चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो त्रैमासमा २० वाणिज्य बैंकको नाफा खुम्चिएको छ । गत आव ०८१/८२ को पहिलो त्रैमासमा १६ अर्ब १८ करोड नाफा आर्जन गरेका वाणिज्य बैंकले यो वर्ष सोही अवधिमा १३ अर्ब १४ करोड मुनाफा गरेका हुन् । २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको असर वाणिज्य बैंकहरूको वित्तीय विवरणमा देखिएको हो ।
चालू आवमा वाणिज्य बैंकहरूको खुद नाफा अघिल्लोको तुलनामा १८.७८ प्रतिशतले खुम्चिएको छ । सिटिजन्स बैंक भने २२ करोड चार लाख ११ हजार रुपैयाँ नोक्सानीमा देखिएको छ । समीक्षा अवधिमा ग्लोबल आइएमई, एभरेष्ट, राष्ट्रिय वाणिज्य, सानिमा र एनआइसी एसिया बैंकले नाफा बढाएका छन् । अन्य बैंक नाफामा रहे पनि अघिल्लो वर्षको तुलनामा घटेको छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले जेन–जी आन्दोलनको असरका कारण नाफा प्रभावित भएको बताए । यस्तै, यसपालि चाडपर्वका कारण ऋण असुली कम हुँदा पनि नाफा प्रभावित भएको उनको भनाइ छ ।
‘जेन–जी आन्दोलनका क्रममा व्यावसायिक संघ–संस्थामाथि तोडफोड तथा आक्रमण भयो । त्यसले गर्दा व्यापार–व्यवसाय प्रभावित भयो । आपूर्ति शृंखला नै प्रभावित भयो । व्यापार–व्यवसाय नै नभएपछि ऋणको साँवा तथा ब्याजको किस्ता असुली हुन सकेन,’ उनले भने, ‘यसपालि असोज मसान्तकै वरिपरि दसैँ–तिहार पर्व थियो । त्यसले गर्दा पनि त्रैमासको अन्तिममा ऋण असुली प्रभावित भयो । ब्याज असुली नभएपछि आम्दानी स्वत: प्रभावित भयो । साथै, असुली नभएको ऋणमा प्रोभिजनिङ राख्नुपर्यो । त्यसले नाफा घटायो ।’
मुलुकको पछिल्लो परिस्थितिका कारण ऋणीहरूले ऋण तिर्न स्थगन गर्ने घटना पनि बढेको उनले जानकारी दिए । ‘मंसिरदेखि फेरि आन्दोलन हुने भनिएको छ । मुलुक अन्योलतामा गएजस्तो देखिएको छ । त्यसले गर्दा कतिपय ऋणीले आफ्नो व्यक्तिगत आर्थिक सुरक्षाका लागि ऋणको किस्ता तिर्न स्थगित गरेको जस्तो पनि देखिन्छ । व्यक्तिगत, साना तथा मझौला व्यवसायलगायतका ऋणीले किस्ता तिर्न स्थगित गरेका छन्,’ उनले भने, ‘आगामी त्रैमासमा नाफामा सुधार आउने अपेक्षा छ । तर, मुलुकको राजनीतिक अवस्था कस्तो हुन्छ भन्ने कुरामा पनि निर्भर रहन्छ ।’
बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहालले पनि बैंकहरू केही समय ‘पर्ख र हेर’को अवस्थामा बस्नुपर्ने बताए । ‘जेन–जी आन्दोलनको असर बैंकहरूको वित्तीय विवरणमा देखिएको छ । मुलुकको पछिल्लो परिस्थितिका कारण बैंकहरूमा वित्तीय विवरणमा कहिले, कसरी सुधार आउँछ भनेर अहिले नै अनुमान गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘अहिले मुलुकमा अन्योलता नै छ । चुनावसम्म बैंकहरू पर्ख र हेरको अवस्थामा बस्नुपर्छ । चुनावपछि बन्ने सरकारले कस्तो नीति लिन्छ, त्यहीअनुसार नीति लिनुपर्छ होला । यद्यपि, बैंकिङ क्षेत्र राम्रो हुन पहिला अर्थतन्त्र नै बलियो हुनुपर्छ । तसर्थ, अर्थतन्त्र चलायमान बनाउनतर्फ जोड दिनुपर्छ ।’
निष्क्रिय कर्जा पनि बढ्यो
पहिलो त्रैमासमा बैंकहरूको निष्क्रिय कर्जा अनुपात पनि बढेको छ । २० बैंकको औसत निष्क्रिय कर्जा गत आवको असोज मसान्तसम्म ४.०३% र गत असार मसान्तसम्म ४.२२% थियो । चालू आवको असोज मसान्तसम्म आउँदा थप बढेर ४.८५% पुगेको हो । ऋण असुली नभएपछि निष्क्रिय कर्जा बढेको संघका अध्यक्ष सन्तोष कोइरालाले बताए । ‘जेन–जी आन्दोलनका कारण ऋण असुली भएन । त्यसले गर्दा निष्क्रिय कर्जा अनुपात पनि बढेको छ,’ उनले बताए । निष्क्रिय कर्जा अनुपात थोरै हुनु राम्रो हो । तर, पछिल्लो समय यो बढ्दै गएको छ । हिमालयन बैंकको निष्क्रिय कर्जा अनुपात सबैभन्दा धेरै देखिएको छ । उक्त बैंकको निष्क्रिय कर्जा अनुपात ७.३९% छ । धेरै निष्क्रिय कर्जा हुनेमा एनआइसी बैंक दोस्रो स्थानमा देखिएको छ । उक्त बैंकमा ६.९९% निष्क्रिय कर्जा छ । यसैगरी, तेस्रो स्थानमा रहेको कुमारी बैंकमा ६.९८% निष्क्रिय कर्जा छ । सबैभन्दा कम निष्क्रिय कर्जा अनुपात एभरेष्ट बैंकमा ०.७४% रहेको छ । यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकमा १.७१% र नेपाल एसबिआईमा ३.०१% निष्क्रिय कर्जा अनुपात छ ।
ऋण असुली प्रभावित हुँदा नाफामा असर पर्यो : सन्तोष कोइराला, अध्यक्ष, बैंकर्स संघ
जेन–जी आन्दोलनका क्रममा व्यावसायिक संघ–संस्थामाथि तोडफोड तथा आक्रमण भयो । त्यसले गर्दा व्यापार–व्यवसाय प्रभावित भयो । आपूर्ति शृंखला नै प्रभावित भयो । व्यवसाय नै नभएपछि ऋणको साँवा तथा ब्याजको किस्ता असुली हुन सकेन । यसपालि असोज मसान्तकै वरिपरि दसैँ–तिहार पर्व थियो । त्यसले गर्दा पनि त्रैमासको अन्तिममा ऋण असुली प्रभावित भयो ।
बैंकहरू ‘पर्ख र हेर’को अवस्थामा हुनुपर्छ : भुवन दाहाल, पूर्वअध्यक्ष, बैंकर्स संघ
अहिले मुलुकमा अन्योलता नै छ । चुनावसम्म बैंकहरू पर्ख र हेरको अवस्थामा बस्नुपर्छ । चुनावपछि बन्ने सरकारले कस्तो नीति लिन्छ, त्यहीअनुसार नीति लिनुपर्छ होला । यद्यपि, बैंकिङ क्षेत्र राम्रो हुन पहिला अर्थतन्त्र नै बलियो हुनुपर्छ । तसर्थ, अर्थतन्त्र चलायमान बनाउनतर्फ जोड दिनुपर्छ ।