् । एन्फाले बंगलादेश र मलेसियासँगको खेलका लागि खेलाडीलाई बिहीबारै तीन बजे एन्फा मुख्यालयको मैदानमा अभ्यास गर्न बोलाएको थियो । तर, धर्नापछि पहिलो दिनको अभ्यास नै रोकियो । टोलीका मुख्य प्रशिक्षक हरि खड्काले खेलाडीलाई प्रशिक्षण दिएका छन् । रोहित चन्द, एरिक विष्ट, सनिश श्रेष्ठ, टिकेन्द्र थापा, आदित्य शाक्य, सन्तोष खत्री, अञ्जन विष्ट प्रशिक्षणमा सामेल भएका छन् । नेपालले एएफसी एसिया कप छनोटअघि बंगलादेशसँग ढाकामा मैत्रीपूर्ण खेल खेल्दै छ । त्यसपछि नेपालले मलेसियामा मलेसियासँग नै खेल्ने रहेको छ ।

See More On

सुझावित समाचार